+
+
Shares

‘अनमोलको स्टारडमले उनलाई दिने पारिश्रमिक एकै दिनमा उठाइदिन्छ’ : सरोज न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:१५

त्यसै पनि नेपाली फिल्मको बजार स्थिर छैन । जसोतसो फिल्म निर्माण गरेर प्रदर्शनको मिति तोकिसक्दा पनि मनमा संशय बाँकी हुन्छ, के मेरो फिल्म चल्छ त ? यस्तो किन पनि हुन्छ भने सामान्य मौसमी परिवर्तनदेखि हलिउड र बलिउडका फिल्मले समेत हामीलाई अत्याइरहन्छन् । यस्तो स्थितिमा एउटा फिल्ममेकरले कसरी फिल्ममा लगानी गर्छ ? कुन आत्मविश्वास बोकेर यस क्षेत्रमा होमिन्छ ? यिनै विषयमा हामीले निर्माता सरोज न्यौपानेसँग कुरा गरेका छौँ ।

‘बाटुलो जून’को अवस्था के छ ?

अहिलेसम्म कमाइ भइरहेकै छ । निर्माताको हिसाबले हेर्दा अहिलेको कलेक्सनलाई सुखद नै मान्नुपर्छ । यस हिसाबले ‘बाटुलो जून’लाई दर्शकहरूले माया नै गर्नुभएको छ भन्ने बुझेको छु ।

यो फिल्ममा कसरी लगानी गर्न पुग्नुभयो ?

म यो फिल्ममा जोडिनुको कारण भुवन केसी दाइ नै हो । किनभने उहाँले नै मलाई अफर गर्नुभएको हो । ‘मलाई हेल्प गर्नुपर्‍यो सरोज, कसैले पनि मलाई सहयोग गरेन’ भन्नुभयो ।

सायद उहाँले मैले ‘जेरी’मा गरेको काम, मेहनत केही देख्नुभयो होला । उहाँ आफैँ पनि अनुभवी निर्माता हुनुहुन्छ । फिल्म क्षेत्रमा उहाँले एउटा युग बिताइसक्नुभयो । त्यतिका दिग्गज मान्छेले मलाई केही देखेरै अफर गर्नुभएको होला ।

अनमोल केसीलाई फिल्म अफर गरेको भए सायद अरूले पनि लगानी गर्थे होला । उहाँले मलाई नै आएर अफर गर्नुभयो । यसमा म उहाँप्रति आभारी पनि छु । उहाँको फिल्ममा पैसा हाल्ने अरू पनि भेटिन्थे होला नि !

उहाँले मलाई विश्वास गर्नुभयो । यसरी हामी जोडियौँ । जबकि, म त्यो फिल्ममा प्रवेश गर्दैछु भन्ने कुरा अनमोललाई थाहा थिएन ।

यसपालि त तपाईं अनमोललाई लिएर देश दौडाहमा पनि निस्कनुभयो नि ?

फिल्म निर्माणमा हात हालेपछि त्यसको बजार बुझ्नुपर्छ । बजारको आकार र माग बुझ्नुपर्छ । दर्शकको रुचि र मनोविज्ञान बुझ्नुपर्छ । बजारको अध्ययन र अवस्था बुझ्नका लागि देश दौडाहमा निस्किएको हो ।

यसअघिको फिल्म ‘जेरी’का बेला पनि हामी नेपालगन्ज, दाङ र पोखरा गएका थियौँ । त्यसले बिजनेसमा केही न केही राम्रो भएको थियो । त्यसबेला पूर्वतिर भने जान पाइएन ।

यसरी देश दौडाहमा निस्कनुको अर्को कारण अनमोलका फ्यानहरू पनि हुन् । उनीहरूले अनमोललाई धेरै माया गर्छन् ।

अनमोलको क्रेज वास्तवमै राम्रो छ । त्यसको उदाहरण त उनले पेस गरिसकेका छन् । फिल्मको ओपनिङ आक्रामक हुनुको कारण हिरोको क्रेज नै हो ।

