+
+
Shares

नापीका कर्मचारी किन समातिन्छन् घुससहित पटक-पटक ?

कसरी हुन्छ नापीमा सेटिङ ? महानिर्देशक भन्छन्- भेटौं

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २० गते १३:३६

810

२० असोज, काठमाडौं । नापी कार्यालय चाबहिलका कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत हजारी यादव र सर्वेक्षक जितेन्द्र पण्डित दुई लाख रुपैयाँ घुस लिंदालिंदै बुधबार कार्यकक्षबाटै पक्राउ परे ।

जग्गा हाल साविक (अद्यावधिक) गर्ने प्रयोजनका लागि सेवाग्रहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गर्‍यो ।

हजारी यादव नापी विभागका महानिर्देशक कृष्णराज बीसीका अति निकट कार्यालय प्रमुख हुन् । उनी एक/दुई बर्षभित्रै सहसचिव बढुवा हुँदै थिए । सचिव हुने लाइनमा रहेका यादवको करिअर २ लाख रुपैयाँमा समाप्त भयो ।

बुधवार नै मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियारकै टोलीले नियन्त्रणमा लियो ।

यसअघि साउन ३२ गते नापी कार्यालय चाबहिलकै सर्वेक्षक शम्भु प्रसाद चौधरीलाई ३ लाख घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको थियो । साउनमै नापी कार्यालय मनमैंजुमा कार्यरत सर्वेक्षक कमलबहादुर खत्री ३० हजार घुससहित पक्राउ परेका थिए ।

उनी नयाँ शक्ति पार्टीनिकट निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव थिए । उनले आफूले घुस नलिएर मालपोत कार्यालयका नासु लक्ष्मी पराजुलीलाई बुझ्न लगाएका थिए । तर, मोवाइल रेकर्डदेखि भिडियो प्रमाण भएका कारण खत्रीविरुद्ध पनि अख्तियारले मुद्दा चलायो ।

सर्वेक्षक हरि तिवारी र रामप्रमोद महासेठ पनि केही समय अघि ७५ हजार घुस लिंदालिंदै पक्राउ परेका थिए । ललितपुर नापी कार्यालयका सर्वेक्षक मेघनाथ चौलागाई १५ हजार घुस लिदा पक्राउ परि मुद्दा खेपिरहेका छन् ।

यी केही प्रतिनिधिमूलक घटना हुन् । एक वर्षको बीचमा नापी कार्यालय अन्तर्गतका साना ठूला गरि काठमाडौं उपत्यकाभित्रै एक दर्जनभन्दा बढी कर्मचारी घुस खाएको अभियोगमा पक्राउ परिसकेका छन् ।

सरुवामा दर रेट

अघिल्लो सातामात्रै भूमिसुधार मन्त्रालयले नापीअन्तर्गतका उपसचिवहरुको सरुवा गर्दा मन्त्री विक्रम पाण्डेलाई बुझाउनुपर्छ भन्दै १५ लाखसम्म कबुलेर कतिपय नाममा टिपेक्स लगाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नापीका सर्वेक्षक र कार्यालय प्रमुखहरु उपत्यकाका आकर्षक कार्यालयमा सरुवा हुनका लागि अनौपचारिक रुपमा रेटनै तोकिएको छ । रेट अनुसारको रकम बुझाएर सरुवा हुने कर्मचारीले त्यो रकम उठाउन सेवाग्राहीसँग विभिन्न बाहानामा घुस असुल्ने नै भए ।

भूमिसुधार मन्त्रालय स्रोतका अनुसार प्रमुख मालपोत अधिकृत उपसचिव कार्यालय प्रमुख हुने उपत्यकाका ५ र धुलिखेल, कास्की, मोरङ, झापाजस्ता जिल्लाका लागि नापी अधिकृत सरुवा भएर जाने व्यक्तिले १० देखि १५ लाख सम्म बुझाउनुपर्ने अनौपचारिक दर रेट कायम छ ।

