+
+
Shares

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ।
  • कार्यक्रमका लक्षित समूहमा कक्षा ६ देखि १२ का विद्यार्थी, विद्यालयबाहिरका १२ देखि १८ वर्षका किशोरी र उनीहरूका अभिभावक तथा शिक्षक रहनेछन्।
  • कार्यविधिअनुसार पालिकाले बालविवाहको अवस्थाबारे तथ्याङ्क सङ्कलन, सचेतनामूलक कार्यक्रम र प्रचारप्रसारका लागि अनुदान खर्च गर्न सक्नेछन्।

२० कात्तिक, घोराही (दाङ)। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ ।

कार्यविधिअनुसार प्रदेशभित्रका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले आफ्नो जिम्मेवार शाखामार्फत बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

कार्यक्रमका मुख्य लक्षित समूहमा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विद्यालयबाहिर रहेका १२ देखि १८ वर्ष उमेर समूहका बालिका तथा किशोरी र उनीहरूका अभिभावक रहनेछन् ।

शिक्षक तथा शिक्षिकालाई समेत कार्यक्रममा सहभागी गराइनेछ । बालविवाहबाट पर्ने सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कानुनी असरबारे लक्षित वर्गलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

बालविवाहको जोखिम रहेका क्षेत्र, समुदाय र वर्ग पहिचान गरी विद्यालय बाहिर रहेका किशोरीलाई विशेष परामर्श प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बालविवाह र त्यसबाट उत्पन्न हुने कानुनी परिणामबारे न्यायिक, सुरक्षा तथा प्रशासनिक क्षेत्रका विज्ञ र उत्प्रेरक व्यक्तिमार्फत प्रशिक्षण दिन सकिनेछ ।

बालविवाह न्यूनीकरणका लागि लामो समयदेखि योगदान दिएका व्यक्तिलाई प्रशिक्षकका रूपमा परिचालन गर्न सकिने व्यवस्था पनि कार्यविधिमा छ ।

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान सम्भव भएसम्म पालिकाभित्रका सबै वडामा खर्च गर्नुपर्नेछ । बालविवाहको अवस्थाबारे वार्षिक तथ्याङ्क सङ्कलन गर्ने, बालविवाह बढी हुने बस्ती, टोल, समुदाय र वडालाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, बालविवाहविरुद्ध तयार गरिएका वृत्तचित्र तथा लघु चलचित्र प्रदर्शन, सडक नाटक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

स्थानीय रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र पत्रपत्रिकाबाट कार्यक्रमको प्रचारप्रसार गर्न अनुदान रकमको अधिकतम १५ प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्रदेशलाई बाल विवाहमुक्त बनाउने आधार तयार गर्ने, बालअधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने र बालविवाहविरुद्ध बालबालिका, अभिभावक, शिक्षक तथा सामाजिक र धार्मिक अगुवाको सोच र व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले कार्यविधि जारी गरिएको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?