News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको समाचार अस्वीकार गर्दै कार्यकालको अन्त्यसम्मै काम गर्ने बताए।
- रुबियोले द टाइम्ससँगको अन्तर्वार्तामा प्रशासन छाड्नेबारे समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे, र विदेश मन्त्रालयले पनि त्यो खबर खण्डन गर्यो।
- रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीबारे टिप्पणी गर्न अस्वीकार गर्दै अहिले त्यस विषयमा कुरा नगर्ने बताए।
२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारेका छन्।
द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे। यसअघि ब्लुमबर्ग न्युजले उनले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।
राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहनुभएका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन्। तर उनले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताए।
अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भनेका छन्। रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि आधारहीन भएको बताए।
मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी भएका थिए। उनले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गरेका थिए। रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताएका थिए। भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
प्रतिक्रिया 4