१० जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि आइतबार खुलेको सेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएन । तीस दिनपछि खुलेको शेयर बजार ओरालो लागेको छ ।
बजार ओरालो लागेपछि नेप्से परिसूचक २८.३७ अंकले घटेर ९०९.८२ अंकमा झरेको छ । आइतबार नेप्सेमा कारोबार गर्ने ३५ वटा कम्पनीमध्ये ३० कम्पनीको शेयर मूल्य घटेको छ ।
तीन कम्पनीको शेयर मूल्यमा कुनै घटबढ भएको छैन भने मनास्लु विकास बैंकको २० रुपैयाँ र नारायणी नेशनल कम्पनी लिमिटेड प्रमोटर शेयर मूल्य २ रुपैयाँ बढेको छ ।
आइतबार नेप्सेमा ११ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको ५ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ ।
सबैभन्दा बढी जलविद्यूतका लगानीकर्ताले गुमाउन पुगेका छन् । इन्स्योरेन्सका लगानीकर्ताले पनि आइतबार धेरै गुमाउन पुगे । कारोबार भएका कम्पनीमध्ये फाइनान्सका लगानीकर्ताले सबैभन्दा कम गुमाएका छन् ।
आइतबार होटल तथा उत्पादनमूलक कम्पनीको कारोबार भएन । समूहगत कारोबार हेर्दा बैंकिङ समूहको सूचक १९.०२ अंकले घटेको छ भने विकास बैंक समूहको २.७, जलविद्युतको १५१.७८, फाइनान्स समूहको १.४६, इन्स्योरेन्स समूहको १३८.१४ र अन्य समूहको ६४.६१ अंकले घटेको छ ।
आइतबार प्रभु बैंकको प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भयो । बजार खुलेकै दिन ६ करोड २१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ ।
नबिल समृद्धि फन्ड वानको ७६ हजार कित्ता शेयर किनबेच भयो भने नारायणी नेशनल कम्पनी लिमिटेड प्रमोटर शेयर ३० हजार कित्ता, एनएमबि सुलभव इन्भेष्टमेन्ट फण्ड वानको २८ हजार ४ सय ३० कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर १५ हजार ९ सय २१ कित्ता किनबेच भएको छ ।
कसले कति गुमाए
आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ४१० रुपैयाँ घटेर ३ हजार ६ सय ९१ रुपैयाँमा किनबेच हुन पुग्यो । ५२ लाख २१ हजार रुपैयाँ बराबरको १ हजार ३५७ कित्ता शेयर किनबेच भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयरका लगानीकर्ताले पनि धेरै गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य २४६ रुपैयाँ घटेर २ हजार २ सय २२ रुपैयाँमा झरेको छ ।
एभरेष्ट बैंकको शेयर मूल्य २१३ रुपैयाँ घटेर १ हजार ९२० रुपैयाँमा किनबेच भएको छ । एभरेष्ट बैंकको आइतबार जम्मा ११० कित्तामात्र शेयर किनबेच भएको थियो ।
चिलिमे हाइड्रो पावर कम्पनीको शेयर १५९ रुपैयाँ घटेर १ हजार ४३४ रुपैयाँ, नबिल बैंक प्रमोटर शेयर १३२ रुपैयाँ घटेर १ हजार १९३ रुपैयाँ, नागवेली लघुवित्त विकास बैंकको १९० रुपैयाँ घटेर १ हजार ७१० रुपैयाँ, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १५० रुपैयाँ घटेर १ हजार ३ सय ५१ रुपैयाँमा किनबेच भयो ।
यसैगरी एगि्रकल्चर डेभलपमेन्ट बैंकको ४० रुपैयाँ, अरुण् भ्याली हाइड्रोपावर कम्पनीको २४ रुपैयाँ, बैंक अफर काठमाडौंको १०४ रुपैयाँ, चिलिमे हाइड्रोपावरको १५९ रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंको ४७ रुपैयाँ, नबिल बैंक लिमिटेड प्रमोटर शेयर १३२ रुपैयाँ घटेको छ ।
नेपाल बंगलादेश बैंकको ४५ रुपैयाँ, नेपाल बैंकको २९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर ४९ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनीको ५५ रुपैयाँ, प्रभु बैंकको ३४ रुपैयाँ, सनराइज बैंकको ४० रुपैयाँ घटेको छ ।