२३ वैशाख, काठमाडौं । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन् ।
राजधानीमा सञ्चालित केही निजी विद्यालयमा बुधवार अनुगमन गर्दा यस्तो पाइएको आजको अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ ।
प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मुख्य दल निकट विद्यार्थी संगठनले बुधवार छुट्टा-छुट्टै रुपमा विद्यालयको अनुगमन गरेका थिए । विभागका उपनिर्देशक बलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले पि्रमियर र एपेक्स स्कुलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पि्रमियरले विद्यार्थीसँग भर्ना शुल्कबापत ५० हजार रुपैयाँ लिएको पाइएको थियो । त्यस्तै चाबहिलस्थित एपेक्स स्कुलले मासिक शुल्क बाहेक बाषिर्क शुल्कका नाममा १५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो ।
अनुगमनमा सहभागी अभिभावक संघका अध्यक्ष सुप्रभाव भण्डारीले भने, ‘विद्यालयहरुले मनलाग्दी शुल्क लिइरहेको देखियो । यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र असफल गरेको पाइयो ।’ शिक्षा विभागले भने अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जनाएको छ ।
त्यस्तै मुख्य दल निकट विद्यार्थी संगठनहरुले ललितपुरको युलेन्स र रातो बंगला स्कुलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा युलेन्स स्कुलले कक्षा १ मा मासिक २८ हजार रुपैयाँ शुल्क लिइएको पाइएको नेविसंघका प्रवत्ता यूपी लामिछानेले बताए ।
प्रतिक्रिया 4