+
+
Shares

ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
  • ट्रम्पले यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने दाबी गरेका छन् ।
  • आदेशअनुसार ओभल अफिसको संरक्षण र व्यवस्थापन राष्ट्रिय निकुञ्ज सेवाले गर्नेछ ।

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने उनको दाबी छ ।

पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक परिवर्तन गरेका छन् । विशेषगरी कार्यालयभित्र सुनौलो सजावट र विभिन्न कलात्मक सामग्री थपेर यसको स्वरूप नै फेरिएको छ ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ओभल अफिसलाई राष्ट्रिय स्मारकका रूपमा संरक्षण गरिने बताए । ‘यसलाई राष्ट्रिय स्मारक बनाउँदै छौं । अब कसैले पनि यसलाई छुन, नष्ट गर्न वा भत्काएर अलिकति फरक स्वरूपको संरचना बनाउन पाउने छैन’, उनले भने ।

ट्रम्पको यो निर्णय ह्वाइट हाउसको पूर्वी भाग भत्काइएको केही महिनापछि आएको हो । उनले नयाँ बलरुम निर्माण गर्ने योजनाअन्तर्गत पूर्वी भागको सम्पूर्ण संरचना भत्काएका थिए ।

उक्त परियोजनालाई लिएर कानुनी चुनौतीसमेत परेको छ । अमेरिकी कंग्रेसको स्वीकृतिबिनै निर्माण अघि बढाइएको भन्दै यसको आलोचना हुँदै आएको छ ।

मध्यावधि निर्वाचन अभियानका क्रममा डेमोक्रेटिक नेताहरूले ट्रम्पको ह्वाइट हाउस पुनःसजावटको आलोचना गरेका थिए । पूर्वराष्ट्रपति बाराक ओबामाले त ट्रम्पले थपेको सुनौलो सजावटका कारण ह्वाइट हाउस ‘सद्दाम हुसेनले चिजकेक फ्याक्ट्री खोलेको जस्तो देखिएको’ टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा केही परिवर्तन गर्ने अधिकार भए पनि ठूला निर्माण परियोजनाका लागि भने कंग्रेसको अनुमति आवश्यक पर्छ ।

बिहीबार हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ओभल अफिससँगै त्यस वरपरका केही कोठालाई पनि राष्ट्रिय स्मारकका रूपमा उल्लेख गरिएको छ । तर आदेशले राष्ट्रपतिलाई सजावट परिवर्तन गर्न, फर्निचर छनोट गर्न तथा सामान्य सञ्चालन र सुरक्षा व्यवस्थासम्बन्धी परिवर्तन गर्न रोक लगाएको छैन । त्यस्ता परिवर्तनले ऐतिहासिक संरचना वा वास्तुकलाको मौलिक चरित्रमा ठूलो क्षति पु¥याउन भने नहुने आदेशमा उल्लेख छ ।

‘हामीलाई ओभल अफिस मन पर्छ । यो ह्वाइट हाउसजस्तै हाम्रो देश र देशको महानताको प्रतीक हो’, ट्रम्पले भने । पछिल्ला महिनामा ह्वाइट हाउस भ्रमण गरेका विभिन्न देशका नेताहरूले पनि आफ्नो सजावटको प्रशंसा गरेको उनको दाबी छ ।

ट्रम्पले आफूले परिवर्तन गर्नुअघि ओभल अफिसको अवस्था निकै खराब रहेको बताएका छन् । उनका अनुसार कार्यालयका झ्याल फुटेका थिए, भित्तामा चिरा परेका थिए र ढुंगाका संरचनासमेत बिग्रिएका थिए ।

यद्यपि, उनले गरेका अधिकांश परिवर्तन संरचनात्मकभन्दा पनि सजावटी प्रकृतिका छन् । कार्यालयबाहिर ‘ओभल अफिस’ लेखिएको ठूलो सुनौलो पाटी राखिएको छ भने रोज गार्डेनको स्वरूप परिवर्तन गरिएको छ । त्यसैगरी नयाँ हेलिकोप्टर अवतरणस्थलसमेत निर्माण गरिएको छ ।

ओभल अफिसमा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्ट

ट्रम्पले नयाँ आदेशले भविष्यमा कसैले पनि ओभल अफिसको मौलिक स्वरूप नष्ट गर्न नसक्ने दाबी गरेका छन् ।

ह्वाइट हाउस सम्पूर्ण रूपमा यसअघि नै राष्ट्रिय ऐतिहासिक सम्पदा (नेसनल हिस्टोरिक ल्यान्डमार्क) का रूपमा सूचीकृत छ । यस्तो मान्यताको उद्देश्य ऐतिहासिक महत्व बोकेको भवनमा अचानक वा मनपरी परिवर्तन हुन नदिनु हो । अमेरिकी राष्ट्रपतिलाई राष्ट्रिय स्मारक घोषणा गर्ने अधिकारसमेत छ ।

नयाँ आदेशअनुसार ओभल अफिसको संरक्षण र व्यवस्थापन राष्ट्रिय निकुञ्ज सेवा (नेसनल पार्क सर्भिस) ले गर्नेछ । यसको ऐतिहासिक स्वरूप, वास्तुकलाको अखण्डता र राष्ट्रपतीय इतिहाससँगको सम्बन्ध जोगाउने गरी व्यवस्थापन गर्न आदेशमा भनिएको छ ।

आदेशमा ह्वाइट हाउसलाई प्राप्त विद्यमान संरक्षण व्यवस्थाको उल्लेख गर्दै ओभल अफिस राष्ट्रिय महत्वको छुट्टै ऐतिहासिक संरचना भएकाले यसको विशिष्ट संरक्षण आवश्यक रहेको दाबी गरिएको छ ।

अमेरिकाको राष्ट्रिय ऐतिहासिक संरक्षण ऐनमा राष्ट्रपतिले आवश्यक परिवर्तन गर्न सक्ने गरी विशेष छुटको व्यवस्था गरिएको छ । हालको ओभल अफिस सन् १९३० को दशकको सुरुवातमा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टको अवधारणाअनुसार निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?