१ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नो भागमा परेका ८ मन्त्रालयमध्ये ७ जना प्रत्यक्ष निर्वाचित सांसदहरुलाई पठाउने निर्णय गरेको छ । महिलाका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने एकजनामात्रै समानुपातिक तर्फबाट छानिएकी छिन् ।

मन्त्री बन्ने ८ जना भाग्यमानीमध्ये मधेसी, महिला र जनजाति समुदायबाट एक/एकजना परेका छन् भने क्षेत्रीबाहुन तथा खस समुदायको बाहुल्य देखिएको छ ।
जातीइ सन्तुलनको हिसाबले एमाओवादीको टीम उतिसाह्रो सन्तुलित देखिन सकेको छैन । प्रभु साह लगायतका नेताहरु छुटेकाले मधेसको प्रतिनिधित्व कमजोर देखिएको छ भने दलित एकजना पनि दलित परेका छैनन् ।
क्षेत्रीय सन्तुलनको हिसाबले हेर्दा भेरीदेखि सप्तरी र मोरङसम्मको प्रतिनिधित्व देखिएको छ । तर, सुदुर पूर्वको मेची सुदुर पश्चिमको महाकालीको प्रतिनिधित्व हुन सकेको छैन ।
थोरै संख्यामा मन्त्री बनाउनुपरेकाले पनि पार्टीले सबैलाई समेट्न नसकेको हुन सक्छ । अब केही राज्यमन्त्री थप्दा एमाओवादीले सन्तुलन मिलाउने नेताहरुको दाबी छ ।
एमाओवादीले सरकारमा पठाएका मन्त्रीको व्यक्तिगत विवरण यस्तो छ :
टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री, उर्जा
अर्घाखाँचीको अर्घामा ०१८ सालमा जन्मिएका रायमाझीले विज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका छन् । उनका एक छोरा र एक छोरी छन् । उनकी पत्नी योगमाया रायमाझी पनि एमाओवादीको राजनीतिमा संलग्न छिन् ।
पार्टी सचिवको भूमिकामा रहेका रायमाझी अर्घाखाँची- १ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यसअघि स्थानीय विकास, भौतिक पूर्वाधार लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका रायमाझी एमाओवादीभित्र डा. बाबुराम भट्टराई पक्षधर नेता मानिन्छन् ।
दुई वर्ष जेल र पाँच वर्ष निर्वासनमा कटाएका रायमाझी ३० सालदेखि राजनीतिमा लागेका हुन् ।
अग्नि सापकोटा, वन
सिन्धुपाल्चोकको चौतारामा ०१४ सालदमा जन्मेका अग्नि सापकोटा एमाओवादीका स्थायी समिति सदस्य हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सदस्य हुन् ।
समाजशास्त्रमा स्नाकोत्तरसम्म अध्ययन गरेका सापकोटाका तीन छोरा छन् । राजनीतिमा प्रवेश गर्नु अघिसम्म उनी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए ।
एमाओवादीको प्रवक्ता बनेका बेला मिडियासँग राम्रो सम्बन्ध बनाएका सापकोटाले यसअघि सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गिरिराजमणि पोखरेल, शिक्षा
खोटाङमा जन्मेर मोरङको बिराटनगरमा स्थायी बसोबास गर्ने मन्त्री गिरिराजमणि पोखरेल एमाओवादीका बौद्धिक एवं कुशल संघठक मानिन्छन् । ५० वर्ष कटेका मन्त्री पोखरेल हालसम्म अविवाहित छन् ।
महोत्तरी क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित पोखरेल यसअघिसम्म एमाओवादीका प्रमुख सचेतक थिए ।
पोखरेलले योभन्दा पहिले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
पोखरेलले एमकम र बीएलसम्मको अध्ययन गरेका छन् । उनी ०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । पहिलो संविधानसभापछि एकताकेन्द्र र माओवादीवीच पार्टी एकता हुनुअघिसम्म पोखेरल नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्रमा थिए ।
