+
+
Shares

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले उत्पादन गरेका सयपत्री र मखमलीका माला तथा फूल बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेका छन्।
  • गोविन्द बाँस्तोलाको परिवारले हङ्कङ, दुबई र बेलायतमा गरी पाँच हजारभन्दा बढी माला र डेढ टनभन्दा बढी फूलका थुङ्गा पठाएको छ।
  • कोरोना महामारीपछि सुरु गरिएको फूलखेती १० बिघामा विस्तार भई वार्षिक रु ७० देखि ८० लाख कारोबार हुने गरेको बाँस्तोलाले बताए।

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङकङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङकङ पठाइएको बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ ।

ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् । सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ ।

बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ ।

परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्छन् । कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उनले बताए ।

सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । ‘सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो । अहिले हामी परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,’ उनले भने ।

विसं २०८० बाहेक अन्य वर्षमा फूलखेतीबाट राम्रो आम्दानी भएको बाँस्तोलाले बताए । यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको उनले जानकारी दिए ।

यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब रु २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् । उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने बाँस्तोलाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?