News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले विभाजित कांग्रेस समयक्रममा एकजुट हुने दाबी गर्दै नेता–कार्यकर्तालाई एकअर्काविरुद्ध गालीगलौज नगर्न आग्रह गरे।
- बुटवलको कार्यक्रममा भण्डारीले बालेनले चाहेको प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा अहिलेको अवस्था र जेनजी विद्रोहको अवस्था आएको दाबी गरे।
- कांग्रेस नेताहरूले वर्तमान सरकार विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध गएको आरोप लगाउँदै लोकतन्त्रवादी दलहरूलाई एकजुट हुन आग्रह गरे।
२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको बताउँदै भण्डारीले उनी कहिल्यै गलत नभएकोले पार्टीलाई एकजुट बनाउने दाबी गरे । उनले नेपाली कांग्रेस लामो इतिहास बोकेको र विभिन्न पुस्ता मिलेर अघि बढेको लोकतान्त्रिक पार्टी भएकाले बजार हल्लाको पछि नलागी संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरे ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।
आफूले बालेनले चाहेको प्रमुख प्रशासकीय अधिकृत पठाउन तत्कालीन प्रधानमन्त्री, मुख्यसचिव तथा विभिन्न दलका नेताहरूलाई आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । त्यसकै परिणामस्वरूप जेनजी विद्रोहको अवस्था आएको उनको भनाइ थियो ।
‘हामीले विगतबाट सिकेर अहिले मेहनत गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा भ्युज बढाएर मात्रै सरकार चल्दैन, जनताका काम गर्नुपर्छ ।’
भण्डारीले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताए । अहिलेको उपलब्धि र विकासका काम विगतका प्रयासको जगमा उभिएको उल्लेख गर्दै उनले भने, ‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मेहनत गर्नुभयो र अहिले बालेनले एनपीएल उद्घाटन गर्न पाएका हुन् ।’
उनले थपे, ‘आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने, काम गर्नुपर्दैन ?’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनविपरीत भइरहेको आरोप लगाए । जनताले सरकारका गतिविधिबारे आवाज उठाउनुपर्ने बताउँदै उनले पार्टीभित्र अराजकता देखिएको उल्लेख गरे । उनले नेता तथा कार्यकर्तालाई आफ्नो आनीबानी सुधार गर्नसमेत आग्रह गरे ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले वर्तमान सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध लागेको आरोप लगाए । उनले सरकारका गतिविधिविरुद्ध लोकतन्त्रवादी दलहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य बालकुमारी भण्डारी, लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, प्रदेश कोषाध्यक्ष प्रकाश रानालगायतले सरकारका गलत काम र निर्णयको तथ्यका आधारमा प्रतिवाद गर्न तथा नागरिकलाई सही सूचना प्रवाह गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया 4