दुई प्रसिद्ध लेखिकाहरूका प्रेम, विवाह, विछोड, यौन, साहित्यिक रुचि, परिवार नामक संस्थालाई हेर्ने उनीहरूका बुझाइ के कस्ता होलान् ? यदि ती लेखिकाहरू नेपाली समाजमा भएका भए के हामी तिनीहरूलाई उही महानताको चस्माले हेर्ने थियौं ? कि प्रश्न र लान्छना बर्साउने थियौं ?
विश्लेषक तथा उपन्यासकार विष्णु सापकोटासँग यो संवाद अरुन्धती रोय र एनी अर्नोका किताबहरूमाथि, उनीहरूको जीवनशैली अनि परिवारदेखि संसारसम्मलाई देख्ने उनीहरूको दृष्टि आदिमा केन्द्रित छ ।
अरुन्धतीले गड अफ् स्मल थिङ्सका लागि बुकर प्राइज पाइन् । नेपाली पाठकलाई अरुन्धतीबारे धेरै चिनाइराख्नु पर्दैन । एनी अर्नो पनि साहित्यका लागि सन् २०२२ को नोबल पुरस्कार जितेपछि विश्वभर चर्चामा आइन् । दुवै लेखिका अझै सक्रिय लेखनमा छन् ।
दक्षिण भारतीय समाजमा हुर्केकी अरुन्धती अनि दोस्रो विश्वयुद्धपछिको फ्रान्समा हुर्केकी एनीका कतिपय भोगाइहरू साझा छन्, कतिपय भने बिल्कुल भिन्न ।
अरुन्धतीको पछिल्लो संस्मरण पुस्तक ‘मदर मेरी कम्स टु मी’ उनकी आमा मेरी रोय र छोराछोरीसँग उनको उतारचढावपूर्ण सम्बन्धबारे बढ्ता चिहाउँछ । यो पुस्तकबाहेक उनका अरू लेखनबारे थोरै मात्रै चर्चा यस वार्तामा छ ।

एनी अर्नोका तीन किताब ‘अ गर्ल्स स्टोरी,’ ‘सिम्पल प्यासन’ र ‘द इयर्स’ पढेपछिका हाम्रा साझा बुझाइ यस संवादमा सामेल छन् । हामीले यद्यपि त्यसभन्दा बढ्ता यस पुस्तकका पक्षहरूलाई केलाउने प्रयास गरेका छौं, यो भिडियो वार्तामा ।
त्यस्तै फ्रान्सेली लेखिका एनी अर्नोका बारेमा पनि यस्तै बुझाइहरू छन् । सापकोटाले यसअघि एक आलेखमा एनीबारे भनेका थिए– आफ्नो ‘सेल्फ’ लाई उत्खनन गर्न आफ्नैबारे लेख्नुबाहेकको उनीसँग उपाय थिएन भन्ने यस पुस्तकले सशक्त रूपमा देखाएको छ । त्यसो त आफूलाई जसरी चित्रण गरेकी थिइन् अर्नोले, त्यो पढेर उनकी आमा उनीसँग बेखुस थिइन् । अर्नोकी आफ्नै छोरीले उनका डायरी च्यातेकी थिइन् । आमाका कथाहरू बाहिर आए आफूलाई समाजले के भन्ने होला भनेर छोरी डराएकी थिइन् ।
झट्ट हेर्दा मातृत्व, सन्तान, प्रेम, यौन, सम्बन्ध आदिमा बढ्ता केन्द्रित भए जस्तो देखिए पनि यो संवाद तत्कालीन समाजलाई हेर्ने अनि समस्यालाई बुझ्ने यी दुई लेखिकाको राजनीतिक दृष्टिउपर बढ्ता लक्षित छ ।
विवाहित प्राध्यापक प्रदीप किशनसँग फिल्म निर्माण क्रममा अरुन्धतीको प्रेम, सहवास, गर्भपतन, बिहे, प्रदीपका छोरीहरूसँग उनको जटिल सम्बन्ध, एकातिर गड अफ स्मल थिङ्स उपन्यासपछि उनको सीमाहीन विश्वचर्चा, अर्कातिर आम मान्छे वा महिलाका जस्तै उनका जीवनका जटिलता, पटकपटक भोगेका अलगाव, आर्थिक अभावमा बिताएका दिनहरू- यस्ता धेरै पक्ष यो अन्तर्वार्तामा समेटिएका छन् ।

उता, एनी अर्नोले भोगेका अनुभवहरू, जस्तो कि अर्को विवाहित प्रेमीसँगको तृष्णा, तृप्ति, हेला, धोका, पीडा र तिनको अन्त्यहीन शृंखलालगायत सबै भावनाहरू यो वार्तामा छलफल भएका छन् ।
एनी ‘अटोफिक्सन्’ लेख्छिन् र आफैंलाई वास्तविक रूपमा व्यक्त गर्छिन् ती पुस्तकहरूमा । उनको सत्य भन्ने निडरतासँग उनकै पति डराउँछन् र एकदिन डिभोर्स दिन्छन् । तर त्यसपछि पनि लेखन चलिरहन्छ, जस्तो कि जीवन ।
अरुन्धती र एनी दुवै चर्चित छन् । तर दुवै एक्लोपनको अनुभूतिमा छन् । वा भनुँ, एकलतालाई तिनले अपनाएका छन् । यो वार्ता सकिँदा कतिपय प्रश्नको उत्तर मिल्नेछ, कतिपय थप प्रश्न जन्मने छन् ।
जस्तो कि– सामाजिक आँखा र व्यक्तिगत निर्णयका आधारमा भन्नुपर्दा नैतिक भन्ने वस्तु के रहेछ ? अश्लील वा श्लील भनेको कसको हो ? कहिलेकाहीँ हामी विगत सम्झेर टोलाउँछौं, ग्लानि हुन्छ, पछुतो, लज्जा सबै हुन्छ । लेखनको काम तिनलाई बाहिर ल्याउनु हो कि प्रगतिशिलताको नाममा पाण्डित्य, नैतिक शिक्षा आदिका नाममा हामी पाखण्डमात्रै प्रदर्शन गर्छौं । व्यक्ति आफैंमा को हो ? सेल्फ वा स्व बन्ने प्रक्रिया के रहेछ ? अनि के स्व पनि समय अनुसार बदलिन्छ ?
यस्ता थुप्रै प्रश्नहरूका उपर हामी घोत्लिएका छौं, यो भिन्न किसिमको संवादमा । भिडियोमा हेर्नुहोस्, लेखक विष्णु सापकोटासँग गरिएको यो वार्ता ।
प्रतिक्रिया 4