१४ पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको समस्याबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो ।
उनको आजै बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी समय क्रममा साहित्यिक अनुसन्धान र ऐेतिहासिक टिपोट गरी लेखन कर्ममा लाग्दै साहित्यिक वृत्तमा क.दी. नामले परिचित बने ।
दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा दलख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।
मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यवसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१६ देखि सम्पादन गर्दै आएका थिए ।
उनका तीन सन्तान छन् । छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् । पत्नी अञ्जु पौडेलको गत वर्ष पुस ३ गते निधन भएको थियो ।
मदन पुरस्कार पुस्तकालयको शोक विज्ञप्ति :
प्रतिक्रिया 4