२२ फागुन, सप्तरी । राजविराजमा मधेसी मोर्चाले विरोध प्रदर्शन जारी राखेपछि एमालेले सोमबार हुने कार्यक्रमको स्थलमात्रै परिवर्तन गरेको छैन, राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गरेको छ ।
मोर्चासँग मुठभेड नगर्ने र लचकदार बन्ने निर्णय गरेको एमालेले राजविराजको मुख्य शहरी क्षेत्रमा प्रवेश नगरी केही किलोमिटर माथिबाटै कार्यक्रम गरेर फर्कने नीति लिएको छ । तर, एमाले लचकदार रुपमा प्रस्तुत हुँदासमेत मधेसी मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्ने भन्दै अलोकतान्त्रिक गतिविधि जारी राखेका छन् ।
शुरुमा एमालेले भारदहबाट मुख्य राजमार्ग छाडेर हनुमाननगरको बाटो हुँदै राजविराज प्रवेश गर्ने लक्ष लिएको थियो । तर, मधेसी मोर्चाले हनुमाननगरमा लाठी जुलुस निकाल्ने योजना बनाएपछि स्थानीय प्रशासनले एमाले नेताहरुलाई हनुमाननगरको बाटो प्रयोग गर्नु जोखिमपूर्ण हुने सुझाव दिएको छ ।
‘हनुमाननगरको बाटो जिकज्याक छ, त्यसैले उक्त बाटो हुँदै राजविराज प्रवेश गर्नुभन्दा मुख्य राजमार्ग प्रयोग गर्नु उचित हुन्छ,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘भोलि एमाले नेताहरु भारदहबाट रुपनी हुँदै आउनुहुन्छ र राजविराजको मुख्य बजारमा प्रवेश नगरिकन औद्योगिक क्षेत्रमा कार्यक्रम गरेर माथिबाटै फर्कनुहुन्छ ।’
तर, एमाले सचिव योगेश भट्टराईले भने पार्टीले पहिलेदेखि नै हाइवेकै रुट तय गरेको बताए । उनले अनलाइनखबरसँग भने-‘हनुमाननगरको बाटो सानो छ, हामीसँग गाडीहरु धेरै छन, त्यसैले हाइवेकै रुट प्रयोग हुन्छ, औद्योगिक क्षेत्रमा कार्यक्रम हुन्छ ।’
यसैवीच सप्तरी जिल्लाको सुरक्षाको स्थिति कस्तो छ भन्ने प्रश्नमा प्रजिअ गौतमले भने- ‘एकदमै त्रास छ, स्थिति तनावपूर्ण छ ।’
भारदहदेखि नै अवरोधको त्रास
मधेसी मोर्चाका कार्यकर्ताले भारदहदेखि नै एमालेलाई अवरोध गर्ने तयारी गरेका छन् । मोर्चाका कार्यकर्ताले आइतबार साँझ जिल्लामा राँके जुलुस आयोजना गरेका छन् ।
हनुमाननगरमा मात्रै होइन, पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपनी, कञ्चनपुर लगायतका क्षेत्रमा पनि मोर्चाका कार्यकर्ताले लाठी जुलुसको तयारी गरेका छन् ।
एमालेले कार्यक्रम गर्ने भनिएको औद्योगिक क्षेत्रमा मोर्चाका कार्यकर्ताले ताला लगाइदिएका छन् ।
तर, एमालेले संयमित हुँदै राजविराजबाट कार्यक्रमस्थल समेत सारे पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले कार्यक्रमै गर्न नदिने भन्दै धम्की दिइरहेको एमाले नेताहरुको गुनासो छ ।
प्रतिक्रिया 4