+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मन्त्रीको ‘बाँदरे’ प्रवृत्तिः सोफाको चकटीदेखि एसीसमेत गायव

लालबाबु भन्छन्- कर्मचारी पनि कम छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १७:१०
Ministers-Quarter-Pulchok
फाइल तस्वीर

२३ जेठ, काठमाडौं । राष्ट्रपतिदेखि मन्त्रीसम्मलाई उनीहरुले रोजेका सरसामान किनिदिने भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीलाई हामीले सोध्यौं- तपाईहरुले धेरै मन्त्रीलाई सरसामान किनेर पठाइदिनुभएको छ, यसबारे कुनै रोचक अनुभूति छैनन् ?

हाम्रो प्रश्नको जवाफ दिनुपूर्व उनले आफ्नो नाम गोप्य राखिदिने शर्त तेर्स्याए । अनि ढोका थुनेर साउतीको स्वरमा बोल्न थाले । कोठाभित्र बसेर हामीसँग कुरा गर्दैगर्दा उनी निकै चनाखो देखिन्थे । कसैले ढोका चलायो भने उनी विषयवस्तुलाई अन्त मोडिहाल्थे ।

सरकारी सामान बोकेर चम्पट

मन्त्री हुँदा राज्यकोषबाट खर्च हुने गरी आवश्यकताभन्दा बढी महंगा र ब्राण्डेड सामान मगाएर भोग गर्ने मन्त्रीहरुले सरकार छोडेर जाँदा ती सामान पनि सँगै बोकेर लाने गरेको उनको अनुभूति रहेछ ।

यो पनि पढ्नुस्-  प्रधानमन्त्रीलाई बजाजको फ्यान, राष्ट्रपतिलाई हकिन्सको कराई !

अधिकांश मन्त्रीले सत्ताबाट बाहिरिने क्रममा त्यस्ता सामान घरैमा लिएर जाने गरेको कर्मचारीको गुनासो छ ।

विशिष्ट पदाधिकारीहरुलाई सुविधा उपलब्ध गराउने जिम्मा पाएको भवन सम्भार डिभिजन कार्यालयका कर्मचारीले अनलाइनखबरसँग भने, ‘मन्त्रीले घर फर्किँदा सामान मात्रै लाँदैनन्, भित्तामा जथाभावी किला ठोकिदिने र भत्काइदिनेसम्मका काम गर्छन् ।’

‘बाँदरे’ प्रवृत्ति

सरकार परिवर्तन भएर मन्त्रीहरुले क्वार्टर छोड्दा धेरैले पर्दा, फ्रिज, टेलिभिजन, कम्प्युटर जस्ता सामानहरु उठाउने गरेको कर्मचारीको गुनासो छ । उनका अनुसार केही मन्त्रीले भने साना फर्निचर र सोफामा लगाइएका खोल र चकटीसमेत लान मिल्नेसम्मका सबै सामानहरु बोक्छन् । र, बाँकी सामानमा क्षति समेत पुर्‍याइदिन्छन् ।

कतिपयले मन्त्री क्वार्टर छोड्नुपर्ने भएपछि पर्दा च्यातिदने र बोक्न नसक्ने फर्निचरहरु कोर्ने जस्ता निकृष्ट काम पनि गरेको कर्मचारीको अनुभव छ । ती कर्मचारी भन्छन्, ‘कतिपयले भित्तामा टाँसेर राखेको एसीसमेत सँगै लैजान्छन् ।’

Table Work

ती कर्मचारीका अनुसार मन्त्रीहरुले ब्राण्ड तोकेर मगाउने त्यस्ता महंगा सामानहरु कतिपय प्रयोगविहीन हुन्छन् । मन्त्री क्वाटरको लामो अनुभव संगालेका ती कर्मचारी भन्छन्, ‘मैले थाहा पाएको छु, मन्त्रीहरु हाम्रो कार्यालयबाट दिन नमिल्ने सामानहरु आफ्नो मन्त्रालयबाट मगाउँदा रहेछन् । हामी कार्पेट दिन्छौँ तर त्यहाँमाथि राख्ने गलैँचा दिदैनौँ । तर त्यस्ता हामीबाट दिन नमिल्ने सामानहरु मन्त्रालयबाटै झिकाउँदा रहेछन् । त्यो गैरकानुनी हो ।’

‘सामान मगाउँदा मन्त्री चिनिन्छ’

‘मन्त्रीहरुलाई तपाईले के चिन्नु भएको छ, हामीले चिनेका छौँ,’ उनले भने, ‘कुन मन्त्रीलाई कसरी ठीक पार्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।’

मैले सोधेँ- कसरी ठीक पार्ने ?

