Comments Add Comment

‘हामीलाई दशैंमा नयाँ लुगा किन्ने, मीठो खाने भन्ने हुँदैन’

 

bhawani-rana31

भवानी राणा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

२५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणालाई दशैंमा नयाँ लुगा लगाउने र मीठो मसिनो खाने भन्ने कुनै शोख छैन । आखिर किन त ? उनी भन्छिन्- ‘किनभने हामीले सधैं राम्रै लगाइरहेका हुन्छौं, मीठै खाइरहेका हुन्छौं ।’

सुनौं भवानी राणाको दशैं र किनमेलसँग सम्बन्धित रमाइलो गफगाफ –

दशैं कसरी मनाइरहनुभएको छ ?

दशैं भनेको हामी नेपालीहरुले परम्परागतरुपमा मनाउँदै आएको ठूलो पर्व हो । संस्कृति हो । नौरथा अवधिभर मैले गुरु नै राखेर देवीको पुजा-आजा गरें । नवमीको दिन पूजा सकियो । अरुलेजस्तै टीका लगाउने, आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिएर नै दशैं मनाउँदैछु । दशैंमा नयाँ लुगा किन्ने, मिठो खाने भन्ने हुँदैन, किनभने हामी सँधै राम्रै लगाइरहेका हुन्छौं । मीठै खाइरहेका हुन्छौं ।

दशैं मनाउन नेपाल बाहिर जाने गर्नुभएको छैन ?

पहिला स्कुल र कलेज पढ्दाचाहिँ दशैं मनाउन विदेशतिर गइन्थ्यो । तर, लामो समय भयो, म दशैं मनाउन विदेश गएकी छैन ।

टीकाको दिन र दोस्रो दिन चाहिँ बाहिर जान्न । त्यसपछि भने बाहिर जान्छु । प्रायः गरेर म भारत जान्छु । तर, यो साल कहिँ गइएन ।

बिदाका बेला तपाईलाई घुम्न मनपर्ने ठाउँहरु कुन-कुन हुन् ?

नेपाल बाहिर प्रायः म भारत जान्छु । त्यहाँ धेरै आफन्त र सँगै पढेका साथीभाइ छन् । नेपालमा दशैंका बेला बाहिर जानुपर्‍यो भने म नेपालगञ्जमा हुन्छु ।

दशैंका लागि स्पेसल सपिङ गर्नुभयो ?

दशैंकै लागि भनेर सपिङ गर्दिन । किनभने सामान्यतया सँधै सपिङ भइरहेको हुन्छ । पहिला केटाकेही हुँदा चाहिँ खुब सपिङ गरिन्थ्यो ।

सपिङ गर्न कहाँ जानुहुन्छ ?

नेपालमै पनि म सपिङ गर्छु । तर, म धेरै सपिङ गर्न जाने ठाउँ भनेको भारतको दिल्ली हो । सपिङकै लागि भनेर चाहिँ सिंगापुर जान्न । पुगेका बेला सिंगापुरमा पनि राम्रै सपिङ गर्छु ।

पाई छोरी, बुहारी र आमा सबै भइसक्नु भयो । सबैभन्दा धेरै दक्षिणा कुन समयमा र कति पाउनुभयो ?

त्यो त मैले छोरी हुँदाखेरि नै सबैभन्दा बढी दक्षिणा पाएकी छु । बुहारी र आमा भएपछि दिनुमात्रै पर्दोरहेछ । बिवाह गरेर आएपछि पाउनेभन्दा दिने बढी हुँदोरहेछ ।

कति दक्षिणा पाउनुभएको थियो ?

आजभन्दा २० वर्षअघि नै मैले ५ हजार रुपैयाँसम्म दक्षिणा पाएकी थिएँ, जुनबेला म टीनएज थिएँ ।

केमा खर्च गर्नुभयो ?

सपिङमा ।

तपाईले चाहिँ टीका लगाएर सबैभन्दा बढी कति रुपैयाँसम्म दक्षिणा दिनुभएको छ ?

मैले सबैभन्दा बढी दक्षिणा २१ सय रुपैयाँसम्म दिएकी छु । दक्षिणाभन्दा ठूलो आशिर्वाद हो नि, दशैंमा त । तर, बच्चाहरुका लागि चाहिँ दक्षिणा पनि महत्वपूर्ण हुन्छ ।

कुन फोन बोक्नुहुन्छ ?

आइफोन -६

सेभेन आइसक्यो नि होइन र ?

आइसक्यो । तर, अहिले यसैले काम चलाइरहेकी छु ।

सबैभन्दा महंगोमा लुगा किनेको याद छ ?

