News Summary
Generated by OK AI. Editorially reviewed.- कागहरू कोर्भिडे परिवारका चरामा पर्छन् र अध्ययनअनुसार अस्ट्रेलिया-पपुवा न्यु गिनी क्षेत्रबाट उत्पत्ति भएर एसियादेखि सबै महादेशमा फैलिएका हुन्।
- न्यु क्यालेडोनियन कागले उपकरण प्रयोग, पजल समाधान र तारलाई बल्छीजस्तै बनाएर मासु झिक्ने क्षमता देखाएको अध्ययनले जनाएको छ।
- नेपालमा घर काग, कालो काग, राजा कागसहित विभिन्न प्रजाति पाइन्छन्, र तिहारमा काग तिहार मनाएर कागको पूजा गरिन्छ।
मलाई त कागले गिफ्ट छोडिदिएछ नि!
बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ। उनले त्यहीअनुसार फिडर राखेछन् र चराहरू आउन पनि थालेछन्।
तिनै चरा हेर्दै गर्दा उनले एउटा अनौठो कुरा याद गरेछन्। उनको कौसीमा हरेक दिनजस्तो नयाँनयाँ वस्तु राखिने गरेको रहेछ। कहिले रबर ब्यान्ड त कहिले चम्किला प्लास्टिक। पहिलो केही दिन त उनलाई कोही बच्चाहरूले ल्याएर छोडेको हो कि झैँ लागेछ। तर, हरेक दिन नयाँ वस्तु थपिँदै गएको पनि उनले ध्यान दिन थालेछन् र अन्त्यमा गिफ्ट ल्याइदिनेसँग जम्का भेट भएछ। त्यो गिफ्ट ल्याइदिने त मान्छे नभएर काग रहेछ।
सुन्दा अचम्म लाग्यो होला तपाईँहरूलाई।
तर कागहरूले साँच्चै नै त्यस्तो गर्ने गर्छन्।
कागको उत्पत्ति
कागहरू असिन प्यसेराइनभित्र कोर्भिडेइ परिवारमा पर्छन् र असिन प्यसेराइनको विकास र उत्पत्ति करिब ५.३ कसडक वर्षअगाडि अन्टार्कटिका र अस्ट्रेलियाको टापुको छुट्ने क्रम सुरु हुनुअगाडि भएको देखिन्छ। कागका प्रजाति आफैँमा भने त्यो भन्दा धेरै पछि विकास भएको अध्ययनले देखाउँछ। इओसिन युग (५.६ कसडकदेखि ३.३९ कसडक वर्षअगाडिको समय) को अन्त्यतिर अस्ट्रेलिया र पपुवा न्यु गिनीको क्षेत्रमा कागहरूको उत्पत्ति भएको र त्यहाँबाट उनीहरू एसियाका अन्य भागमा स्थानान्तरण गरेको पाइन्छ। कागका प्रजातिहरू छुटिने क्रम भने दक्षिणपूर्वी एसियामा भएको एउटा अध्ययनले देखाउँछ। अस्ट्रेलिया-पपुवा न्यु गिनीबाट आएका यी कागहरू दक्षिणपूर्वी एसियाबाट पश्चिम लाग्दै सबै महादेशहरूमा फैलिएको पनि सोही अध्ययनले देखाउँछ।
काग परिवारका सबैभन्दा पुराना चराहरूमा अहिले हामीले चिन्ने काग नभएर टुङ्गाजस्ता प्रजातिका चराहरू थिए। फेरोकोर्याक्स जिनसमा पर्ने यी चराहरूलाई अङ्ग्रेजीमा चफ भन्ने गरिन्छ भने नेपालमा दुई प्रजातिका चफ पाइन्छन्, जसलाई नेपालीमा टुङ्गा र टेमु भन्ने गरिन्छ। यी दुवै कागका परिवारमा पर्ने चराहरू नेपालमा उच्च हिमाली भेगमा पाइन्छन्। कागको परिवार वा काग जस्ता देखिने चराहरूको सबैभन्दा पुराना जीवावशेषहरू करिब १७ मिलियन वर्ष पुरानो भएको पाइएको छ भने कोर्भस जिनस (कागकै परिवार) मा पर्ने चराहरूको जीवावशेषहरू १.१ कसडक वर्ष पुरानो भएको पाइएको छ।

टुङ्गा। तस्बिर : अनुज घिमिरे
त्यसैगरी लामपुच्छ्रे चरा, वनकागहरूको पनि उत्पत्ति एसियामै भएको मानिन्छ। आजको दिनमा अमेरिकामा पाइने काग परिवारका यी चराहरूको पनि उत्पत्ति चीन, रुस क्षेत्रमा भएको र बेरिङ क्षेत्रबाट यी प्रजातिहरू अमेरिका पसेको अध्ययनले देखाउँछ।

