+
+
Shares

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ९:११

दक्षिण भारतका धेरै ठाउँमा दीपावलीको बिहान मटन करी खाने परम्परा छ । दीपावलीलाई सामान्यतया उत्तर भारतको पर्व मानिए पनि समयक्रमसँगै यो दक्षिण भारतमा पनि लोकप्रिय पर्वका रूपमा स्थापित भएको छ ।

अहिले दक्षिण भारतमा पनि दीपावली ठूलो र महत्वपूर्ण पर्व बनिसकेको छ । यस्तोमा तमिलनाडुमा दीपावलीका दिन मटन करी खाने परम्परा कसरी सुरु भयो भन्ने विषय रोचक छ।

तमिलनाडुका धेरै घरमा दीपावलीको बिहान इडलीसँग मटन वा कुखुराको मासुको झोल बनाएर खाने चलन छ । कतिपय घरमा दिउँसोको भोजनमा समेत मासुसहितको भात विशेष परिकारका रूपमा पकाइन्छ।

प्रदेशका धेरै क्षेत्रमा यो परम्परा कायम छ । त्यसैले दीपावलीका दिन बोका र कुखुराको मासुको मूल्यसमेत बढ्ने गर्छ ।

केही गाउँमा अर्को रोचक चलन पनि छ । आफन्त र परिवारका सदस्य मिलेर एउटा बोका किन्छन् । त्यसपछि त्यसको मासु आपसमा बाँडेर खान्छन्। यसलाई ‘पंगु गोस्त’ अर्थात् मासु बाँडेर खाने परम्परा भनिन्छ ।

दीपावली मनाउनुका तीन प्रचलित कथा

दीपावली मनाउनुका पछाडि विभिन्न धार्मिक तथा सांस्कृतिक कथा प्रचलित छन् । तीमध्ये तीनवटा कथा सबैभन्दा चर्चित छन्।

पहिलो कथा रामायणसँग सम्बन्धित छ। यसअनुसार भगवान राम १४ वर्षको वनवास पूरा गरेर अयोध्या फर्किएका थिए । उनको स्वागतमा मानिसहरूले दीप प्रज्वलन गरेर उत्सव मनाएका थिए । त्यही दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको विश्वास गरिन्छ ।

दोस्रो कथा भगवान कृष्णसँग सम्बन्धित छ । यसअनुसार भगवान कृष्णले नरकासुर नामक राक्षसको वध गरेको दिनको सम्झनामा दीपावली मनाइन्छ । यस खुसीयालीमा मानिसहरूले पटाका पड्काउने, दीप बाल्ने र मिठाई बाँड्ने गर्छन् ।

तेस्रो कथा जैन धर्मसँग सम्बन्धित छ । जैन धर्मका अन्तिम तीर्थङ्कर महावीरले जुन दिन मोक्ष प्राप्त गरेका थिए, त्यस दिनको सम्झनामा उनका अनुयायीहरूले दीप बालेर पूजा गर्ने परम्परा छ ।

तर सांस्कृतिक अनुसन्धानकर्ताहरूका अनुसार तमिलनाडुमा मनाइने दीपावलीको सुरुवात यी कथासँग जोडिएको छैन ।

कपिलरलाई मासुसहितको भात खुवाउने राजा

डा. थो. परमशिवनले आफ्नो पुस्तक ‘अरियप्पडाथा तमिझगम’ मा दीपावली तमिलनाडुको परम्परागत अर्थतन्त्र र स्थानीय मौसमसँग जोडिएको पर्व नभएको उल्लेख गरेका छन् ।

