News Summary
Generated by OK AI. Editorially reviewed.- एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन ह्वाङले शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्ध स्वीकार गर्दै कर्मचारीलाई सन्देश पठाएका छन्।
- अमेरिकी अधिकारीहरूले एलिस ह्वाङलाई चीनको गुप्तचर संस्था एमएसएसले परिचालन गरेको दाबी गर्दै एनभिडियाको संवेदनशील एआई चिप्स र गोप्य प्रविधिबारे सूचना लिन लगाइएको बताएका छन्।
- अमेरिकी प्रतिनिधि सभाका तीन रिपब्लिकन समिति सभापतिले ह्वाङलाई नोभेम्बर ११ सम्म कङ्ग्रेससमक्ष उपस्थित भई सम्बन्ध र सुरक्षा उपायबारे स्पष्टीकरण दिन पत्र पठाएका छन्।
विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्।
ह्वाङले आइतबार आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै उक्त सम्बन्धको स्वीकारोक्ति दिएका छन्। विदेशी गुप्तचर निकायहरूले राजनीतिक सूचना, कर्पोरेट रहस्य र संवेदनशील वर्गीकृत दस्तावेजहरूमा पहुँच बनाउनका लागि प्रेम वा यौन सम्बन्धलाई हतियार (हनी ट्र्याप) को रूपमा प्रयोग गर्ने पुरानो रणनीति रहेको छ। ह्वाङको यो घटनाले प्रविधि क्षेत्रको व्यावसायिक गोपनीयता र अमेरिकी राष्ट्रिय सुरक्षामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।
जेन्सेन ह्वाङ र एलिस ह्वाङ काण्ड : नयाँ घटनाक्रम र तथ्यहरू
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी अधिकारीहरूले चीनको मुख्य गुप्तचर संस्था ‘मिनिस्ट्री अफ स्टेट सेक्युरिटी’ (एमएसएस) ले एलिस ह्वाङलाई परिचालन गरेको दाबी गरेका छन्।
अधिकारीहरूका अनुसार एलिसलाई जेन्सेन ह्वाङसँग निकटता बढाएर एनभिडियाका संवेदनशील एआई चिप्स चिनियाँ कम्पनीहरूलाई बिक्री गराउने निर्णयमा प्रभाव पार्न र कम्पनीका गोप्य प्रविधिबारे सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको थियो।
यद्यपि दुवै पक्षबाट आधिकारिक पुष्टि भइसकेको छैन, तर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू एएफपी र रोयटर्सका तस्बिरहरूमा सन् २०२४ र २०२५ का विभिन्न सार्वजनिक कार्यक्रमहरूमा जेन्सेन र एलिस सँगै देखिएका थिए। सन् २०२६ को मे महिनामा एनभिडियाको चीन व्यापारबारे प्रतिवेदन सार्वजनिक गर्ने शर्ट-सेलर संस्था ‘कल्पर रिसर्च’ का अनुसार, एलिस उच्च कार्यकारीका रूपमा कार्यरत रहेको कम्पनी ‘मेगास्पिड’ को कार्यालयमा जेन्सेन ह्वाङलाई बारम्बार देखिएको कर्मचारीहरूले बताएका छन्।
एक कर्मचारीले कल्परसँग कुरा गर्दै उनीहरूबिच ‘अत्यन्तै नजिकको’ सम्बन्ध रहेको खुलासा गरेका थिए। एनभिडियाको सञ्चालक समितिले भने कम्पनीको कुनै पनि गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा आँच
आएको मान्ने कुनै आधार नरहेको दाबी गरेको छ। चीनले पनि यी आरोपहरूलाई पूर्ण रूपमा खारेज गरेको छ। अमेरिकी प्रतिनिधि सभाका तीन रिपब्लिकन समिति सभापतिहरूले जेन्सेन ह्वाङलाई नोभेम्बर ११
सम्ममा कङ्ग्रेससमक्ष उपस्थित भई एलिस ह्वाङसँगको सम्बन्ध र विदेशी खतराहरूबाट बचाउन एनभिडियाले अपनाएका सुरक्षा उपायहरूबारे स्पष्टीकरण दिने मिति तय गर्न औपचारिक पत्र पठाएका छन्।
