लण्डन । चर्चित अभिनेत्री तथा गोरखा आन्दोलनकी प्रवर्तक जोआना लुम्लेले गोरखा स्मारक शालिकको अनावरण गरेकी छिन ।
गोरखा मेमोरिअल फन्डले विभिन्न देशमा बहादुरी प्रदर्शनका क्रमामा ४६ हजार भन्दा बढी मृत गोरखा सैनिकको सम्झनामा बनाएको शालिकको बेलायतको फोकस्टोनस्थित स्याण्डगेट रोडमा अवस्थित स्मृति बगैंचामा अनावरण गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, ब्रिगेड अफ गोर्खाजका उच्च अधिकारी, हाउन्स्लोव काउन्सिलका उपमेयर बिष्णु गुरुङ , स्थानीय मेयरसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रमा नेपाली जातीय संघसंस्थाहरुले च्याब्रुङग, साकेला, खुकुरी नाच लगायतका नेपाली सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
कलाकार रिबेका हकिन्सले डिजाइन तथा निर्माण गरेकी, तामा प्रयोग भएको यो शालिकको निर्माणमा झन्डै ७० हजार पाउण्ड खर्च भएको छ । उक्त रकम पूर्व काउन्सिलर धन गुरुङ र लिबरल डेमोक्र्याट पार्टीका नेत्री लिन ब्यूमन्ट क्यारोल, निर्माण समिति लगायतको सक्रियतामा स्थानीय अंग्रेज र गोर्खालीहरुबाट उठेको हो । शालिकको उचाई १२ फिट र तौल ८ टन रहेको छ ।
कार्यक्रमको संयोजन अध्यक्ष फोकस्टोन गोरखा मेमोरिअल फन्डका धन गुरुङले गरेका थिए । गुरुङ बेलायतमा पहिलो नेपाली निर्वाचित काउन्सिलर हुन् । उनी सन् २००७ मा चेरिटन वार्डबाट फोकस्टोन टाउनमा काउन्सिलर पदमा निर्वाचित भएका थिए ।
निर्माण समितिमा काउन्सिलर गुरुङ, श्रीमति क्यारोल, टिम पार्टर, गोपाल गिरी र विश्वासदीप तिगेला औपचारिक रुपबाट रहे पनि प्रत्येक्ष अप्रत्यक्ष धेरै नेपाली र अंग्रेजहरुको संलग्नता रहेको छ ।
प्रतिक्रिया 4