उनले पुस्तकमा लेखेका छन्, ‘दीपावलीसँग जोडिएका पटाका र त्यसमा प्रयोग हुने बारुद १५औँ शताब्दीसम्म तमिलनाडुमा परिचित थिएनन् । भगवान् कृष्णले नरकासुरको वध गरेको कथाको तमिल संस्कृतिसँग कुनै सम्बन्ध छैन । यो कथा पछिल्लो समय ब्राह्मणवादी धार्मिक परम्पराअन्तर्गत विकास भएको हो । १५औँ शताब्दीमा विजयनगर साम्राज्य तमिलनाडुमा आएपछि मात्रै यहाँ दीपावली पर्वका रूपमा मनाउन थालिएको हो ।’

तमिलनाडुसँग मूल रूपमा सम्बन्धित नरहेको यो पर्वमा मासु खाने परम्परा कसरी जोडियो भन्ने विषयमा बीबीसीले लोकपरम्पराका अनुसन्धानकर्ता आ. शिवसुब्रमण्यमसँग कुराकानी गरेको थियो।

उनका अनुसार संगम साहित्यको समयदेखि नै उत्सव र भोजमा मांसाहारी परिकार समावेश गर्ने चलन थियो।

‘मटन र भात खुवाउनु गौरवको कुरा’

शिवसुब्रमण्यमका अनुसार तमिलनाडुमा लामो समयदेखि मांसाहारी भोजनलाई विशेष भोजका रूपमा लिने परम्परा छ।

‘पुलाल’ भन्नाले मासु वा अण्डासहितको मांसाहारी भोजन बुझिन्छ । अहिले केही समुदायमा यसलाई शाकाहारी भोजनभन्दा फरक र कम महत्वको भोजनका रूपमा हेर्ने गरिन्छ । तर संगम साहित्यको समयदेखि नै उत्सव र भोजमा मांसाहारी परिकार पस्किने चलन थियो ।

संगम साहित्यको समयलाई ईसापूर्व ३०० देखि इस्वी संवत् ३०० सम्म मानिन्छ । त्यस समयको ‘पुरनानुरु’ नामक साहित्यिक कृतिमा मांसाहारी भोजको विशेषताबारे उल्लेख गरिएको छ ।

लोकपरम्पराका अनुसन्धानकर्ता शिवसुब्रमण्यमले सुनाएअनुसार इन्द्रीय नियन्त्रण गर्ने ब्राह्मण कविका रूपमा प्रशंसा पाएका कपिलरका हात किन यति नरम छन् भनेर राजा चेरमान सेल्वक कन्डुको वाजियाधनले प्रश्न गरेका थिए।

जवाफमा कपिलरले आफूले राजाबाट पाउने मासुसहितको झोल र भात खानुबाहेक अरू काम नगर्ने भएकाले हात नरम भएको बताएका थिए । यस विषयमा एउटा कवितासमेत उपलब्ध छ।

शिवसुब्रमण्यमका अनुसार तमिलनाडुमा पाहुनालाई सम्मानपूर्वक भोज खुवाउँदा मासु मिसाइएको परिकार पस्किनु गौरवको विषय मानिन्थ्यो।

‘संगम साहित्यमा दीपावली शब्दको उल्लेख छैन’

शिवसुब्रमण्यमका अनुसार कुनै समय भात खानु नै दुर्लभ कुरा मानिन्थ्यो। बालबालिकाले खेल्ने खेलमा समेत भात पकाउने खेल समावेश हुन्थ्यो । त्यसैले दीपावली तमिलनाडुको भूगोल र स्थानीय परम्परासँग प्रत्यक्ष सम्बन्धित नभए पनि पर्वको विशेष भोजनका रूपमा मांसाहारी परिकार समावेश हुँदै गयो ।

