+
+

प्रधानमन्त्रीका सल्लाहकारको प्रश्नः प्रचण्डलाई रातारात के भयो ?

ओली भनाइः यो सरकार मलाई कसैले गोदान गरेर दिएको होइन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १४:१७

Bishnu Rimal (2)

२२ वैशाख, काठमाडौं । एमाओवादीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णयपछि केपी ओली नेतृत्वको सरकार हल्लिएको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले एमाओवादीको निर्णयलाई ‘आश्चर्यजनक’ बताए ।

‘हिजो बेलुकीसम्म उहाँ सरकारको समर्थनमा बोलिरहनुभएको थियो, प्रधानमन्त्रीभन्दा अगाडि सरेर सरकारको बचाउ गर्दै हुनुहुन्थ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘आज बिहानै आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भनेर विज्ञप्ति जारी गर्नुभयो । प्रचण्डलाई रातारात के भयो बुझ्न सकेका छैनौं ।’

भूकम्पपछिको पुनर्निर्माणमा भर्खरै सरकारले ‘टेक अफ’ गरेका बेला षडयन्त्रपूर्वक दुर्घटना गराउन खोजिएको उनले टिप्पणी गरे । सत्ताधारी एमाले र एमाओवादीबीच  कुनै ठोस असमझदारी आफूले नपाएको रिमालको भनाइ छ ।

‘असमझदारीका विशेष कुरा केही छैनन्, भए बसेर सल्ट्याउन सकिन्थ्यो,’ रिमाल भन्छन्, ‘उहाँ (प्रचण्ड) ले यति मात्रै भन्नुभएको छ कि कांग्रेसबाट मलाई प्रस्ताव आयो, तपाईं के भन्नुहुन्छ ?’

यसमा प्रधानमन्त्रीको भनाइ के छ त भन्ने प्रश्नमा रिजालले उत्तर दिए, ‘उहाँले बारम्बार भन्दै आउनुभएको हो, यो सरकार मलाई कसैले गोदान गरेर दिएको होइन । म सधैंका लागि प्रधानमन्त्री भएको होइन । उहाँ जस्तो परिस्थितिको पनि सामना गर्न तयार हुनुहुन्छ ।’

कुन नियमावलीबाट अविश्वास प्रस्ताव ?

रिमालले सरकारविरुद्धको सम्भावित अविश्वास प्रस्ताव कुन प्रक्रियाबाट आउँछ भन्ने प्रश्नसमेत उठाएका छन् । पुरानो नियमावली अनुसार जान नमिल्ने र नयाँ नियमावली नबनेकाले प्रक्रियाको समस्या आउन सक्ने उनको भनाइ छ ।

‘एमाओवादी सरकारबाट बाहिरिए पनि भोलि एमालेले सत्ता छोडेन भने के हुन्छ ?’ उनले प्रश्न गरे, ‘पुरानो नियमावली खारेज भइसकेको छ, भने नयाँ बनेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?