स्यालपोथारी लामपुच्छ्रे। तस्बिर : अनुज घिमिरे

क्लार्क्स वनसर्रा। अमेरिकामा पाइने वनसर्रा। तस्बिर : अनुज घिमिरे
संसारमा अहिले कोर्भिडे परिवारभित्र १३०-१३५ प्रजातिका चराहरू छन्। हामीले चिन्ने कागकै मात्र ४५-५० प्रजाति छन्। जसमा काग, राज काग (अङ्ग्रेजीमा रेभन), रुक्सहरू पर्छन्।
कागको बुद्धि
चराहरूको संसारमा सुगाहरू जस्तै बुद्धिमान मानिन्छन् कागका प्रजाति। यहाँ कागका प्रजाति भन्नाले काग मात्र नभएर कोर्भिड प्रजातिमा पर्ने सबै चरा पर्छन्।
कागहरूले प्राइमेट्स (एप्स, बाँदर, मान्छेहरू) ले जस्तै उपकरणहरू प्रयोग गर्छन्। अस्ट्रेलियाबाट उत्तरमा पर्ने न्यु क्यालेडोनिआको टापुमा पाइने न्यु क्यालेडोनियन कागहरूमा उपकरणको प्रयोगबारे बृहत् रूपमा अध्ययन भएको छ। ती कागले रुखका साना हाँगाहरू, बोटबिरुवाका भागहरू प्रयोग गरेर विभिन्न प्रकारका उपकरणहरू बनाउने गरेको पाइन्छ।
त्यति मात्र नभएर ती कागले धेरै चरणहरूको पजल पनि समाधान गर्न सक्छन्। एउटा पजलमा वैज्ञानिकहरूले सानो बाकसमा सानो टुक्रा मासु राखिदिएका थिए र अर्को एउटा बट्टामा काठको लामो टुक्रा लक गरेर राखेका थिए। त्यो लामो काठको टुक्रा झिक्नको लागि उसले पहिले सानो काठ लिएर त्यो लामो काठ भएको बक्साबाट त्यो काठको टुक्रा निकाल्नुपर्ने हुन्थ्यो। त्यो अभ्यास न्यु क्यालेडोनियन कागले सहजै रूपमा गरिदिन्छ। कागले पटकपटक प्रयास गरेर जानेको भन्दा पनि आफ्नो दिमागकै प्रयोगले त्यो कुरा पत्ता लगाएको हो भन्ने अध्ययनले देखाउँछ। अर्थात्, कागहरूले प्राइमेट्सले झैँ आफ्नो दिमाग प्रयोग गरेर त्यस्ता पजल समाधान गर्न सक्छन्।
न्यु क्यालेडोनियन कागहरूलाई एउटा ट्युबमा मासु राखिदिने हो र नजिकै एउटा तार राखिदिने हो भने उनीहरूले त्यो तारको एउटा भागलाई बल्छी जस्तो बनाएर मासु झिक्न सक्ने पनि अध्ययनले देखाउँछ।
जापानको सेन्दाई सहर र टोकियोको धेरै भागमा त झन् कागहरूले जापानी ओखर फुटाउन ट्राफिक सिग्नलको प्रयोग गरेको पनि पाइन्छ। योशिआकि निहेइले २१ महिनासम्म अवलोकन गरेर १९९५ मा प्रकाशन गरेका आफ्नो अनुसन्धानपत्रमा यस कागबारे चर्चा गरेका छन्। क्यारियन काग नामको प्रजातिले जापानी ओखर खाने र धेरैजसो समय ती ओखरलाई १० मिटरसम्मको उचाइबाट भुइँमा खसाल्ने गरेको पाइएको छ। कागहरूले गाडी धेरै चल्ने व्यस्त सहरहरूको सडकमा ओखर खसालेर गाडीको पाङ्ग्राको प्रयोगले ओखर फुटाउने गर्छन्। तर, व्यस्त सहरमा धेरै गाडी चल्दा त्यही सडकमा फेरि ओखरको दाना खान सहज रूपमा नपाउने भएकोले सेन्दाई जस्तो सहरका कागहरूले त्यस्तो जुक्ति प्रयोग गर्न थालेको पाइन्छ।
त्यो कागको गतिविधि अझै रोचक र अनौठो छ। बीबीसीको लाइफ अफ बर्ड्स नामको वृत्तचित्रको फुटेजमा देखिएअनुसार एउटा कागले ओखर सडकमा खसाल्छ र गाडीले त्यो ओखर कुल्चिँदासम्म कुरेर बस्छ। जब त्यो गाडीले ओखर फुटाउँछ, ऊ अझै केही बेर कुरेर बस्छ। ऊ त्यतिखेर मात्र ओखरतिर जान्छ जब ट्राफिक सिग्नलमा गाडीका लागि रातो बल्छ र पैदलयात्रीका लागि हरियो। ठ्याक्कै जेब्रा क्रसिङमा मान्छेहरू जस्तै हिँडेर ऊ ओखरतिर जान्छ र खान थाल्छ। फेरि ग्रिन सिग्नल बलेपछि ऊ सडक छोडेर बाहिर निस्किन्छ। र त्यस सहरबाट बिस्तारै यो जानकारी त्यहाँका कागमार्फत अन्य सहरका कागमा पनि सरेको देखिएको छ।