त्यस्तै नापी अधिकृत प्रमुख हुने कार्यालय काठमाडौंका मनमैजु, टोखा, साँखु लगायतका ठाउँमा जानेले पनि १० लाख बुझाउनुपर्ने स्रोतको भनाइ छ । अमिन र सर्वेक्षकले ती कार्यालयमा सरुवा पाउनका लागि ५ लाख बुझाउने गरेको हाक्काहाक्की बताउने गर्छन् ।

घुस लिएर पठाएपछि उसले दुई गुणा चारगुणा उठाउने र नियम कानुन विपरीत काम गर्ने कुरा स्वभाविक हो । पैसा उठाउनकै लागि सरकारी सार्वजनिक जग्गा पनि ब्यक्तिको नाममा नापी गर्ने क्रम बढेेको छ ।

अख्तियारले उपत्यकाका नापी कार्यालयमा ५ वर्षभन्दा बढी समयदेखि कार्यरत सर्भेक्षकहरुको सम्पत्ति विवरण छानबिन गर्ने हो भने आश्चर्यजनक परिणाम फेलापर्ने नापी विभागका कर्मचारीहरु बताउँछन् ।

अख्तियारका एक अनुसन्धान अधिकृतले भने- बयान लिदाँ उनीहरुले शुरुमा घुस खाएकै होइन, फसाइएको हो भन्छन, अन्तिममा केही नलागेपछि पोल खोल्छन्, कति बुझाएर आएको भन्ने कुरा ।

एउटा कर्मचारी कुनै कार्यालयमा पोष्टिङ वा सरुवा भएर जाँदा घुस खुवाउने प्रणाली रहेसम्म उसले त्यो रकम असुल गर्न सेवाग्राहीसँग घुस लिन्छ । तर, निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनका सदस्य विश्वबन्धु रेग्मी भने माथिका मान्छे इमान्दार हुने हो भने भ्रष्टाचार कम हुने बताउँछन् ।

उनी भन्छन्- विद्यमान ऐन नियम परिपालना नहुनु मुख्य चुनौति हो । एउटा राष्ट्रसेवक कर्मचारी जति माथि गयो, त्यति इम्ाान्दार हुनुपर्छ । माथिको मान्छे इमान्दार भयो भने भ्रष्टाचार स्वतः घट्छ ।

कसरी हुन्छ नापीमा सेटिङ ?

काठमाडौं उपत्यकाका विभिन्न नापी कार्यालयमा अमिन पदमा बर्षौ काम गर्ने र बढुवाका लागि नापी विभागमा सरुवा हुने, सर्वेक्षक बढुवापछि विभागमा पदस्थापन नभई पुनः घुस खान पाउने कार्यालयमा पदस्थापन हुने प्रवृति आम रुपमा छ ।

उदाहरणका लागि ललितपुर नापीमा वर्षौं काम गरी एक वर्षअघि विभागमा गएका अमिन कञ्चन मिश्र र गणेशकुमार मिश्र हुन् । उनीहरु एक बर्षअघि विभागमा बढुवाकै लागि सरुवा भए । सर्वेक्षक बढुवा भएको ३ महिनासम्म पदस्थापन नभई बसे ।

जब कि निजामती सेवा ऐनमा २१ दिनभित्र पदस्थापन भई तलव भत्ता सोही कार्यालयबाट लिनुपर्ने हुन्छ । तर, उनीहरु तीन महिनादेखि पदस्थापन भएनन् । असोज १४ गतेको सरुवामा कञ्चन मिश्र ललितपुर नापी कार्यालयमै सरुवा भएका छन् भने गणेश मिश्र टोखा नापी कार्यालयमा ।

बढुवापछि आकर्षक कार्यालयमा पदस्थापन भएपछि उपत्यकाका आकर्षक कार्यालयमा काम गर्ने अमिनहरु मधुरेन्द्रकुमार झा, श्यामराज पण्डित, कृष्णदेव राउत, रामनारायण यादव, तीर्थबहादुर अधिकारी, महेशदत्त भट्ट, सुनिल पंजियार र सन्तोषकुमार झा बढुवाकै लागि असोज १४ मा विभागमा सरुवा भएका छ्न् ।

