+
+

आइएमइ समूहले दियो १०० विद्यार्थीलार्इ १० लाख छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २८ गते १५:४५

२८ असोज, काठमाडौं । ‘आइएमई-ग्लोबल आइएमई आकंक्षा छात्रवृत्ति’को नतिजा बिहीबार सार्वजनिक भएको छ । आइएमई तथा ग्लोबल आइएमई बैंकले हिसान तथा प्याब्सनसँगको सहकार्यमा छात्रवृत्तिको घोषणा गरेको हो ।

imeसंस्थाले एक वर्षमा  १० लाख रूपैयाँ छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।  जसअनुसार एक जना विद्यार्थीले एक शैक्षिक सत्रमा १० हजार रूपैयाँ छात्रवृत्ति पाउने छन् ।

छात्रवृत्तिका लागि देशभरबाट २ हजार ६० जना विद्यार्थीले आवेदन दिएकोमा १ हजार ८ सय ४७ जनाको आवेदन सदर भएको थियो । गत असार २० गतेदेखि साउन मसन्तसम्म आवेदन संकलन गरिएको थियो । आवेदनबाट गरिब, जेहेन्दार, भूकम्प प्रभावित र मेहेनति ठहरिएका कक्षा १ देखि ११ सम्म अध्ययनरत १ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको   हो ।

‘नयाँ शैक्षिक सत्रको सुरूदेखि नै यो कार्यक्रम सुरू गर्ने योजना थियो तर भूकम्पका कारण ढिला भएको हो ‘ अाइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले भने- संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्यक्रम ल्याउन पाउँदा खुसी लागेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलार्इ अध्ययनका लागि प्रोत्साहन गर्ने उदेश्यले यो छात्रवृत्ति योजना ल्याएको उनले जानकारी दिए । उनले अन्य संस्थाहरूले पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अाइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले १४ अञ्चलकै विद्यार्थीहरूलार्इ समानुपातिक र समावेसी अाधारमा छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । छात्रवृत्ति पाउनेहरूको नामावलीसहतिको सूचना शुक्रबारको गोरखापत्रमा निकालिने पोखरेलले बताए ।

ग्लोबल अाइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावालीले समूहको डेढ वर्ष अघिदेखिको योजना सफल भएको सुनाए । १० लाख रूपैयाँमा ५ लाख बैंकको र ५ लाख रूपैयाँ अाइएमइको रहेको उनले जानकारी दिए ।

छात्रवृत्ति छनोट समितिका संयोजक स्वागत श्रेष्ठले प्रत्येक विद्यालयको सिफारिसमा मात्रै अावेदन लिइएको र छनोट प्रक्रिया पारदर्शी, समावेसी र समानुपातिक रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?