+
+
Shares

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलमा याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन पाएर राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।
  • नेसेटका १२० सिटमध्ये सरकार गठनका लागि ६१ सिट आवश्यक हुन्छ, र इसेनकोटलाई विपक्षी गठबन्धन, राम पार्टी र संयुक्त सूचीको समर्थन प्राप्त भएको छ।
  • प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थन ४६ सिटमा सीमित भएको छ, र राष्ट्रपति आइज्याक हर्जोगले थप परामर्शपछि इसेनकोटलाई जनादेश दिने अपेक्षा गरिएको छ।

२० कात्तिक, तेल अभिभ (रासस/एएनआई) । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताएका छन्। उनले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उनको समर्थन ४६ सिटमा सीमित भएको छ ।

जोइन्ट लिस्टले नेतान्याहु र उहाँको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उनका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताएका छन्।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताएका छन्। उनले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?