News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गगन थापालाई गिरफ्तार गर्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
- उनले इनम सापकोटाको मोबाइल फरेन्सिकअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको निजी निवासमा राखिएको, त्यसबाट सामाजिक सञ्जाल प्रयोग भएको र सन्देश मेटिएको प्रश्न उठाएका छन्।
- पौडेलले प्रमाण नष्ट, अनुसन्धानमा रहेको मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा राख्ने र डिजिटल सामग्रीमा छेडछाड गर्ने आशंकामा गगन थापा नभई कुमार बेन अनुसन्धानको कठघरामा हुनुपर्ने तर्क गरेका छन्।
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले इनम सापकोटाको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्।
उनले प्रहरीबाट बरामद भएको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्नेमा अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो भन्दै प्रश्न गरेका छन्। पौडेलले उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने बताएका छन्।
‘फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो? त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने?’ उनले प्रश्न गरेका छन्।
उनले मोबाइल कसको निर्देशनमा र कुन कानुनी अधिकार प्रयोग गरेर निजी निवासमा पुर्याइएको हो भन्ने विषयको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। साथै प्रधानमन्त्री र उनको सचिवालयको बिचौलियासँगको सम्बन्ध तथा उसलाई लामो समयसम्म कसले संरक्षण गरेको थियो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
पौडेलले प्रमाण नष्ट गरेको, अनुसन्धानमा रहेको मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा राखेको तथा डिजिटल सामग्रीमा छेडछाड गरेको आशंका उठिरहेको अवस्थामा अनुसन्धानको कठघरामा गगन थापा नभई कुमार बेन हुनुपर्ने तर्क गरेका छन्।
उनले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने र अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाबारे पनि सम्बन्धित पक्षले जानकारी लिनुपर्ने बताएका छन्।
सभापति थापालाई पक्राउ गर्ने चर्चा चलाइएकोप्रति टिप्पणी गर्दै पौडेलले विधिको शासन भएको भए कुन अपराधमा र कुन कानुनी आधारमा गिरफ्तार गर्न खोजिएको हो भन्ने प्रश्न उठ्ने बताए। तर विधिको शासनभन्दा सनकको शासन चलेको अवस्थामा के हुन्छ र के हुँदैन भनेर भन्न नसकिने उनको टिप्पणी छ।
‘आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्ने? अनुसन्धानको विषयलाई राजनीतिक प्रतिशोधको हतियार बनाउने?’ पौडेलले प्रश्न गरेका छन्।
उनले राज्यका निकायलाई कसैको व्यक्तिगत प्रतिशोध पूरा गर्ने औजार बनाउन नहुने उल्लेख गर्दै सत्ता, सरकार, प्रहरी र प्रशासनमाथि प्रभाव भए पनि कानुन र न्याय कसैको निजी सम्पत्ति नभएको बताएका छन्।
पौडेलले आफूहरू निष्पक्ष अनुसन्धान, तथ्य, प्रमाण र सत्यको पक्षमा रहेको बताउँदै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन्।
‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?’ भन्दै उनले यो प्रकरणमा सत्यतथ्य सार्वजनिक नभएसम्म आफूहरू पछि नहट्ने चेतावनी दिएका छन्।
‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ,’ पौडेलले भनेका छन्।
प्रतिक्रिया 4