केहीदिन अघि मात्र भारतको महाराष्ट्र पुलिसले महिलामाथि गालीगलौज गरेको आरोपमा एक सुगालाई पक्राउ गरेर जेलमा हालेको थियो । जनावरमाथि धावा बोल्ने क्रममा पुलिसले बाख्रालाई पक्राउ गरेर हिरासतमा राखेको खबर अहिले भाइरल बनेको छ ।
खबर अनुसार महाराष्ट्रको परभनी जिल्लाका हिदायत खान नाम गरेका किसानले पालेको बाख्रोको विषयमा मालिक आफैले उजुरी गरेपछि प्रहरीले बाख्रोलाई समेत खोजी गरी नियन्त्रणमा लिएको हो । उक्त बाख्रोलाई हालै ३ जना चोर मिलेर चोरी गरेका थिए ।
प्रहरीले बाख्रा चोर्ने मध्येका एक नसीम खानलाई पक्राउ गरेको छ । उनीसँगै फेला परेको बाख्रालाई पनि अहिले पुलिस हिरासतमै राखिएको छ ।
हिरासतभित्र राखिएको बाख्राको तस्वीर इन्टरनेटमा राखिएपछि त्यो भाइरल बन्यो । अन्ततः पुलिस त्यो बाख्रोलाई बाहिर निकाल्न बाध्य भयो ।
पुलिसका अनुसार उक्त बाख्रोलाई अनुसन्धानका क्रममा केवल २२ मिनेटमात्र हिरासतमा राखिएको थियो । अब अदालती आदेश पछि उक्त बाख्रो उसको मालिकलाई हस्तान्तरण गरिनेछ ।