भिडियो : कागले ट्राफिक सिग्नलको प्रयोग गर्दै
अमेरिकाको वासिङ्टन राज्यमा लामो समयसम्म गरेको अध्ययनले भने कागहरूबारे अझै रोचक जानकारी प्रस्तुत गरेको छ। कागले मान्छेको अनुहार चिन्न सक्ने र त्यति मात्र नभएर पुस्तागत रूपमा त्यो जानकारी स्थानान्तरणसम्म गर्न सक्ने देखाउँछ। उनीहरूको अध्ययनको क्रममा कागहरूलाई ब्यान्डिङ गर्नेहरूको अनुहार याद गरेको र अध्ययन सकिएको वर्षौँपछि त्यही अनुहार भएका मान्छे कागको झुन्ड भएको ठाउँ जाँदा उनीहरूको पुरानै कागले देखाउने जस्तै प्रतिक्रिया देखाएको पनि पाइएको छ। कागले राम्रोसँग अनुहार चिन्ने भएकोले गर्दा नै त्यस अध्ययनमा उनीहरूले मान्छेकै अनुहार झैँ देखिने मास्क लगाएर कागहरू समाउन परेको थियो।
काग कसरी यस्तो बाठो हुन्छन् ?
विभिन्न अध्ययनअनुसार कागहरूको दिमागमा न्युरोनको मात्रा बाक्लो हुने र यी बाक्लो मात्रामा हुने न्युरोन प्यालियममा धेरै हुने गरेको देखिन्छ। प्यालियम भनेको दिमागको अगाडिको भाग हो र यसको प्रयोग धेरैजसो कग्निटिभ म्यापिङ र स्मरण शक्तिसँग जोडिएको हुन्छ। त्यस कारण कागहरूको कग्निटिभ (संज्ञानात्मक) प्रशोधन क्षमता लगभग ५ देखि ७ वर्षको बच्चाको जस्तो हुने गर्छ। क्यारियन कागमा गरिएको एउटा अध्ययनले त झन् ती काग प्रजातिले मान्छेहरूले भन्दा धेरै छिटो निर्णय लिन सक्ने देखाउँछ। नेपालमा पनि कागलाई बाठो चराको रूपमा लिने गरिन्छ। अब एकछिन नेपालका कागहरूको कुरा गरौँ।
नेपालमा पाइने कागहरू
घर काग। तस्बिर : अनुज घिमिरे
घर काग (Corvus splendens)
नेपालमा सामान्यतया सबैतिर पाइने काग हो घर काग। पखेटा र ढाड कालो अनि घाँटीदेखि टाउकोको माथिल्लो भागमा खरानी रङ र मुख कालो भएको यो काग हाम्रो घरआँगनमा प्रशस्त रूपमा पाइन्छ। नेपालमा ७५ मिटरदेखि लगभग २१०० मिटरसम्म यो काग पाइन्छ। हामीले सधैँ सुन्ने र अलि सुमधुर सुनिने काग काग भन्ने यही कागले हो। घर काग ४० सेन्टिमिटरसम्मको हुन्छन्।
कालो काग। तस्बिर : अनुज घिमिरे
कालो काग
हिमाली भेगमा भने घर कागलाई कालो कागले प्रतिस्थापन गर्छ। कालो काग सम्पूर्ण रूपमा कालो हुन्छ र उसको चुच्चो घर कागभन्दा ठूलो पनि हुन्छ। यो काग तराईदेखि हिमालसम्म पाइन्छ। केही वर्ष अगाडिसम्म यस कागलाई लार्ज बिल्ड काग र इन्डियन जङ्गल काग भनेर छुटाउने गरिन्थ्यो भने अहिले एउटै प्रजातिमा राखेर कालो काग बनाइएको छ। यो कागको आवाज भने अलि घोक्रो ग्राक ग्राक गरेको झैँ सुनिन्छ। कालो काग ४६ देखि ४९ सेन्टिमिटरसम्मको हुन्छन्।

राजा काग । तस्बिर : फ्र्यांक सुलेनबर्ग Frank Schulenburg
राजा काग (Corvus corax)
