१७ चैत, विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थिति त्यागेर संविधान निर्माणमा लाग्न सुझाव दिएका छन् । जनताको अभिमतलाई सम्मान गर्दै छिटो संविधान जारी गर्ने काममा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
‘निर्वाचनको माध्यमबाट जनताले संविधान लेख्न पठाएका एमाओवादीसहितका दलले सडकमा लठ्ठी, खुकुरी बोकेर उत्रेर के गर्न खोजेको हो ?’ प्रेस चौतारी मोरङले मंगलबार विहान विराटनगरमा आयोजित पत्रकार भेटघाटमा पोख्रेलले प्रश्न गरे ।
संक्रमणकालको पीडा र असहजता मुलुकले अब धान्न नसक्ने भन्दै उनले सबै लोकतान्त्रिक शक्तिलाई संविधान लेख्ने कार्यमा अग्रसर हुन आह्वान गरे ।
जातीय पहिचानको नाममा सिधा-साधा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न नगराउन उनले एमाओवादी सहितको ३० दलीय मोर्चालाई सुझाव दिए । बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधान बनाउनुपर्नेमा उनले जोड दिए ।