+
+

विमानस्थल भन्सारमा कर्मचारी शून्य, ३० जनालाई स्पष्टीकरण सोधियो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ७:१८

१३ भदौ, काठमाडौं । भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए । सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए । विमान बिहान ६ बजेर २० मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो ।

TIA Airport (7)
यात्रुहरू अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन् । वाक थ्रु, एक्सरे मेसिन पनि चलेका थिएनन् । ‘सबै यात्रु भन्सार जाँचपास नगराई विमानस्थलबाट निस्केका थिए,’ सुरक्षा सम्बद्ध अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे ७ बजेसम्म एकजनामात्र कर्मचारी थिए ।’ सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङ्फस्याङ गर्दै पुगेको अन्नपूर्ण पोस्टमा खबर छ ।

वाकथु्र, एक्सरेमार्फत राजस्वको मात्र हैन सुरक्षाका दृष्टिकोणले समेत चेकजाँच गर्ने काम विमानस्थल भन्सारको हुन्छ । कसैले हतियार, विस्फोटक पदार्थ ल्याउन खोजेको रहेछ भने पनि पत्ता लगाउने भन्सारले हो । ‘यस्तो संवेदनशील कुरामा भन्सार कर्मचारी संवेदना शून्य देखिए,’ सुरक्षा अधिकारीले भने ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कर्मचारीको चरम हेलचेक्र्याइँ देखिएको स्वीकार्दै सम्बद्ध सबै कर्मचारीलाई सचेत गराउनुका साथै स्पष्टीकरण सोधिएको बताए । भन्सार अधिकृतद्वय परशुराम दाहाल र राजनबाबु काफ्लेसहित ३० जनालाई स्पष्टीकरण सोधिएको छ ।

विमानस्थलमा प्रमुख भन्सार अधिकृत (उपसचिव) नेतृत्वमा भन्सारको टोली परिचालित हुन्छ । यात्रुको बढी चाप हुने बेलामा २५–३० जना कर्मचारी परिचालित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?