‘बाटुलो जून’ सार्वजनिक प्रदर्शनको तयारीमा हुँदा धेरैले मलाई डर देखाएका थिए । मान्छेको मुड छैन, कति फिल्म चलेका छैनन् । बाढीका कारण पनि मान्छेहरू रमाइलो गर्ने मनस्थितिमा छैनन् भनेका थिए । दसैँको मौका छोप्दै प्रदर्शनमा आएका फिल्महरू पनि चलेका थिएनन् । तर, ‘बाटुलो जून’ प्रदर्शनमा आएलगत्तै यसले राम्रो ओपनिङ गर्‍यो । अनमोलको विगतका फिल्मकै रेकर्ड तोड्दै उत्साहजनक ओपनिङ गर्‍यो ।

‘बाटुलो जून’ सार्वजनिक प्रदर्शनको तयारीमा हुँदा धेरैले मलाई डर देखाएका थिए । मान्छेको मुड छैन, कति फिल्म चलेका छैनन् । बाढीका कारण पनि मान्छेहरू रमाइलो गर्ने मनस्थितिमा छैनन् भनेका थिए । दसैँको मौका छोप्दै प्रदर्शनमा आएका फिल्महरू पनि चलेका थिएनन् । तर, ‘बाटुलो जून’ प्रदर्शनमा आएलगत्तै यसले राम्रो ओपनिङ गर्‍यो । अनमोलको विगतका फिल्मकै रेकर्ड तोड्दै उत्साहजनक ओपनिङ गर्‍यो ।

प्रदर्शनको सुरुवातमा जति कमाइ हुन्छ, त्यो स्टारका कारण हुन्छ । त्यसपछि भने कथाले नै बोल्नुपर्छ । स्टारले धान्ने भनेको सुरुका दुई वा तीन दिन हो । त्यसपछि कन्टेन्टले तान्ने हो ।

यो कुरा मैले ‘जेरी’मा पनि भनेको थिएँ । ‘जेरी’ प्रदर्शनको दुई दिनमै अनमोलले आफ्नो पारिश्रमिक बराबरको रकम रिटर्न दिएका थिए । एउटा कलाकारले जुन पारिश्रमिक लिन्छ नि, त्यो एक–दुई दिनमै उठ्नु ठूलो कुरा हो । यसमा त एकै दिनमा रिटर्न आयो । १ करोड २५ लाखको ओपनिङ भनेको त उसले लिएको पारिश्रमिकभन्दा पनि बढी पैसा एकै दिनमा उठ्नु हो । त्यो त स्टारडम नै मान्नुपर्छ नि !

अनमोललाई लिनु भनेको इनिसियल व्यापार सुनिश्चित गर्नु हो ?

यो त प्रमाणित कुरा हो नि ! मैले आफैँले दुईवटा फिल्ममा यस्तो अनुभव गरेको छु, ‘जेरी’ र ‘बाटुलो जून’मा । यो मैले भन्ने वा नभन्ने कुरा भन्दा पनि बक्स अफिसले देखाउने कुरा हो ।

अनमोल केसीलाई लिनका लागि स्क्रिप्ट चाहिँ कस्तो चाहिन्छ ?

स्क्रिप्टको कुरामा अनमोल निकै संवेदनशील छन् । यसमा पनि दुईवटा कुरा छन् । या त उसले विश्वास गरेको मान्छे हुनुपर्छ वा उसको विश्वास जित्न सक्नुपर्छ । जस्तो पायो त्यस्तो स्क्रिप्टमा उसले काम गर्दैन । त्यही भएर त उसले कतिपय प्रोजेक्ट छाडेको छ ।

उसलाई कुनै फिल्ममा केही शङ्का लागेमा अगाडि नै बढ्दैन । यो राम्रो गुण पनि हो । फिल्म जस्तो पायो त्यस्तै खेल्नुहुन्न भन्ने कुरा हो उसको । कथा साँच्चै राम्रो छ, स्क्रिनप्ले परिपूर्ण छ र त्यहीअनुसारका मेकरहरू छन् भने मात्र उनी अगाडि बढ्न तयार हुन्छन् ।

यद्यपि, उसले मेकरलाई विश्वास गरेको छ भनेचाहिँ फटाफट काम गर्छ । ‘जेरी अन टप’ साइन गर्दा उसले मलाई भनेको थियो, ‘यसमा कसैलाई होइन, मैले तपाईंलाई हेरेर साइन गरेको हो । किनभने तपाईंले एक लेभलको फिल्म बनाउनुहुन्छ भन्ने मलाई थाहा छ ।’

भुवन केसीले चाहिँ तपाईंलाई नै किन खोजे, किन विश्वास गरेको होला ?

