Comments Add Comment

मधेसलाई चिढ्याउँदा डरलाग्दो स्थिति आउन सक्छ

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसको समस्यालाई हल्कारुपमा नलिन र हिंसा देखा पर्‍यो भन्दै जनतामाथि दमन नगर्न तीन दलका नेतालाई आग्रह गरेका छन् ।

मधेस समस्याबारे राप्रपा अध्यक्ष थापाको विश्लेषण यस्तो छ :
kamal thapa

मधेस समस्याको सम्बोधन समयको अभावका कारण तत्काल हुने स्थिति थिएन । यद्यपि हामीले केही समय पर सारेर भए पनि पहिला मधेस समस्याको समाधान गरेर मात्रै प्रक्रियालाई अघि बढाउँदा बेस हुन्छ भनेर धारणा राखेका थियौं ।

तर, उहाँहरुका केही बाध्यता थिए होलान्, जसले प्रक्रिया रोक्न तयार हुनभएन । तर, त्यो समस्यालाई सकारात्मक ढंगबाट समाधान गर्ने प्रतिवद्धता उहाँहरुले व्यक्त गर्नुभएको छ । अब हेरौं, संविधान निर्माण भएपछि कसरी सम्बोधन गर्नुहुन्छ ।

हामीले देखेको संकट भनेको जुन किसिमबाट मधेसकेन्दि्रत दलहरु अलग भए, यो संख्याको कुरा होइन, जातीय, क्षेत्रीय प्रतिनिधित्वको सवालमा त्यो अत्यन्त महत्वपूर्ण सवाल हो । मधेसी मोर्चा आन्दोलनको प्रमुख सहयात्री पनि हो । त्यसलाई अलग गरेर संविधान निर्माण गर्दा स्वभाविकरुपमा द्वन्द्वको बिउ बाँकी रहेको छ ।

हो, मधेस आन्दोलनका क्रममा जुन किसिमका हिंसात्मक गतिविधिहरु भए, त्यो अत्यन्तै निन्दनीय छ । यसलाई कुनै पनि शब्दमा ठीक भयो भन्न सकिँदैन । यो जघन्य अपराध नै हो । त्यसैगरी साम्प्रदायिक भावना बढाउने काम भएको छ, यो पनि गलत छ । राष्ट्र विखण्डनको कुरा पनि उठ्न थालेको छ, त्यो पनि नितान्त गलत छ ।

एक-एक वर्षसम्म मोर्चा बनाएर सहकार्य गर्ने र आफ्नो कुरा टुंगिएपछि यो किसिमको हठ नलिन म कांग्रेस, एमाले र एमाओवादीलाई आग्रह गर्छु

तर, उनीहरुले उठाएका जायज मागहरुलाई पूर्णत उपेक्षा गरेर अब हिंसा देखापर्‍यो भनेर, दमन गर्नुपर्छ भनेर हिजोको आफ्नो अकर्मन्यतालाई ढाकछोप गर्नु गलत हो ।

एक-एक वर्षसम्म मोर्चा बनाएर सहकार्य गर्ने र आफ्नो कुरा टुंगिएपछि यो किसिमको हठ नलिन म कांग्रेस, एमाले र एमाओवादीलाई आग्रह गर्छु ।

म विगतको अनुभवका आधारमा भनिरहेको छु, विगतमा माओवादी हिंत्सामक जनयुद्धमै थियो । त्यसलाई त दमनबाट पराजित गर्न सक्ने अवस्था रहेन भने अहिले त त्यो स्थितिमा मधेस आन्दोलन छैन । तर, तपाईले चिढ्याउँदै जानुभयो भने अन्त्यन्तै डरलाग्दो स्थिति आउन सक्छ । यसलाई केवल हिजो आफूले उठाउने र अहिले सम्हाल्न नसकेपछि त्यसलाई अपराधिक भनेर दमन गर्नुहुँदैन । यो आत्मघाती काम हुन्छ ।

म फेरि पनि भन्छु । विगतका सबै कुरा कोट्याउन चाहन्न । तर, विगतको कालखण्डमा सत्तामा रहेका व्यक्तिहरुबाट हठ प्रदर्शन हुँदा धेरै ठूलो नोक्सान भएको हाम्रो नजिकको उदाहरण छ । त्यो हठ दोहोर्‍याएर सजिलैसँग समाधान गर्न सक्ने परिस्थितिलाई जटिल बनाउने काम गर्नुहुँदैन ।

मधेसको समस्या सामान्य होइन । अहिले समाधान गर्न सक्ने स्थितिमा छ । तर, असामान्य हुन सक्छ । दमन गर्ने काम गर्‍यौं भने त्यहाँभित्र अहिले सुसुप्त र कमजोर अवस्थामा रहेकाहरुले धेरै ठूलो आफ्नो स्वार्थ लाद्न सक्छन् । यो कुरा कांग्रेस एमालेले बुझ्नुपर्ने हो ।

अर्को पनि के देखियो भने त्यो आन्दोलनको पछाडि कहीँ कतै बाहृय शक्तिको चलखेलका सम्भावनाहरु देखा पर्न थाले । प्रत्यक्षरुपमा नभए पनि परोक्षरुपमा त्यसका सम्भावनाहरु देखा पर्न थालेको स्थितिमा परिथिति यदि बिग्रँदै गयो भने यो डरलाग्दो हुनसक्छ भन्ने हामीले आंकलन गरेका हौं ।

किनभने पहिले नै सीके राउत जस्ता विखण्डनकारी शक्तिहरु देखापरेको अवस्था छ । दोस्रो, केही जिम्मेवार मधेसका नेताहरुबाट प्रदेशको हाम्रो माग सम्बोधन भएन भने हामी देश टुक्राउन सक्ने अवस्थामा पुर्‍याउन सक्छौं भन्नेजस्ता अभिव्यक्ति आए । तेस्रो, आन्दोलनका क्रममा हिंसात्मक प्रवृत्ति देखा पर्न थाले ।

यी सबै कारणले गर्दा अलिकति पनि हामीले विवेक पुर्‍याएनौं भने यो आगोको फिलुंगो डढेलोजस्तो लागेर देश बर्बाद हुन सक्ने खतरा टड्कारो रुपमा देखेकै हो र त्यो अहिले पनि कायमै छ । यो समस्या समाधान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment