१४ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षभित्र कर्मचारीको काज सरुवा गरे खारेज गरिदिने चेतावनी दिएको छ ।
आर्थिक बर्षको अन्त्यतिर सरुवा तथा अनावश्यक काज सरुवा वैज्ञानिक नहुने भन्दै अटेर गरी कुनै कार्यालयले काजमा सरुवा गरे सामान्यले खारेज गर्ने चेतावनी दिएको हो ।
यसअघि स्थानीय विकास मन्त्रालयले २२ जना स्थानीय विकास अधिकारी र २१ जना अधिकृतहरुको सरुवा गर्न मागेको सहमति सामान्य प्रशासन मन्त्री रेखा शर्माले रोकिदिएकी थिइन् । चालु आर्थिक वर्षको अन्तिमतिर कर्मचारी सरुवा गर्न पाइँदैन । यसैगरी कुनै पनि कार्यालय प्रमुखलाई पनि काज सरुवा गर्न पाइँदैन ।
तर, स्थानिय विकास मन्त्रालयले सामान्यसँग कार्यालय प्रमुखसहित ४३ कर्मचारीको सरुवा सहमति माग गरेको थियो ।
(यो पनि पढ्नुस्: कमल थापा भर्सेज रेखा शर्मा)
कर्मचारीको कार्यसम्पादन करार निर्देशिका प्रस्तावमाथि शुक्रबार आयोजित छलफलमा उठेका प्रश्नका जवाफ दिने क्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले नियमविपरितको सरुवा सबै खारेज गरिदिने बताए ।
यस्तै सचिव शर्माले साउन १ गतेबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन निर्देशिका जारी हुने बताएका छन् ।
त्यसअघि सामान्य प्रशासन मन्त्री रेखा शर्माले राजनीतिक अस्थिरतालाई देखाएर आफ्नो जिम्मेवारीबाट पछि नहट्न कर्मचारीहरुलाई निर्देशन दिएकी थिइन् ।
प्रतिक्रिया 4