+
+
Shares

लोकमानले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै अख्तियारमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १६ गते १५:००

१५ मंसिर, काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक अंगका रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुवीच अन्तरविरोध चर्किएको छ ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारीहरुलाई कारवाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाउँदै केही आयुक्तहरुले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

अख्तियारमा हाल सात जना पदाधिकारी छन् । प्रमुख आयुक्तमा लोकमानसिंह कार्की छन् भने आयुक्तहरुमा केशवप्रसाद बराल, दीपबहादुर बस्न्यात, नवीनकुमार घिमिरे, डा. गणेशराज जोशी, राजनारायण पाठक र डा. शावित्री थापा गुरुङ छन् ।

CIAA Team
आयुक्तहरुमध्ये पाठक लोकमान पक्षधर हुन् भने अन्य पाँचजना उनको कार्यशैलीप्रति असन्तुष्ट छन् । पूर्वप्रशासक एवं विज्ञ भैकनपछि आयुक्तहरु यतिबेला अख्तियारमा जिम्मेवारी विहीनजस्तै बन्नु परिररहेको स्रोतले बतायो ।

स्रोतले भन्यो- ‘सम्पत्ति शुद्धीकरण विभागका मुद्दाहरु अहिलेसम्म थाती छन्, ठुल्ठूला भ्रष्टाचारका केसहरु थन्किइरहेका छन्, भूकम्पको भ्रष्टाचार काण्डमा धेरैलाई छुट दिइएको छ, अहिले तेलका तस्करहरु बढिरहेका छन्, तर आयुक्तहरुलाई कुनै जिम्मेवारी नदिई प्रमुख आयुक्तले नै एकलौटी काम गरिरहेको स्थिति छ ।’

खड्कालाई संरक्षण गरेको आरोप

पछिल्लो समय नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको विषयलाई लिएर अख्तियारका पदाधिकारीवीच अन्तरविरोध सतहमा आएको हो । खड्काको विषयमा परेको उजुरीमाथि अख्तियारले छानविन गरिरहेको भन्दै प्रवक्ता कृष्णहरी पुस्करले पत्रकार सम्मेलन गरेकोप्रति आयुक्तहरुले नै अनभिज्ञता जनाएका छन् ।

स्रोतका अनुसार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले निगम प्रमुख खड्कालाई कारवाही वा छानविन गर्नुको साटो उल्टै उनको संरक्षण गरेको र प्रवक्ताले छानविन हुँदैछ भनेर जनतालाई ढाँटेको आयुक्तहरुको गुनासो रहेको स्रोत बताउँछ ।

‘गोपालबहादुर खड्कामाथि छानविन हुँदैछ भनेर कसैले विश्वासमा नपरे हुन्छ, अख्तियार प्रमुखले उनलाई संरक्षण गरिरहेका छन्,’ स्रोतले भन्यो, अख्तियारले आयोजना गरेको पत्रकार सम्मेलनबारे पदाधिकारीहरुलाई जानकारी नै दिइएको छैन, खड्कामाथि अख्तियारले कुनै छानविन गरिरहेकै छैन ।’

अख्तियार प्रमुखको पुरानो वानेश्वरस्थित निजी निवास ‘भ्रष्ट’हरुको अखडा बन्ने गरेको स्रोतको आरोप छ ।

स्रोतले दिएको जानकारीअनुसार अख्तियार प्रमुख लोकमानसिंहले भ्रष्टाचारसम्बन्धी ठूलाठूला केसहरु छानविन नगरी आफ्नै दराजमा थन्क्याउने गरेको, आयुक्तहरुलाई कुनै पनि जिम्मेवारी नदिई आफूखुशी काम गरिरहेको र शंकास्पद व्यक्तिहरुसँग उठबस गर्ने गरेको आयुक्तहरुको गुनासो छ । स्रोतले भन्यो, ‘प्रमुख आयुक्तको कार्यशैलीप्रति आयुक्तज्यूहरु मात्रै होइन, आयोगका सबै इमान्दार कर्मचारीहरु वाक्क दिक्क भैसकेका छन् ।’

समानान्तर सरकार चलाएको आरोप

Lokman karki-in-susasan samiti

अख्तियार प्रमुख कार्कीले सरकारी काममा ठाडो हस्तक्षेप गर्दै समानान्तर सरकार चलाइरहेको आयुक्तहरुको गुनासो छ ।

स्रोतले भन्यो- ‘उहाँले समानान्तर सरकार चलाइरहनुभएको छ, सिडियो र डीएसपीको सुरुवादेखि मन्त्री कसलाई बनाउने र हटाउने भन्नेसम्म उहाँको हस्तक्षेप भइरहेको छ । एमालेका मन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई उहाँकै इच्छाअनुसार बर्खास्त गरिएको हो ।’

लोकमानको कार्यशैलीप्रति तीव्र असहमति जनाउँदै सरकारको ध्यानाकर्षण गराउन आयुक्तहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने तयारी गरेका छन् ।

‘आयुक्तज्यूहरुले प्रधानमन्त्रीलाई भेटेर मुलुक भ्रष्टाचारको दलदलमा फसेको बारे ध्यानाकर्षण गराउने तयारी गरिरहनु भएको छ,’ स्रोतले भन्यो,’ भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रमुख नै गैरजिम्मेवार भएपछि मुलुकका कालोकजारी, तस्करी र भ्रष्टाचार चरम बन्न थालेको आयुक्तहरुको निश्कर्ष छ । यस्तै हो भने अख्तियारमा बसिरहनुभन्दा राजीनामा दिनु उचित हुनेसम्मको छलफल भइरहेको छ ।’

प्रवक्ता भन्छन्- खडका्माथि म छानविन गर्दैछु

यसैवीच अख्तियारका प्रवक्ता एवं सहसचिव कृष्णहरि पुस्करले भने प्रमुख आयुक्त र आयुक्तवीच मनमुटाव भएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

Krishna-hari-Puskar‘हामी त सामान्य कर्मचारी हौं, तर, हामीले हेर्दा उहाँहरुवीच कुनै पनि नराम्रो भएजस्तो देखिएको छैन,’ प्रवक्ता पुस्करले अनलाइनखबरसँग भने-‘सबै आयुक्तहरुज्युलाई मन्त्रालयगत जिम्मेवारी बाँडफाँड गरिएको लिखित कागज नै छ, कसैले जिम्मेवारी नपाएको भन्ने सही होइन ।’

प्रवक्ता पुस्करले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको उजुरीमाथि महाशाखाका तर्फबाट आफैले जाँचबुझ गरिरहेको अनलाइनखबरलाई बताए ।

‘मेरो महाशाखाले कागजपत्र झिकाएर खड्काका बारेमा छानविन गरिरहेको छ,’ उनले भने, ‘छानविनपछि ती कागजातहरु माथि पठाइन्छ, गल्ती गरेको भए कसैमाथि पनि माया गर्ने कुरै आउँदैन, कारवाही हुन्छ ।’

स्रोतका अनुसार निगमका गोपाल खड्काविरुद्ध परेको उजुरीको छानविन गर्ने जिम्मेवारी आयुक्त केशव बराल र डा. शावित्री थापा गुरुङको हो । तर, उनीहरुको टेबलमा अहिलेसम्म खड्काको उजुरी पुगिसकेको छैन ।

उता निगमप्रमुख खड्काले आफ्नो विरुद्धमा लागेको भन्दै आपूर्तिमन्त्री गणेशमान पुनलाई नै हटाउने चुनौती दिएको स्रोत बताउँछ । यसका लागि खड्काले प्रचण्ड र केपी ओलीसम्म कुरा पुर्‍याइसकेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?