उनी भन्छन्, ‘लामो समयदेखि मांसाहारी भोजनलाई विशेष खानाका रूपमा लिने गरिएको छ । त्यसैले पर्वका दिन परिवार र आफन्तसँग बसेर खान मासुसहितको भात पकाउने परम्परा सुरु भयो ।’ आज पनि युवापुस्ताले कुनै खुसीको अवसर वा उत्सवमा मासुसहितको भातको भोज दिनुलाई सम्मान र गौरवको विषय मान्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार यसको पछाडि अर्को कुनै विशेष कारण छैन । मांसाहारी भोजनलाई राम्रो र उच्चस्तरको भोजन मान्ने सोचका कारण नै मासुको भोज र मासुसहितको भातले विशेष महत्व पाएको हो । शिवसुब्रमण्यमका अनुसार संगम साहित्यमा दीपावली शब्दको कुनै उल्लेख छैन । १५औँ शताब्दीपछि मात्रै यो पर्व तमिलनाडुमा व्यापक रूपमा मनाउन थालिएको हो ।

उनको बुझाइमा कुनै विशेष धार्मिक कारण नभए पनि पर्वको महत्वपूर्ण भोजनका रूपमा मांसाहारी परिकारले आफ्नो स्थान बनाइसकेको छ ।

लोकगीतमा पनि मासु र भातको भोजको चर्चा

यस विषयमा बीबीसीले चेन्नईस्थित एमजीआर जानकी कलेजको तमिल विभागकी सहायक प्राध्यापक डा. के. सत्यप्रिय्यासँग पनि कुराकानी गरेको थियो । उनी लामो समयदेखि लोकगीतको अनुसन्धानमा संलग्न छिन्। उनका अनुसार दीपावलीसँग सम्बन्धित लोकगीतमा मटन र भातको भोजबारे समेत उल्लेख पाइन्छ ।

उनी भन्छिन्, ‘थेनी जिल्लाको आन्डीपट्टीमा लोकगीत सङ्कलन गर्ने क्रममा मैले गाउँका महिलाहरूले अझै पनि दीपावलीसँग सम्बन्धित एउटा गीत सम्झिरहेको पाएँ।’ उक्त गीतमा एउटी आमाले दीपावलीमा छोरीलाई नयाँ कपडा किनिदिन र मासुसहितको भातको भोज खुवाउन आफूसँग पैसा नभएको गुनासो गर्छिन्।

त्यसको जवाफमा छोरीले भन्छिन्, ‘आमा, ऋण नै गरेर भए पनि मलाई दीपावलीमा बोलाउनुहोस् । परम्पराअनुसार उपहार दिनुहोस् र मासुसहितको भातको भोज खुवाउनुहोस् ।’

यही संवादसँगै गीत टुङ्गिन्छ।

सत्यप्रिय्याका अनुसार यस्ता अरू लोकगीत पनि छन् । ती गीतमा दीपावलीका दिन शरीरमा तेल लगाएर स्नान गर्ने र त्यसपछि मासुसहितको भात खाने परम्पराको चर्चा गरिएको छ ।

उनको बुझाइमा नरकासुरको मृत्यु भएको दिनका रूपमा दीपावली मनाउने परम्पराका कारण मृतकको सम्मानस्वरूप तेल लगाएर स्नान गर्ने र त्यसपछि मासुसहितको भात खाने चलन सुरु भएको हुन सक्छ । उनका अनुसार एउटा पुरानो भनाइ अहिले पनि प्रचलित छ, ‘रातभरि दीपावली, बिहान भएपछि औँसी ।’

यसको अर्थ दीपावलीका दिन मानिसहरू मासुसहितको भात खाएर रातभरि उत्सव मनाउँथे । त्यसपछि अर्को दिन व्रत बस्थे र औँसीको साँझ मिठाई खान्थे ।

सत्यप्रिय्या भन्छिन्, ‘धेरै गाउँमा दीपावली भनेको भोज खानु र पटाका पड्काउनु मात्रै होइन । त्यस रात नरकासुर वधमा आधारित लोकनाटकसमेत प्रदर्शन गरिन्छ।’

