
हङकङ । होली पर्वको उल्लासका बीच लोक-रक ब्याण्ड नेपथ्यले हङकङमा कन्सर्ट गरेको छ । फरक पुस्ताका बीच दूरी बढ्दै गएको हङकङको नेपाली समाजमा ‘नेपथ्य’ ले आफूलाई सेतुका रुपमा प्रस्तुत गर्यो ।
यहाँ रहेका पुराना पुस्ता नेपाली मनोरञ्जनात्मक कार्यक्रममा रमाउने गरे पनि यतै हुर्केका नयाँ पुस्ताले आफूलाई विदेशी स्वादमा आफूलाई ढालिरहेका बेला आइतबार युन लुंग थिएटरमा दुवै पुस्ता सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे ।
कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार’ बाट हुँदा झण्डै साढे चार दशकअघि यो गीत तयार पारेका विक्रम गुरुङ पनि दर्शकदीर्घामा साक्षी भएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झण्डै तीन दशकदेखि हङकङमा शिक्षण पेशा अँगाल्दै आएका छन् ।
कुनै समयमा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्तले लेखेका गीतलाई संगीतबद्ध गरेका उनको लागि आइतबारको साँझ नोस्टाजिक बन्न पुग्यो ।
‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलो पटक सुनेँ,’ गुरुङले भने, ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उतिबेलाको मुड यसमा अटाएको पाएँ ।’ गीत सुनेर आफू सन्तुष्ट बनेको उनले बताए ।
कार्यक्रमको सुरुमै गायक अमृत गुरुङले दर्शकलाई सम्बोधन गरे, ‘आज होलीको रङ खेल्न तपाईंहरुसँग आइपुगेको छु । शब्द र संगीतको यो रङमा नेपालको माया भरिएको छ ।’
यहाँस्थित तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’ को यो प्रस्तुतिमा नेपथ्यका नयाँ पुराना गीतहरुको मिश्रण थियो ।

‘हङकङमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ,’ अढाइ दशकदेखि यतै बस्दै आएका यातायात व्यावसायी शेरबहादुर पुन भनिरहेका थिए, ‘यस्तो अवस्थामा दोस्रो पुस्तालाई नेपालसँग कसरी जोड्ने भनेर मुश्किल परिरहेको बेलामा नेपथ्यको प्रस्तुतिले सजिलो पारिदियो ।’
दुई घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले बढीजसो नयाँ सिर्जना गरिएका गीतहरु सुनाएको थियो । त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमकोअन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको ‘तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली’ बाट गरिएको थियो ।
कार्यक्रममा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ रमादलमा शान्ति रायमाझीले सघाएका थिए ।
नेपथ्यको आगामी प्रस्तुति अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुनेछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4