यसलाई दुईवटा कोणबाट हेर्नुपर्ने हुन्छ । मलाई ‘जेरी’को बेला अप्ठ्यारो परेको थियो । त्यसबेला अन्तिममा साथ दिने मान्छे भुवन दाइ नै हो । त्यो फिल्मको क्रममा धेरै उतारचढाव झेल्नुपरेको थियो । तर, भुवन दाइले मलाई जुन किसिमको सल्लाह र सहयोग दिनुभयो, त्यो म भुल्न सक्दिनँ ।

यसपालि उहाँलाई आर्थिक रूपमा समस्या हुँदा मैले सहयोगको हात बढाएको हो । तर, यहाँ बुझ्नुपर्ने कुरा के पनि हो भने एकले अर्कालाई सहयोग गरेको भन्दा पनि सहकार्य गरेको भन्नुपर्छ । फिल्म भनेको टिमवर्क हो । यसमा धेरै किसिमका भूमिका जरुरी हुन्छन् । त्यसरी दुई फरक भूमिकामा रहेका भुवन दाइ र म एकै ठाउँमा आइपुगेका हौँ ।

‘बाटुलो जून’ भुवन दाइको अवधारणा हो । उहाँले त्यसमा पूर्ण रूपमा काम गर्नुभएको हो । मैले आर्थिक रूपमा साथ दिएको हुँ ।

फिल्ममा धेरैले हचुवाको भरमा लगानी गर्छन् भनिन्छ नि ?

अब यसमा फेरि मैले बोलेँ भने ठूलो कुरा गर्‍यो सम्झिनुहुन्छ होला । धेरैलाई के लाग्छ भने फिल्ममा लगानी गर्ने भनेको रमाइलो हो । त्यहाँ घुम्न पाइन्छ, सबैको सामुन्ने चिनाउन पाइन्छ । ग्ल्यामर क्षेत्रमा उभिन पाइन्छ । मान्छेहरू यस्तै सोच्छन् । तर, फिल्ममा तपाईं रमाइलो गर्न होइन, शुद्ध कर्म र व्यापार गर्न आउनुहोस् ।

सकेसम्म अनुभव लिएर आउनुहोस् । फिल्मलाई बुझेर आउनुहोस् । बजार र दर्शकको मूल्य हेरेर आउनुहोस् । यदि सही ढङ्गले आउनुभयो भने यसबाट तपाईंले राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

मेरा सुरुका दुईवटा फिल्म डुबे । तर, म पछाडि हटिनँ । तेस्रो फिल्मबाट राम्रो पैसा कमाएँ ।

मलाई फिल्म बुझ्न १० वर्ष लाग्यो । त्यही भएर हचुवाको भरमा नआउनुहोस् । फिल्म बुझेर मात्र यसमा लगानी गर्नुहोस् ।

अहिले बजारले के मागेको छ ? एउटै ढर्राको फिल्म बनिरहेको जस्तो लाग्दैन ?

फिल्म नचल्ने भनेको नराम्रो भएकै कारण हो । अपवादबाहेक । यसो भन्दैमा मैले भयानक फिल्म बनाएको छु भन्ने पनि होइन । अरूले झुर फिल्म बनाएको भन्ने पनि होइन । बुझ्नुपर्ने कुरा के भने, एउटा मान्छे फिल्म हेर्न जाँदा टिकट र खाजासहित कम्तीमा एक हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछि दुई–तीन घण्टा हलभित्र थुनेर राख्नुहुन्छ । त्यो अवधि झेल्न सक्ने र खर्च गरेको पैसा असुल हुन सक्ने फिल्म बनाउनुपर्छ ।

तर, हामीकहाँ के भइरहेको छ भने दर्शकको एक हजार रुपैयाँ पनि खर्च भएको छ, दुई घण्टा टर्चर पनि भइरहेको छ ।

म भयानक मेकर हो, बबाल फिल्म बनाउँछु भनेरै सबैले बनाउने हो । तर, त्यो फिल्म हेर्नलायक बन्यो कि बनेन ? दर्शकले त्यसमा निर्णायक भूमिका खेल्छन् । मैले के बुझें भने हाम्रो समाजमा भइरहेका कथालाई टिपेर सरल ढङ्गले प्रस्तुत गर्न सकियो भने दर्शकले फिल्म मन पराउँछन् । नेपाली दर्शकहरू एकदमै सजिला र मायालु छन् । यो हाम्रो सौभाग्य हो ।

फिल्म निर्माण गर्नु जुवा खेल्नु सरह भन्छन्, कसरी लाग्नुभयो यो क्षेत्रमा ?

