२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सन्दीप मिजार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार आइतबार वालिङ नगरपालिका–१० फूलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा मिजार पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १५५५ नम्बरको बस जाँच गरेको थियो । सोही क्रममा बसमा सवार मिजारको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मिजारको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २७ एम्पुल, फेनेरगन १५ एम्पुल र डाइजेपाम इन्जेक्सन १९ एम्पुल बरामद गरेको छ । साथै, एक थान वनप्लस मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिजारलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । उनलाई कात्तिक २२ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4