शक्तिबहादुर बस्नेत, गृहमन्त्री
जाजरकोटको खलंगा-९ कालेगाउँमा ०२८ साल बैशाख १ गते जन्मेका बस्नेत गृहमन्त्रीको जिम्मेवारी पाउने भाग्यमानी ठहरिएका छन् । उनी जाजरकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् ।
माओवादी जनयुद्धमा १२ वर्ष भूमिगत रहेर काम गरेका बस्नेत एमाओवादीका प्रभावशाली युवा नेता मानिन्छन् । उनका एक छोरी र पत्नी छन् ।
बस्नेतकी पत्नी सत्या पहाडी पनि यसअघि शान्ति मन्त्री भइसकेकी व्यक्ति हुन् । बस्नेतले स्नातकसम्म अध्ययन गरेका छन् ।
हरिबोल गजुरेल, कृषिमन्त्री
यसअघि नै कृषिमन्त्रीका रुपमा सपथ-ग्रहण गरिसकेका हरिबोल गजुरेल सिन्धुली क्षेत्र नं ३ का प्रत्यक्ष निर्वाचित सभासद हुन् । २ छोरीका पिता रहेका गजुरेलले व्यवस्थापन विषयमा स्नातकसम्म अध्ययन गरेका छन् । ०३३ सालमा राजनीति थालेका उनले करिब अढाइ वर्ष जेल जीवन र ४ वर्ष निर्वासनमा बिताएका छन् । उनले १२ वर्ष भूमिगत जीवन बिताएका छन् ।
एमाओवादीको कोषाध्यक्षको समेत जिम्मेवारी निर्वाह गरिसकेका गजुरेल ०४८ सालमा तत्कालीन नेकपा मसाल छाडेर डा. बाबुराम भट्टरार्इ र टोपबहादुर रायमाझीसँगै प्रचण्ड नेतृत्वको पार्टीमा प्रवेश गरेका हुन् ।
यसअघि उनले भूमिसुधार आयोगको अध्यक्षको समेत जिम्मेवारी निभाएका थिए । पत्रपत्रिकामा लेखहरु लेखिरहने गजुरेलको ‘मार्क्सवादी दर्शन र जनयुद्ध’ नामक पुस्तक प्रकाशित छ ।
रेखा शर्मा, सामान्य प्रशासन
माओवादीले जनयुद्ध शुरु गर्दा रेखा शर्मा क्रान्तिकारी महिला संघको केन्द्रीय अध्यक्ष थिइन् ।
उनका पति कृष्णध्वज खड्का विद्यार्थी संगठनको अध्यक्ष थिए ।
शर्मा र खड्का दुबै प्रहरी हिरासतमा कठोर यातनासहित जेल परे । शर्मालाई सुरक्षाकर्मीले एक वर्षसम्म बेपत्ता पारेका थिए ।
दाङको घोराहीमा ०२६ सालमा जन्मेकी शर्मा एमाओवादीकी समानुपातिक सभासद हुन् । दुई छोरीकी आमा रेखाले बीएसम्मको अध्ययन गरेकी छिन् ।
गणेशमान पुन, वाणिज्य तथा आपूर्ति
रुकुमको प्वाङ गाविसमा ०३० सालमा जन्मेका गणेशमान पुन वाइसीएल इञ्चार्ज हुन् । पूर्वमन्त्री कमला रोकासँग विवाह गरेका पुनका दुई छोरा छन् ।
पुनले आइएसम्मको अध्ययन गरेका छन् ।
१० वर्ष भूमिगत र ४ वर्ष अर्धभूमिगत जीवन बिताएका पुन ४ वर्ष जेल परेका छन् । उनी ०४५ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।
उमेश यादव, सिँचाइ
सिँचाइ मन्त्रीको छनोटमा परेका मन्त्री उमेश यादव सप्तरी क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादी सांसद हुन् ।
०२७ साल असोज १५ गते सप्तरीको लालापट्टीमा जन्मेका यादवले स्नातकसम्म अध्ययन गरेका छन् । सात वर्ष भूमिगत जीवन बिताएका उनी पूर्वशिक्षकसमेत हुन् ।
दुई छोराका पिता रहेका उनी ०५४ सालदेखि माओवादी आन्दोलनमा लागेका हुन् ।
संविधानसभामा कुर्सी तोडफोड हुँदा सभाध्यक्ष सुवास नेम्वाङमा आक्रमण गर्न खोजेपछि यादव थप चर्चामा आएका थिए ।
उनी सप्तरी-३ मा प्रभावकारी युवा नेता मानिन्छन् ।
प्रतिक्रिया 4