२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् ।
सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले पार्टीको आधिकारिकता पाउने नेता महतको भनाइ थियो ।
‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौं ।’
नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसलेमात्र बोकेको जिकिर गरे । ‘जो भएता पनि मूल कुरो के हो भने नेपाली कांग्रेसको मुल आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई हामीले बोकेका छौं । विधि, प्रक्रियालाई हामीले फलो गरेका छौं ।’
नेता महतले मुलधारको कांग्रेसले बीपी कोइरालाको समाजवादलाई छोडिसकेको आरोपसमेत लगाए ।
‘बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई उहाँहरूले छोडिसक्नुभयो । उहाँहरूले अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ,’ उनले भने, ‘रास्वपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र । भने पछि उहाँहरूले विचार छोडिसक्नुभयो । नेपाली कांग्रेसभित्रको संस्कार छोडिसक्नुभयो ।’
प्रतिक्रिया 4