नविन अर्याल
१५ पुस, काठमाडौं । विदेशी लगानीका लागि सन् २०१४ निकै सुखद बनेको छ । यस वर्ष विदेशी लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर आएको छ ।
उद्योग विभागका अनुसार छिमेकी मुलुक भारत, चीनलगायत विभिन्न मुलुकबाट यस वर्ष ४४ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । जुन अघिल्लो वर्षको तुलनामा साढे २० अर्ब रुपैयाँले बढी हो । अघिल्लो वर्ष २४ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ लगानीका लागि प्रस्ताव आएको थियो ।
खासगरी सन् २०१४ भारतीय लगानीका लागि सुखद वर्ष बनेको हो । यस अवधिमा भारतबाटमात्र ३४ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ लगानीका लागि प्रस्ताव आएको छ । जुन कुल लगानी प्रस्तावको ८६.१८ प्रतिशत हुन आउँछ ।
सन् २०१३ र ०१४ अाएको विदेशी लगानीको तुलनात्मक अवस्था
दोस्रो स्थानमा रहेको चीनबाट जम्मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । भारत र चीन नेपालमा आफ्नो प्रभाव बढी देखाउन कसरतमा लागेका देश हुन् । नेपालमा गरिने लगानी तथा अन्य आर्थिक कृयाकलापमा उनीहरु आफु अगाडि हुन चाहान्छन् ।
चीनको तुलनामा भारतको सात गुणा बढी
तर, २०१४ मा भने भारतबाट चीनको तुलनामा ७ गुणाभन्दा बढी विदेशी लगानी नेपाल भित्रिने भएको छ । अघिल्लो वर्ष पनि लगानीका हिसावले भारत अगाडि नै भएपनि झिनो अन्तरको फरक थियो ।
भारतसँग गरिएको दुई पक्षिय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (विप्पा)ले पनि भारतीय लगानीकर्ताको नेपाल हेर्ने दृष्टिकोणमा फरक आएको बताउँछन् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार, चिरञ्जीवी नेपाल । यद्यपि भारतसँगको विप्पा भने अझै कार्यान्वयनमा आउन सकेको छैन् । २०६८ कत्तिकमा गरेको विप्पा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।
भारतीय लगानी
भारतबाट खासगरी उर्जा, उत्पादनमुलक, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार उर्जामा ३३ अर्ब ६८ करोड ५२ लाख रुपैयाँ, उत्पादनमुलकमा ७१ करोड ९८ लाख, खनिजमा २ करोड, सेवा क्षेत्रमा ३८ करोड २८ लाख र पर्यटनमा एक करोड ७० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
भारतबाट २० परियोजनामार्फत आउन लागेको उक्त लगानीबाट ६ सय ७९ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।
चिनियाँ लगानी
चीनबाट कृषि तथा वन, निर्माण, उर्जा, उत्पादनमुलक, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव आएको छ । चीनबाट सबैभन्दा बढी पर्यटन क्षेत्रमा ९३ करोड ७५ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ भने सेवा, उत्पादनमुलक र कृषि तथा वनजन्य परियोजनामा क्रमशः ९२ करोड ८५ लाख, ६८ करोड र ६२ करोड ९५ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
अन्य मुलुकहरु
भारत र चीनको अलवा नेपालमा २०१४ सालमा टर्कीबाट एक अर्ब ५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ भने कुक आइल्यान्डबाट ६६ करोड ६६ लाख रुपैयाँ, अमेरिकाबाट ५४ करोड ९७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
यसको अलवा बंगलादेश, डेनमार्क, जर्मनी, जापान, मलेसिया, रसिया, सिंगापुर, साउथ कोरिया, बेलायत लगायत ४२ मुलुकबाट पनि लगानीको प्रस्ताव आएको विभागले जनाएको छ ।
कुन परियोजनामा कति लगानी ?
