News Summary
Generated by OK AI. Editorially reviewed.- प्रकाशमान सिंहले गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीमा पार्टी विवाद र राजनीतिक अन्योल समाधान गर्न उनको त्याग, निष्ठा र आदर्श आत्मसात गर्नुपर्ने बताए।
- उनले विशेष महाधिवेशनसम्बन्धी विवादमा पार्टी विधान, नियम र परम्पराविपरीत भेला हुँदैमा त्यसलाई वैधानिक विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे।
- सिंहले २०४६ सालपछि प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरी गणेशमान सिंहले कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको र लोकतान्त्रिक सन्देश दिएको स्मरण गरे।
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।
मंगलबार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताए ।
कांग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उनले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे । पार्टी सभापति र केन्द्रीय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने कांग्रेसको परम्परा रहेको उल्लेख गर्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रिय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताए ।
‘नेपाली कांग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन । पार्टीको स्थापित अभ्यास र प्रक्रियाअनुसार हुनुपर्ने विशेष महाधिवेशनलाई जबर्जस्ती रूपमा व्याख्या गरेर १४ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति र केन्द्रीय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन,’ उनले भने ।
२०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रश्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण समेत गरे ।
उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उनको भनाइ छ । नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गरे ।
लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सिमित नरही नागरिकको आर्थिक जीवन परिवर्तन गर्ने माध्यम बन्नुपर्ने उनको भनाइ छ ।
‘विशेषगरी गणेशमान सिंहको त्याग नेपाली राजनीतिमा अनुपम उदाहरण हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो । यसबाट प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने महत्वपूर्ण लोकतान्त्रिक सन्देश उहाँले दिनुभएको थियो,’ सिंहले भने ।
प्रतिक्रिया 4