२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलहरुलाई समेटेर नौ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । ओली मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री छन् ।
नवनिर्वाचित प्रधानमन्त्री ओलीले सोमबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएका छन् ।
सपथको क्रममा राष्ट्रपति डा. यादवले इश्वर र जनताको नाममा भनेपछि प्रधानमन्त्री ओलीले देश र जनताको नाममा भन्दै सपथ लिएका हुन् । संसद्को आइतबार भएको निर्वाचनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
लगतै सत्ता साझेदार दलहरूलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषद्को उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात र राप्रपा नेपालका अध्यक्ष थापा उपप्रधान एवं परराष्ट्रमन्त्रालय सम्हाल्नेछन् ।
नयाँ मन्त्रीहरुमा एमालेबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, एमाओवादीबाट हरिबाल गजुरेल र राप्रपा नेपालबाट रामकुमार सुब्बा छन् । खरेलले कानून, पाण्डेले उद्योग, गजुरेलले कृषि मन्त्रालय सम्हालेका छन् । मण्डल र सुब्बाको विभागीय जिम्मेवारी तोकिएको छैन ।
गृह, अर्थ, सञ्चार लगायतका महत्वपूर्ण मन्त्रालयहरुमा अझै मन्त्री नियुक्त भएको छैन । एमालेबाट विष्णु पौडेलले अर्थमन्त्रीका रुपमा सपथ लिने बताइएपनि अन्तिममा आएर रोकिएको छ ।
गृह मन्त्रालय सत्ता साझेदार एमाओवादीको भागमा परेको छ । उसले अहिले एक जना मात्र मन्त्री पठाएको छ र थप गृह कार्य गरेर मात्र मन्त्रीहरु पठाउने बताएको छ । राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका साथै केही साना दलहरुबाट पनि मन्त्री थपिनेछ ।
मेघराज नेपाली राज्यमन्त्री
प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका मेघराज नेपाली निषादलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
लामो समयदेखि विरामी रहेका उनले त्यस्तै अवस्थामा संसदमा उपस्थित भएर ओलीलाई भोट हालेका थिए । उनलाई कुनै विभागीय जिम्मेवारी दिइएको छैन् ।
प्रतिक्रिया 4