१७ असोज, काठमाडौं । दशैंमा फलफूलको विशेष महत्व हुन्छ । कोसेली लैजानदेखि पूजाआजा र खानपिनमा फलफूलको प्रयोग हुन्छ । दशैंमा यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल तथा तरकारी ब्यवसायी महासंघका महासचिव रुद्रबहादुर पाठक बताउँछन् । यो समयमा शाकाहारी भोजन गर्नेहरुका लागि फलफूल उत्तिकै महत्वपूर्ण मानिन्छ ।
अहिले बजारमा चोक-चोकमा रहेका फलफूल पसलदेखि घर-घरमा फलफूल पुर्याउने ब्यापारीको किन्न्ेहरुको भीड लागेको देखिन्छ ।
तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र ब्यापारीकोमा फलफूलको भाउ उच्च छ । दशैंमा स्याउ, केरा, नरिवल, मौसम र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् ।
फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक-फरक मूल्य तिर्न बाध्य छन् । तर, यसवर्ष सरकारले दशैंका लागि थोक ब्यापारीहरुलाई पनि बजारबाट ५ केजीसम्म फलफूल थोक मूल्यमा बेच्न सक्ने व्यवस्था गर्न आग्रह गरेको थियो ।
आपूर्ति मन्त्री दीपक बोहोराले फलफूल ब्यापारीलाई बोलाएरै यसबारे औपचारिक छलफल गराएका थिए । यसैकारण व्यवसायी संघले थोक बजारमा पनि खुद्रा किन्न सकिने गरी अघोषित किसिमको व्यवस्था गरेको छ । अरु समयमा थोक बजारमा खुद्रा मूलयमा फलफूल किन्न पाइँदैन ।
अहिले भने खुद्रा बजारमा हंगोमा फलफूल किन्नेहरु थोक जारमा पुगे भने मूल्यमा निकै राहत पाउन सक्छन् ।
स्याउ
बजारमा अहिले विभिन्न किसिमका स्याउहरु छन् । सबैभन्दा सस्तो स्याउ चाइनिज डेलिसियस प्रजातिको हो ।
थोक बजारमा यसको मूल्य ९० रुपैयाँदेखि ११० रुपैयाँसम्म छ । गुणस्तरअनुसार थोक बजारमा एकैप्रजाति भएपनि फरक-फरक मूल्यपर्छ । यही स्याउ खुद्रा पसलहरुमा १५० देखि १९० रुपैयाँसम्म लिएर बेचिँदैछ ।
यसैगरी नेपाली मुस्ताङको स्याउ प्रतिकेजी १३० देखि १५५ रुपैयाँसम्म थोक मूल्यमा पाइन्छ । यही स्याउ खुद्रा बजारमा २२० देखि २६० रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य छन् ।
चाइनिज झोले स्याउको मूल्य थोक बजारमा १६० देखि १६५ रुपैयाँ प्रतिकेजी पर्छ । तर, यसलाई खुद्रा ब्यापारीले २४० देखि ३सय रुपैयाँसम्म लिएर बेच्छन् । कतिपयले यसलाई नै फूजी स्याउ भएको भन्दै ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
केरा
प्रजाति र गुणस्तरअनुसार केराको मूल्य तय हुन्छ । थोक बजारमा कममा ३० रुपैयाँ दर्जनसम्म पर्ने केरा पाइन्छ । बढीमा ६० रुपैयाँसम्म पर्ने गुणस्तरीय केरा पनि उपलब्ध छन् ।
तर, त्यही केरा बजारमा पुग्दा दर्जनको १३० रुपैयाँसम्म लिने गरेको भेटिन्छ । कम गुणस्तरका केरा पनि ९० रुपैयाँ प्रतिदर्जनसम्म बेचिन्छ ।
अनार
अनारको मूल्य पनि बजारमा एकैनासको भेटिन्न । राम्रो गुणस्तरको अनारको मूल्य अहिले थोक बजारमा २४० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म पर्छ । यही अनार खुद्रा बजारमा ३५० रुपैयाँ भन्दा काममा पाइँदैन ।
सस्तो मूल्यका अनार पनि थोक बजारमा छन् । तर, खुद्रा बजारमा भने सबै अनारको मूल्य एकैनास गरेर बेच्ने गरिको भटिन्छ । उपभोक्ताले गुणस्तर छुट्याउन नसक्दा ठगी गर्नेहरुलाई सजिलो भएको छ ।
मौसम
अर्को फलफूल मौसमको मूल्य समान्यभन्दा महंगो छ । यसवर्ष मौसमको मूल्य अरु वर्षहरुमा भन्दा बढी भएको महासचिव पाठक बताउँछन् । थोकबजारमा मौसम प्रतिकिलो ११० रुपैयाँ छ ।
खुद्रा बजारमा भने मौसम १ सय ६० रुपैयाँभन्दा माथि छ । अझ राम्रो गुणस्तरको मौसमको मूल्य खुद्रा ब्यापारीले २ सय रुपैयाँसम्म लिएका छन् ।
यस्तै बजारमा अहिले थाोरै मात्रामा हरियो सुन्तला पनि आएका छ । सुन्तला प्रतिकिलो ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा थोक बजारमा किन्न सकिन्छ । तर, खुदा बजारमा सुन्तला ११० रुपैयाँभन्दा माथि छ ।
नरिवल
नरिवल पनि दशैंमा धेरै बिक्ने फल हो । पुजाआजामा प्रयोग हुने भएकाले यो समयमा नरिवलका माग बढ्छ । काँचो नरिवल पुजा कार्यमा अनिवार्य जस्तै मानिन्छ ।
थोक बजारमा नरिवलको मूल्य प्रतिगोटा १५ देखि ४० रुपैयाँसम्म पर्छ । तर, खुद्रा बजारमा भने ४० रुपैयाँभन्दा कममा नरिवल किन्न पाइँदैन भने अधिकतम् ६५ रुपैयाँसम्ममा नरिवल बिक्री गरिँदैछ ।