ठ्याक्कै त याद छैन । खासगरी म इन्डियन ब्राण्ड लगाउँछु । मेरो प्रोफेसनका लागि पनि इन्डियन कपडा नै स्वीटेवल हुन्छ । म खासगरी कस्मेटिकहरुमा चैं बढी ब्राण्ड कन्सस छु ।

bhawani-rana1

कुन घडी लगाउनुहुन्छ ?

राडो ।

कतिमा किन्नुभएको ?

२ लाख ६० हजारमा किनेको ।

तपाईले लगाउने तीन ब्राण्डका कपडाहरु कुन-कुन हुन् ?

खासगरी भारतीय ब्राण्डका कपडा नै म बढी लगाउँछु । म सामान्य, परम्परागत र आधुनिक तीनै प्रकाका लुगा लगाउँछु । कुन ठाउँमा जाँदा कस्तो लुगा लगाउने भन्ने विचार गरेर मात्रै लगाउँछु ।

कुनै कुरा मन परेको तर पैसा नभएको किन्न नपाएको क्षण छ ?

कुनै पनि कपडा किन्दा मन पर्‍यो भने मलाई मुल्यले छेक्दैन । किनेरै छाड्छु ।

आफ्नो कुल आम्दानीको कति प्रतिशत लुगाफाटो र गरगहनामा र श्रृङगारमा खर्च गर्नुहुन्छ ?

यति नै खर्च गरिरहेकी छु भन्ने त मैले हिसाब गरेकी छैन । तर, आफ्नो व्यक्तित्वका लागि लुगाफाटोमा ध्यान दिनुपर्छ भन्नेमा चाहिँ म सचेत छु । किनभने लुगाले व्यक्तित्वको विकास गर्छ ।

कति देश घुम्नुभएको छ ?

मैले अमेरिका, युरोप अष्ट्रेलिया, चीन लगायतका विश्वका ८० देश भ्रमण गरिसकेकी छु । सिंगापुर, इन्डोनेसिया, चीन, हंकङलगायता देशहरु घुम्न रमाइलो लाग्छ । म टाढाको भन्दा नजिकको देश घुम्न रमाउँछु ।

तपाई पुरातनवादी कि आधुनिक ?

म एकदमै पुरातनवादी पनि होइन । र, अत्याधुनिक पनि होइन । अन्धविश्वासलाई मान्दिन तर चलिआएको परम्परालाई मान्छु साथै आधुनिक अभ्यासलाई पनि मान्छु । समग्रमा भन्नुपर्दा म पुरातन र आधुनिक दुबै मान्ने व्यक्ति हुँ ।

औद्योगिक क्षेत्रमा कसरी आउनुभयो ?

मेरा बुबाको पेशा त व्यवसाय होइन । उहाँ अञ्चलाधीश हुनुहुन्थ्यो । तर, उहाँले मलाई सानैदेखि व्यापारमा लाग्न प्रेरित गर्नुभयो । मुमाले पनि आफैं केही गर्नुपर्छ भनेर प्रोत्साहन गर्नुहुन्थ्यो । त्यसबेला बुबाले मेरो दीदी र मलाई गार्मेन्ट खोलिदिनुभएको थियो । १०० जना त कामदार नै थिए । विहेपछि त मेरो श्रीमान पनि व्यवसायी नै हुनुभयो । जसले मलाई यहाँसँमम ल्याइपुर्‍यायो ।

व्यवसायीसँग विवाह नगरी कर्मचारी वा नेतासँग विहे गर्नुभएको भए…..?

पहिलो कुरा त म जस्तोमा पनि एडजस्ट हुन सक्छु । पहिलो कुरा आर्थिक नै हो । पैसा छैन भने राजनीति पनि कसरी गर्ने ? मेरो श्रीमान राजनीतिज्ञ भएको भए पनि सायद म व्यवसायमै हुन्थेँ ।

राजनीति गरौं भन्ने लाग्दैन ?

म व्यवसाय मै सन्तुष्ट छु । निजी क्षेत्रमा लागेकी छु । देशको आर्थिक विकास भयो भनेमात्रै राजनीति पनि सुधि्रन्छ भन्ने मेरो धानरणा हो । म राजनीति गर्नुभन्दा पनि उद्योग वाणिज्यकै क्षेत्रको कसरी विकास र विस्तार गर्ने भन्नेमा केन्दि्रत हुन्छ । म यतै रमाएकी छु । महासंघलाई अझ बलियो बनाउनुपर्छ भन्ने मेरो अहिलेको मुख्य एजेण्डा हो ।

भनेपछि अब महासंघको अध्यक्ष उठ्ने ?

म अहिले महासंघको बरिष्ठ उपाध्यक्ष हुँ । त्यसैले आगामी अध्यक्षका लागि मेरो दाबेदार स्वभाविक हो । सकेसम्म सर्वसहमति मै र सर्वसहमति हुन नसके चुनावमै भए पनि जान्छु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment