+
+
Shares

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

शिव मुखिया शिव मुखिया
२०८३ कात्तिक २५ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खान स्टारर ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएपछि अनुपविक्रम शाही नेपाली फिल्मवृत्तमा चर्चामा आएका छन् ।
  • निर्देशक अपूर्व लखियाले अनुपलाई फिल्मको राम्रो प्रोटागोनिस्ट भूमिका दिइएको र विश्वभरको कास्टिङबाट छानिएको बताए ।
  • अनुपले सलमान खानले आफ्नो सपनालाई वास्तविकतामा बदलिदिएको भन्दै उहाँप्रति कृतज्ञता व्यक्त गरे ।

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग ।

बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला  ? धेरैको मनमा यही उत्सुकता जाग्छ । आखिर फिल्मको कास्टिङ लन्चदेखि ट्रेलरसम्म आइपुग्दा अनुपविक्रम जोडदार र यादगार देखिन्छन् ।

दर्जनौँ क्यामेराले घेरिएको मञ्चमा अनुपविक्रमलाई इंगित गर्दै निर्देशक अपूर्व लखिया भन्छन्, ‘अनुपलाई हामी यो फिल्ममार्फत सार्वजनिक गर्दैछौँ । उनले फिल्ममा राम्रो प्रोटागोनिस्टको भूमिका पाएका छन् । फिल्ममा उनको पात्र विशेष छ ।’

त्यसपछि उनी अनुपको व्यक्तिगत कुरातर्फ आउँछन् । भन्छन्, ‘अनुप नेपालका हु न्। उनी नेपालका निकै चर्चित कलाकार हुन् । यो फिल्मका लागि हामीलाई एउटा खास पात्र चाहिएको थियो । त्यसका लागि विश्वभरबाट कास्टिङ गरिएको थियो। धेरैले यसमा अडिसन दिए । त्यहीमध्येबाट हामीले अनुपलाई छान्यौँ । यसरी अनुप काठमाडौंबाट सीधै ‘मातृभूमि’मा जोडिन आइपुगे ।’

कार्यक्रम प्रस्तोता ठट्यौली शैलीमा सोध्छन्, ‘अनि काठमाडौंबाट सोझै सलमान भाइकहाँ ? यो त गजब कुरा भयो ।’ सुनेर अनुप कृतज्ञ हुन्छन् । त्यो मञ्चमा आफूमाथि चर्चा हुँदै गर्दा दङ्ग नपर्ने कुरा पनि भएन ।

प्रस्तोता कुरालाई जोड्छन्, ‘यो फिल्मका लागि एक–एक तस्बिरले पनि १० करोड लाइक पाउनेछन् । के सलमान भाइसँग पहिलो पटक भेट्दा नर्भस हुनुभएको थियो  ?’

अनुप शालीन जवाफ फर्काउँछन्, ‘त्यो अनुभव मेरा लागि विशेष थियो। म धेरै नर्भस थिएँ नै, अहिले पनि छु । किनभने बलिउडका यति धेरै व्यक्तित्वको सामुन्ने उभिएको छु ।’

त्यसपछि अनुपले यो अवसर दिने निर्देशक अपूर्वलाई धन्यवाद भन्छन् । अब उनी सलमान खानप्रति कृतज्ञता व्यक्त गर्दै बोल्छन्, ‘सलमान खान सर मेरो जीवनमा देवदूत बनेर आउनुभयो । उहाँले मेरो सपनालाई वास्तविकतामा बदल्नुभयो ।’

प्रस्तोताले भनेजस्तै अनुपको यो बलिउड यात्रा बुलेट ट्रेनजस्तै सोझो र तीव्र गतिमा अघि बढ्यो । उनले बलिउडका मामुली फिल्ममा छोटेमोटे भूमिका गर्नुपरेन । मुम्बईमा डेरा लिएर निर्देशक–निर्माताको ढोका चाहर्नुपरेन । म्युजिक भिडियो र टेलिसिरियलको भर्‍याङ बनाउनु पनि परेन ।

काठमाडौंबाट उनी सोझै पुगे, सलमान खानको सामुन्ने ।

बलिउडमै सङ्घर्षरत धेरै कलाकार सलमान खानसँग एउटै फ्रेममा देखिन चाहन्छन् । दुःखलाग्दो कुरा, धेरैको यो सपना सपनामै सीमित रहन्छ । तर अनुपले भनेजस्तै उनको सपना वास्तविकतामा बदलिएको छ । साढे चार मिनेट लामो ट्रेलरमा उनी पटक–पटक देखिएका छन् । भनिहालौँ, कतिपय कलाकार पोस्टर र ट्रेलरमा अटाउँदैनन् । कतिपय त राम्रै भूमिका पाएका कलाकार पनि ।

तर अनुपलाई सलमान खानसँग धेरै पटक आमनेसामने गराइएको छ ।

काठमाडौंबाट सोझै बलिउडमा, त्यो पनि सोझै सलमान खानकहाँ । उनका लागि यो एउटा उपलब्धिभन्दा बढी अवसर हो । उनले बलिउडलाई चिहाउने एउटा ढोका खोलेका छन् । यसपछिको यात्रा के हुन्छ ? त्यो चाहिँ उनको क्षमताले निर्धारण गर्नेछ ।

अनुपविक्रम नेपाली फिल्ममा त्यति चल्तापुर्जा नाम होइन । खासमा उनी हिरो बन्न आएका थिए। तर नेपाली फिल्मले उनलाई भिलेन बनाइदियो । धेरैले ख्याल नगरेको हुन सक्छ, अनुपविक्रम नै त्यस्ता भिलेन हुन्, जसले ‘भिलेन पनि यति ह्यान्डसम हुन्छन् र ?’ भन्ने प्रश्न दर्शकको मनमा उब्जाइदिए ।

प्रस्तोताले अनुप विक्रमलाई सुरुमै भनेका थिए, ‘तपाईंको लुक्स त एकदम दामी छ । मलाई मन पर्‍यो ।’ ती प्रस्तोता मात्र होइन, अनुप विक्रमलाई अरू धेरैले भन्ने शब्द पनि यही हो । उनी छन् नै ह्यान्डसम । अग्लो कद, सुगठित शरीर र चिटिक्क परेको अनुहारले उनलाई हिरो देखाउँछ । तर खै किन हो, नेपाली फिल्ममेकरले उनलाई भिलेनका रूपमा देखे ।

सायद हिरोका रूपमा अभिनय गरेको उनको पहिलो फिल्म ‘ठमेल डट कम’ असफल भएर हो कि  ?

किनभने भिलेनका रूपमा प्रवेश गरेको फिल्म ‘हँसिया’ले भने राम्रै चर्चा पायो ।  फिल्मले भन्दा बढी चर्चा उनले पाए।त्यसपछि त उनी भिलेनकै रूपमा बढी देखिन थाले ।

नेपाली सिनेमामा उनको त्यति धेरै चुरीफुरी देखिएन । उनी विवाद र गसिपका पात्र पनि बनेनन् । आफ्नै बलबुतामा निरन्तर डटिरहे, खटिरहे । अन्ततः भिलेनका रूपमा उनको यात्रा सम्झनलायक रह्यो ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?