अमेरिकी इतिहासका चर्चित ‘हनी ट्र्याप’ र जासुसी विवादहरू
विदेशी गुप्तचर एजेन्सीहरूले अमेरिकाका उच्च पदस्थ अधिकारीहरू र प्रभावशाली व्यक्तित्वहरूलाई प्रेमको जालमा पारेर जासुसी गराएका कयौँ ऐतिहासिक उदाहरणहरू छन्।
जेम्स जे. स्मिथ र कट्रिना लिउङ सन् २००६ मा अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एफबीआईका काउन्टरइन्टेलिजन्स एजेन्ट जेम्स जे. स्मिथको एफबीआईकी सूचनादाता कट्रिना लिउङसँग १८ वर्षसम्म गोप्य प्रेम सम्बन्ध रहेको थियो। लिउङले एफबिआईको अनुमतिबिना नै अमेरिकी सरकारका वर्गीकृत र संवेदनशील दस्तावेजहरू चीनलाई उपलब्ध गराएको भेटिएको थियो । जसले एफबीआईको आन्तरिक नियन्त्रण प्रणालीमाथि ठूलो प्रश्न उठाएको थियो।
अनुसन्धानका क्रममा लिउङको अर्का एबिआई एजेन्ट विलियम क्लिभल्यान्डसँग पनि प्रेम सम्बन्ध रहेको खुलेको थियो। सन् २००३ मा स्मिथ र लिउङ दुवै गिरफ्तार भए र जासुसीको साटो झूटा बयान दिएको अभियोगमा दोषी ठहरिए। मारिया बुटिना र पोल एरिक्सन रुसी अधिकारकर्मीबाट राजनीतिज्ञ बनेकी मारिया बुटिनाले सन् २०१८ मा रुसी सरकारको अनधिकृत एजेन्टका रूपमा काम गरेको स्वीकार गरेकी थिइन्।
बुटिनाले रिपब्लिकन पार्टीका राजनीतिक कार्यकर्ता पोल एरिक्सनसँग प्रेम सम्बन्ध गाँसेकी थिइन्। सरकारी अभियोजकहरूले बुटिनाले एरिक्सनसँगको सम्बन्धलाई रुसी स्वार्थ अगाडि बढाउन र अमेरिकी राजनीतिक वृत्त (विशेष गरी नेशनल राइफल एसोसिएसन – एनआरए) मा पहुँच बनाउन ढालको रूपमा प्रयोग गरेको पुष्टि गरेका थिए। एरिक्स स्वालवेल र क्रिस्टिन फ्याङ सन् २०२६ को अगस्टमा सार्वजनिक भएका एफबिआईका वर्गीकृत दस्तावेजहरू अनुसार, पूर्व अमेरिकी कंग्रेस सदस्य एरिक्स स्वालवेलले चिनियाँ जासुस मानिएकी क्रिस्टिन फ्याङसँग शारीरिक सम्बन्ध रहेको स्वीकार गरेका थिए।
सन् २०२० मा एक्सियोसले पहिलोपटक खुलासा गरे अनुसार फ्याङले क्यालिफोर्नियाका राजनीतिज्ञहरूलाई निसाना बनाएकी थिइन्। उनले स्वालवेलको चुनावी अभियानका लागि रकम सङ्कलन गर्नुका साथै उनको कार्यालयमा एक जना इन्टर्न राख्न समेत सहयोग गरेकी थिइन्। अनुसन्धानकर्ताहरूका अनुसार फ्याङले मध्य-पश्चिम क्षेत्रका कम्तीमा दुई मेयरहरूसँग शारीरिक निकटता, चन्दा सङ्कलन र व्यक्तिगत
प्रभावको प्रयोग गरी उच्च राजनीतिक वृत्तमा आफ्नो पहुँच विस्तार गरेकी थिइन्।
तथापि, उक्त घटनामा एफबिआईले स्वालवेललाई कुनै पनि गैरकानुनी कार्यमा दोषी ठहर्याई कारबाही भने गरेन। बेन्जामिन बिसप सन् २०१४ मा अमेरिकी रक्षा मन्त्रालयका ठेकेदार तथा पूर्व अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्नल बेन्जामिन पियर्स बिसपले आफ्नी चिनियाँ प्रेमिकालाई गोप्य सैन्य सूचना उपलब्ध गराएको स्वीकार गरेका थिए। अमेरिकी न्याय मन्त्रालयका अनुसार, उनले आफ्नी प्रेमिकाको आग्रहबमोजिम चिनियाँ नौसेनाका सामरिक सैन्य संरचनाहरूबारेका वर्गीकृत तस्बिरहरू तथा राष्ट्रिय सुरक्षासँग जोडिएका अति गोप्य दस्तावेजहरू गैरकानुनी रूपमा कब्जामा लिई हस्तान्तरण गरेका थिए। यस अपराधवापत अदालतले उनलाई सात वर्षभन्दा बढीको कैद सजाय निर्धारण गरेको थियो।
प्रतिक्रिया 4