मन्त्रीसम्मै पुग्छ

नापी विभागको सरुवामा महानिर्देशक बीसीले प्रशासन शाखाका कर्मचारीसँँग समन्वय नगरी आफ्ना भाइ टीका बीसी र इश्वर अर्यालको योजनामा बाहिरै सूची तयार पारेर सरुवा गरेको आरोप कर्मचारीहरुले लगाएका छन् ।

तर, महानिर्देशक एक्लैले यो सबै गर्न सक्दैनन् । उनीभन्दा माथि मन्त्री आफैं संलग्न रहेको विभागका कर्मचारीहरु बताउँछन् । नापीमा यसपटक टिपेक्स लगाएर रातारात मिलाइएको सरुवा प्रकरणमा सचिव मोहनकृष्ण सापकोटा समेत अशन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

लोकसेवा पास जुन अंचलमा गरेको हो, सो अञ्चलमा ५ वर्ष काम गर्नैपर्ने व्यवस्था ऐनमा छ । तर, आर्थिक चलखेलका आधारमा ५ बर्ष नपुगेका २० जनाभन्दा बढी अमिनहरुलाई एक अञ्चलबाट अर्को अञ्चलमा सरुवा गरिएको आरोप ट्रेड युनियनहरुको दाबी छ ।

उदाहरणका लागि अमिन गंगाराम काँदु राप्ती अञ्चलको दाङमा कार्यरत थिए । उनलाई राप्ती अञ्चलबाट भेरी अञ्चलको बाँकेमा सरुवा गरिएको छ ।

काठमाडौं उपत्यकाबाट कहिल्यै बाहिर नगएका चावहिल नापी कार्यालयका सर्वेक्षकहरु टीका बीसी र इश्वर अर्याललाई चलाइएको छैन । भक्तपुरका सर्वेक्षक देवेन्द्र कोइराला र किरण मल्ल ८ बर्षदेखि नै कार्यरत छन् । उनीहरुलाई सरुवा नगरी २ वर्ष मात्र अवधि भएका महादेव भट्टलाई डोटीमा खेदिएको छ ।

त्यस्तै २० वर्षदेखि काठमाडौं उपत्यकामा कार्यरत डिल्लीबजार नापी कार्यालयका हरिबहादुर रायमाझीलाई क बर्गको कार्यालयमा सरुवा गर्नुपर्नेमा नापी विभागमा सरुवा गरिएको गुनासो छ ।

यी केही उदाहरणमात्र हुन् । नापीका कर्मचारीहरु धेरै घुस काण्डमा पक्राउ पर्नुमा उनीहरुमात्र दोषी नभएर सिंगो प्रणाली नै कारक रहेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल बताउँछन् ।

महानिर्देशकले भने- हामी भेटौं

आखिर नापीकै कर्मचारी यति धेरै किन पक्राउ परिरहन्छन् घुस प्रकरणमा ? हामीले नापी विभागका महानिर्देशक कृष्णराज बीसीलाई सोध्दा उनले भेटेरै कुरा गरौं भन्दै टारे । उनले भने- तपाई हामी बसौं छलफल गरौं, अहिले फोनमा किन भन्ने ?

नापीका कर्मचारी पक्राउ परिरहनु र महानिर्देशकले भेटेरै कुरा गरौं भन्नुका पछाडि के छ ? यो प्रश्नको जवाफ बुधवार पक्राउ परेका यादवको प्रारम्भिक बयानले दिन्छ ।

यादवले भनेका छन्- यो ठाउँमा सरुवा हुन १५ लाख रुपैयाँ क्यास बुझाएको छु,महिनाको तलबले मात्र कहिले उठ्छ त्यो रकम ?

यादवको यो वयान नै काफी छ, नापीका कर्मचारी पक्राउ प्रकरणमा । उनले १५ लाख बुझाएर कार्यालय प्रमुख भएको बताएका छन् । तर, महानिर्देशक बीसी भन्छन्- उनले कसलाई बुझाए, त्यो पैसा, बुझ्ने र बुझाउनेले जानुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?