गाउँमा मनाइने दीपावलीमा आज पनि यस्ता धेरै सांस्कृतिक परम्परा देख्न पाइन्छ ।

युद्ध जितेर फर्किएका सैनिकलाई पनि मांसाहारी भोज

‘पुरप्पोरुल वेण्बा मालाई’ नामक साहित्यिक कृतिमा युद्ध जितेर फर्किएका सैनिकलाई सम्मान गर्न मांसाहारी भोजन र मदिरासहित भोज दिने परम्पराबारे उल्लेख गरिएको छ । सत्यप्रिय्याका अनुसार त्यहाँ ‘उन्डाट्टु’ शब्द प्रयोग गरिएको छ ।

युद्धमा विजय हासिल गरेपछि मांसाहारी भोजन र स्थानीय मदिरा खुवाएर उत्सव मनाउने चलनलाई ‘उन्डाट्टु’ भनिन्थ्यो । यो भोज वीर सैनिकलाई मात्रै नभई कवि तथा सहयोग माग्न आउने मानिसलाई समेत खुवाइन्थ्यो।

त्यसैले मांसाहारी भोजनलाई उत्सव र खुसीयालीको खानाका रूपमा लिने परम्परा निकै पुरानो रहेको उनको भनाइ छ । यही कारण दीपावलीका दिन पनि यसलाई विशेष भोजनका रूपमा खाने चलन बसेको हुन सक्ने उनी बताउँछिन् ।

दीपावलीमा बनाइने मटन करीमा के हुन्छ विशेष ?

लोकप्रिय सेफ दामुका अनुसार सुरुमा दीपावलीमा मासुसहितको भात खाने परम्परा मुख्य रूपमा ‘मटन पाया’ बनाउने चलनसँग जोडिएको थियो । पछि मटन करी बनाउने परम्परा बढी लोकप्रिय हुँदै गयो । ‘दीपावली आउनुभन्दा एक रातअघि नै खाना पकाउन सुरु गरिन्थ्यो’ उनी भन्छन्, ‘मटन पाया बनाउन बोकाको खुट्टाका टुक्रा दाउराको चुलोमा भाँडाभित्र राखेर पकाइन्थ्यो।’

‘भोलिपल्ट बिहानसम्म मासु राम्ररी पाकिसकेको हुन्थ्यो । त्यसमा नरिवलको दूध र मरिच हालेर पाया तयार पारिन्थ्यो । यससँगै सामान्यतया इडली वा इडियप्पम बनाइन्थ्यो ।’ बिहानको खाना तयार भएपछि त्यही करी दिउँसोको भोजनमा पनि खाने गरिन्थ्यो । पछिल्ला वर्षमा पाया बनाउनेभन्दा मटन करी बनाउने चलन बढेको दामु बताउँछन् ।

उनका अनुसार केही घरमा कुखुराको मासु पनि पकाइन्छ । तर मुख्य परिकार भने बोकाको मासु नै हुन्छ । शाकाहारी भोजन खाने घरमा पनि बिहान वडा करी र तरकारीको कुर्मा बनाउने तथा दिउँसो पकौडा करी जस्ता झोलिला परिकार तयार गर्ने चलन छ ।

दामुका अनुसार दीपावलीमा बनाइने करीको स्वाद सामान्य दिनमा पकाइने करीभन्दा फरक र विशेष हुन्छ। त्यसमा प्रयोग हुने केही विशेष सामग्रीले स्वाद फरक बनाउँछन्।

उनी भन्छन्, ‘केही घरमा समुद्री झार र ल्वाङजस्ता सामग्री पनि प्रयोग गरिन्छ।’

‘दीपावलीका दिन मानिसहरूले धेरै मिठाई खाने भएकाले केही घरमा रातो खुर्सानी कम राखिन्छ र त्यसको सट्टा मरिच प्रयोग गरिन्छ।’

‘केही मानिसले दीपावलीका दिन मात्रै करीमा हाल्नका लागि पिसिने नरिवलसँगै काजु पनि पिस्छन्। यसले करीको स्वाद र बाक्लोपन बढाउँछ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?