उनी भन्छन्, ‘मन्त्रीले चाहिने भन्दा बढी मगाउन थालेपछि कति ‘वेट’ भएको मन्त्री हो थाहा भइहाल्छ । अनावश्यक मगाउन थाले भने कुरा बुझिहाल्छौँ र मुखले हस् हजुर भन्ने हो, काम चाँहि फुर्सदमा ।’

कतिपय मन्त्रीहरु चाँहि इमान्दार पनि भेटिने गरेको उनले सुनाए । ‘सबैलाई भन्न त मिल्दैन, केही मन्त्रीहरु इमान्दार पनि हुन्छन्, जानेबेलामा मेरो क्वार्टर हेर्दिनुस्, मैले के गर्नुपर्छ भन्दिनुस् पनि भन्छन्,’ उनले भने, ‘तर, धेरै मन्त्रीले सरकारी खर्चमा किनिएका सामानसँगै उठाएर लैजान्छन् ।’

ती कर्मचारीले दिएको जानकारीका विषयमा जिज्ञासा राख्दा भवन सम्भार डिभिजनका पूर्वप्रमुख सरोजराज कणिर्कारले बेथिति हुने गरेको स्वीकार गर्दै मन्त्री क्वार्टर व्यवस्थापन गर्ने काम निकै जटिल रहेको बताए ।

मन्त्रीले किताब पढ्दैनन् ?

अनुभवी कर्मचारीका अनुसार एक जनाबाहेक बाँकी मन्त्रीले अहिलेसम्म मन्त्री निवासमा किताब राख्ने बुक र्‍याक मगाएका छैनन् ।

यहीँबाट थाहा हुन्छ कि मन्त्रीहरु त्यो पदमा बसेर के काम गर्छन् ? उनी थप्छन्, ‘मन्त्रीलाई सबै ऐन, नियमावली, निर्देशिकाहरु कण्ठस्थ हुँदैन होला, अन्य बाहिरी किताबहरु पनि पढ्नुपर्ने होला । तर, खै किताब केमा राख्छन् ? हामीसँग अहिलेसम्म र्‍याक मगाएका छैनन् ।’

अहिलेसम्म अन्तरिम चुनावी मन्त्रिमण्डलका एक मन्त्रीले मात्रै पहिलो पटक क्वार्टरमा किताब राख्ने र्‍याक मगाएका थिए ।

असभ्यताको पराकाष्टा

मन्त्री पद छाडेर निस्कँदामात्रै होइन, पदमा रहँदा पनि कतिपय मन्त्रीहरुबाट क्वार्टरभित्र उस्तै विकृति देख्न पाइन्छ । केही मन्त्रीले क्वार्टरमा ५० जनासम्म कार्यकर्ता सुताएर राखेको पनि कर्मचारीले देखेका छन् ।

सुरक्षाको हिसाबले क्वार्टरमा मन्त्रीको आफ्नो परिवारबाहेक अरुलाई राख्न मिल्दैन । तर, केही मन्त्रीहरुले आफू माथिल्लो तलामा बस्ने र जिल्लाबाट आउने कार्यकर्ताहरुलाई तल्लो तलामा सुताउने गरेको पाइएको छ ।

कर्मचारीले हामीलाई उल्टै प्रतिप्रश्न गरे, ‘मन्त्रीले क्वार्टरमा कतिबेलासम्म कार्यकर्ता भेट्ने ? मन्त्री क्वार्टरमा रातभरि मिटिङ राखेर हल्ला गर्न हुन्छ त ? मन्त्री भएपछि  मन्त्री निवासको गरिमा पनि राख्न सक्नुपर्ने होइन र ? तर, क्वार्टरभित्र यस्तै हुन्छ ।’

कर्मचारी पनि उस्तै ठग छन्ः लालबाबु

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित इमान्दार नेता मानिन्छन् । हामीले मन्त्री निवासको अनुभूतिबारे चासो राख्दा कर्मचारीहरु उस्तै ठग रहेको र मन्त्रीलाई दोष लगाउने गरेको बताए ।

Lalbabu-panditनिवास छाडेर मन्त्रीहरु गएपछि भवन सम्भारका कर्मचारीले नै सामानहरु झिकेर घर लैजाने र मन्त्रीहरुले लिएर गए भन्ने गलत प्रचार गर्ने गरेको पण्डितले बताए ।

‘कर्मचारीको सर्भिस एकदम खराव छ । क्वार्टरमा सरसफाइको अवस्था निकै नाजुक छ,’ उनले भने, ‘यतिसम्म कि ०६९ सालमा मन्त्री क्वार्टरबाट राति रुख नै काटेर लगेछन्, तर कसले लग्यो, थाहा भएन । सुरक्षा निकायलाई सोध्दा वनको मान्छे भन्थे रे, मैले पछि सुनेको थिएँ ।’

स्रोतका अनुसार भवनको मर्मत गर्ने पक्ष एकदम कमजोर छ । तर भवन सम्भारका कर्मचारी रंग पोत्न भनेपछि निकै उत्साहित हुन्थे ।

पूर्वमन्त्री पण्डितले भने, ‘सर लिप्दिऊँ भन्दै आउँछन् । दसैं आउन भ्याएको छैन, आएर आफैँ लिपपोत गर्थे । मैले के गरेको, अहिले दसैं आएको छैन भन्दा होइन पोत्न पर्छ, दसैँ आउन लागिसक्यो भन्थे । त्यसपछिको कुरा के-के हो, तपाई आफैँ बुझ्नस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?