मैले फिल्म क्षेत्रमा काम गर्न थालेको सन् २०१३ देखि हो । सुरु–सुरुमा म लहलहैमा आएँ । एकजना भाइले अफर गर्‍यो । थकाली खाना खाने ठाउँबाटै सुरु भएको हो मेरो फिल्म यात्रा । थकाली खाना खाइरहेको बेला एकजना भाइले ‘ल, दाइसँग छ भने अलिअलि पैसा हालिदिनुपर्‍यो, हामी फिल्म बनाउनेछौँ’ भन्यो ।

त्यो बेला अलि कम बजेटमै फिल्म बन्थे । ३०–४० लाखमा बन्थे । अनि हुन्छ नि त भनेर मैले अलिअलि पैसा हालिदिएँ । त्यहीँबाट सुरु भएको हो मेरो यात्रा ।

सुरुमा चाहिँ कति लगानीबाट फिल्म क्षेत्रमा हात हाल्नुभयो ?

सुरुमा मैले पाँच लाख लगानीबाट यस क्षेत्रमा हात हालेँ । त्यति नै पैसा हाल्ने भनेर सुरु गरेको थिएँ । तर, पछि त्यो छाडेर अर्को फिल्ममा लगानी गरेँ । निर्देशक परिवर्तन भए, कलाकार परिवर्तन भए । हुँदाहुँदै त्यो पूरै फिल्म मैले हेर्नुपर्ने भयो । यसरी त्यसबेला ४२ लाख रुपैयाँ लगानी भयो ।

त्यसबेलाका दर्शक र अहिलेका दर्शकमा के परिवर्तन पाउनुभयो ?

९० को दशकलाई फिल्मको गोल्डेन युग भनिन्छ । त्यसबेला फिल्ममा, गीतमा आत्मा हुन्थ्यो । मैले फिल्म हेर्ने उमेरमा फिल्ममा आत्मा हुन्थ्यो । वास्तविक कथाहरू हुन्थे, समाजको सजीव चित्रण हुन्थ्यो ।

अहिलेका फिल्महरू आवरणमा चिटिक्क हुन्छन्, तर आत्मा हुँदैन । अहिलेका फिल्म रोबोटजस्ता भए ।

रोबोटलाई जतिसुकै राम्रो बनाइदिए पनि त्यसमा आत्मा हुँदैन । मानवीय मूल्य र चेतना हुँदैन । उसको शरीरमा रक्तसञ्चार हुँदैन ।

हामी रोबोट बनाइरहेका छौँ । दर्शकले चाहिँ आत्मासहितको मान्छे खोजिरहेका छन् ।

दर्शकले कस्तो फिल्म रुचाउँछन् ?

यो भनेको हामीले हलिउड, बलिउडको नक्कल गर्ने होइन । आफ्नोपनको फिल्म बनाउनुपर्छ । किनभने हामी उनीहरूसँग प्रविधि र बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । हामीले सक्ने भनेको हाम्रो मौलिक कथालाई टिपेर रचनात्मक ढङ्गले प्रस्तुत गर्ने हो । यहाँ हामीसँग जुन कथा छ, त्यो उनीहरूसँग छैन । कथा बलियो हुनुपर्छ । त्यसलाई उत्तिकै राम्ररी पटकथामा ढाल्नुपर्छ । र, पटकथालाई एकदमै सशक्त ढङ्गले फिल्ममा उतार्नुपर्छ ।

हामी आत्मामा होइन, आवरणमा बढी तल्लीन भयौँ । तडकभडक भयो, कस्मेटिक कुरा भयो, साउन्ड भयो, तर फिल्मको आत्मा भएन । नेपाली दर्शकले सामान्य तर सुन्दर फिल्म खोज्छन्, त्यही दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?