८ असोज, काठमाडौं । संधिवानसभामा हुने थप कामका लागि कर्मचारीलाई दिइएको अतिरिक्त प्रोत्साहन भत्ता संविधानसभा विघटन भएपछि पनि कायमै राखिएको छ ।
व्यवस्थापिका संसदको उच्च निकाय ‘सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति’को बुधबार बसेको बैठकले सचिवालयका कर्मचारीलाई दिइँदै आएको भत्ता कायमै राख्ने निर्णय गरेको सचिवालय स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ ।
‘सचिवालयका तर्फबाट व्यवस्थापन समिति बैठकमा प्रोत्साहन भत्तालाई निरन्तरता दिने प्रस्ताव गरिएको हो, स्रोतले भन्यो, ‘संविधानसभा त सकियो तर, हामी सबैको मेहनतले संविधान बन्यो ठीकै छ निरन्तर दिउँ, भनेर सभामुख सुवासचन्द्र नेम्बाङले स्वीकृति दिनुभयो । त्यसपछि सबैले समर्थन जनाए ।’ सभामुखको अध्यक्षतामा रहेको व्यवस्थापन समितिमा उपसभामुख ओनसरी घर्ती, महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्द शर्मा सदस्य छन् ।
संसद सचिवालयका कर्मचारीले अहिले तलबको ८० प्रतिशत अतिरिक्त भत्ता र दैनिक ६ सय रुपैयाँका दरले खाजा खर्च पाउँदै आएका छन् । शनिबार हाजिर गर्ने कर्मचारीले सात सय ५० रुपैयाँ खाजा खर्च पाउने गरेका छन् ।

प्रतिक्रिया 4