राजा काग र काग खासमा फरक प्रजाति हुन् र राजा काग सामान्य कागभन्दा धेरै ठूलो हुन्छन्। अङ्ग्रेजीमा राजा कागलाई रेभन भन्ने गरिन्छ। नेपालमा यी राजा कागहरू ३५०० मिटरभन्दा माथि हिमाली भेगमा मात्र पाइन्छन्। घर काग र कालो कागको तुलनामा यो कागको गीत/कल अझै घोक्रो सुनिन्छ। टाउको अनुपातमा चुच्चो पनि कालो कागभन्दा ठूलो देखिन्छ। कागहरूमा नहुने राजा कागको घाँटीमा छुट्टै प्वाँखहरू हुन्छन् जसलाई अङ्ग्रेजीमा ह्याकल्स भनिन्छ। काग र राजा काग छुट्याउन यही प्वाँख, उसको ठूलो आकार र कलहरूको प्रयोग गर्न सकिन्छ। त्यसैगरी उडानको क्रममा राजा कागको पुच्छर पनि घर र कालो कागभन्दा फरक देखिन्छ।
नेपालमा पाइने काग परिवारका अन्य चराहरू :
सुण्ठुण्डे लामपुच्छ्रे (Yellow-billed blue Magpie)
स्यालपोथारी लामपुच्छ्रे (Red-billed blue Magpie)
हरियो लामपुच्छ्रे (Green Magpie)
कोकल (Rufous Treepie)
पहाडी कोकल (Gray Treepie)
कैलो वनकाग (Eurasian Jay)
कालोटाउके वनकाग (Black-headed Jay)
वनसर्रा (Southern Nutcracker)
टुङ्गा (Red-billed Chough)
टेमु (Yellow-billed Chough)
कागहरू बुद्धिमानी मात्र नभएर पौराणिक कथाहरूका कारण पनि मान्छेहरूबीच प्रख्यात चरामा पर्छन्। संसारका धेरै सभ्यतामा, हाम्रो सभ्यतासहित, कागहरू जीवन र मृत्यु जोड्ने जीव भनेर लिइन्छ। रोमन सभ्यतामा काग र रेभनहरूले मानव जातिसामु दिव्य सन्देश ल्याउने गरेको मानिन्थ्यो। त्यसैगरी नोर्स पौराणिक कथामा नोर्स राजा ओडिनका दुई राजा कागहरू उनका सन्देशवाहकका रूपमा उड्ने र आत्मा र मृत्युको लोकबाट उनीसामु सन्देश ल्याउने गरे प्रसंग छ। हाम्रो परम्पराअनुसार पनि कागलाई यमको सन्देशवाहक जीवको रूपमा लिने गरिन्छ।
अनौठो र रोचक कुरा त के छ भने, कुनै काग मरेको ठाउँमा कागको झुन्ड नै आएर मरेको कागलाई घेरेर कराउने गरेको पाइन्छ। यो दृश्य त धेरै जनाले देख्नुभएको होला। र यसलाई वैज्ञानिक रूपमा पनि ‘क्रो फ्युनरल’ (काग अन्त्येष्टि) भनेर नाम दिइएको छ। वासिङ्टन स्टेटका अनुसन्धानकर्ताको अध्ययनको क्रममा उनीहरूले यस्तो व्यवहारलाई अन्त्येष्टि वा दुःख मानेर भन्दा पनि त्यो मरेका कागबाट के चाहिँ सिक्न सकिन्छ, वा तिनीहरूको त्यस्तो अवस्था किन भयो भनेर जिज्ञासु भएर काग वरपर झुम्मिएको हुन सक्ने अनुमान गरेका छन्।
त्यस्तै धेरै कागले त मरेको कागलाई विभिन्न प्रकारका चिजहरू पनि ल्याइदिएको देखेको पनि अनुसन्धानकर्ताहरूले अध्ययनमा उल्लेख गरेका छन्। कति कागले मरेको कागसँग सम्भोग गर्न प्रयास गरेको पनि उनीहरूले भिडियोमा रेकर्ड गरेका छन्।

तस्बिर : केली स्विफ्ट
काग तिहार
संसारभरि कागले भिन्न प्रकारको पहिचान आर्जेको छ। नेपालमा त कागलाई झनै अलग र उच्च स्थान दिएर महान् चाड तिहारको अवसरमा पूजा नै गर्ने चलन छ। यमको सन्देशवाहक जीव कागको पूजा तिहारको पहिलो दिन गरिने चलन छ। काग तिहारको दिन कागहरूलाई विभिन्न परिकारहरू राखिदिएर आफ्नो आदर प्रदान गर्ने चलन छ। लामो समयदेखि मानव जातिकै वरपर बस्न रुचाउने यी प्रजातिहरू र मानवबीचको सहअस्तित्वलाई जोड दिने यस चाडले कागप्रतिको सम्मान, प्रशंसा र वातावरणप्रति पनि सम्मान देखाउँछ।
प्रतिक्रिया 4