अाकार | परियोजना संख्या | लगानी (रू. दश लाखमा) | रोजगारी संख्या |
---|---|---|---|
ठूलो | ११ | ३७,०६५.९० | ९९३ |
मध्यम | २६ | २,४०७.८५ | १,२३९ |
साना | ३०४ | ५,३४२.६१ | ९,९२५ |
जम्मा | ३४१ | ४४,८१६.३७ | १२,१५७ |
यस अविधमा ठूला ११ परियाोजनामार्फत ३७ अर्ब ६ करोड, ५९ लाख रूपैयाँ विदेशी लगानी प्रस्ताव अाएको छ । जसबाट ९ सय ९३ जनालार्इ रोजगारी उपलब्ध गराउने प्रतिवद्धता जनाइएको छ । त्यस्तै, मध्यम स्तरका परियोजनामा २ अर्ब ४० करोड ७८ लाख रूपैयाँ लगानीको प्रस्ताव उद्योग विभागमा अाएको छ । २६ वटा मध्यमस्तरीय परियोजनाबाट १ हजार २ सय ३९ जनाले रोजगारी पाउने छन् ।
साना परियोजनामा ५ अर्ब ३४ करोड २६ लाख रूपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ । साना ३ सय ४ परियोजना मार्फत ९ हजार ९ सय २५ जनालार्इ राेजगारी दिइने छ ।
रोजगारी संख्या घट्यो
उद्योग विभागका अनुसार यस वर्ष लगानी तथा परियोजनाको संख्या बढेपनि रोजगारीको संख्या भने घटेको छ । अघिल्लो वर्ष २ सय ८२ परियोजना मार्फत १४ हजार २ सय ९३ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएकोमा यस वर्ष ३ सय ४१ परियोजनामार्फत १२ हजार १ सय ५७ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।
परियोजनागत लगानी अवस्था
२०१४ मा सबैभन्दा बढी लगानी उर्जा क्षेत्रमा आएको छ । यो लगानी भारतबाट एउटै परियोजनामार्फत भित्रिन लागेको हो । उर्जामा ३४ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । अघिल्लो वर्ष उर्जामा १० अर्ब ८० करोड ८२ लाख रुपैयाँमात्र लगानी प्रस्ताव आएको थियो ।
त्यसैगरि, सेवा क्षेत्रमा यस वर्ष लगानी प्रतिवद्धता घटेको छ । अघिल्लो वर्ष ५ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको सेवा क्षेत्रमा यस वर्ष ४ अर्ब १३ करोड ७५ लाख रुपैयाँ मात्र लगानी प्रस्ताव आएको छ ।
सन् २०१३ र ०१४ अाएको विदेशी लगानी प्रतिवद्धता
लगानीका क्षेत्रहरू | सन् २०१३ (रू. दश लाखमा) | सन् २०१४ (रू. दश लाखमा) |
---|---|---|
कृषि तथा वन | 1,255.01 | 884.68 |
निर्माण | 100.00 | 100.00 |
उर्जा | 10,808.23 | 34,714.90 |
उत्पादनमुलक | 2,913.48 | 1,938.49 |
खनिज | 93.41 | 340.00 |
सेवा | 5,884.64 | 4,137.53 |
पर्यटन | 3,443.05 | 2,700.76 |
जम्मा | 24,497.83 | 44,816.37 |
पर्यटनमा पनि विदेशी लगानी प्रतिवद्धता घटेको उद्योग विभागले जनाएको छ । यस वर्ष पर्यटनमा २ अर्ब ७० करोड लगानी प्रस्ताव आएको छ । जबकी अघिल्लो वर्ष सेवा क्षेत्रमा ३ अर्ब ४४ करोड ३० लाख रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
उद्योग विभागको तथ्यांकमा उत्पानमुलक र कृषि तथा वनजन्य उद्योगमा पनि लगानी प्रतिवद्धता घटेको देखिन्छ । त्यस्तै, निर्माण क्षेत्रमा कुनै घटबढ भएको छैन, खनिज क्षेत्रमा भने लगानी बढेको देखिन्छ ।