Comments Add Comment

‘नगर प्रमुख होइन, जनताको सेवक भएर काम गर्छु’

गोरखा नगरपालिकाका मेयर पन्तको नगर-सपना

१० जेठ, गोरखा । विद्यार्थी राजनीतिमा लाग्ने क्रममा एक समय राजनराज पन्तले झण्डै ज्यान गुमाउनुपरेको थियो । त्यतिबेला पुनर्जीवन पाएका उनै पन्त गोरखा नगरपालिकाको मेयर भएर अहिले गोरखालाई नयाँ जीवन दिन कस्सिएका छन् ।

नेपाली कांग्रेसबाट नगर प्रमुख बनेका पन्तले नगरका लागि विभिन्न योजना साँचेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्दादेखि नै उनले गोरखा सदरमुकाम र आसपासको समस्या देख्दै-भोग्दै आए ।

त्यसै क्रममा जनजीविका बुझ्ने मौका पाएका उनले नगरक्षेत्रका बासिन्दालाई नगरवासीको अनुभूति गराउने गरी काम गर्ने योजना बुनेका छन् ।

नगर प्रमुख हुने अवस्थासम्म आइपुग्दा राजनराजले विगतमा राजनीतिक जीवनमा धेरै आरोह-अवरोह खेपेका छन् । उनले स्ववियु चुनावदेखि कांग्रेसको जिल्ला सचिवसम्ममा पराजय बेहोरेका थिए ।

१४ वर्षकै उमेरमा राजनीति

राजनराज ०३४ साल मंसिर २२ गते गोरखा नगरपालिका वडा नम्वर ७ धारापानीमा जन्मिएका हुन् । मध्यम आर्थिक अवस्था भएको परिवारमा उनी हुर्किए । उनका पिता सामान्य व्यापारी थिए । हजुरबुवा भने ०४३ सालमा गोरखकाली गाविसको उपप्रधानपञ्च थिए ।

नाति पनि १४ वर्षकै ठिटो उमेरमा राजनीतिमा होमिएका थिए । उनी नेविसंघमा स्कूले बेलामै आबद्ध भएका थिए ।

६ कक्षासम्म गोरखामा अध्ययन गरेका राजनराज लमजुङको जनकल्याण माविमा कक्षा सातमा भर्ना हुन पुगे । ०४७ सालमा १४ वर्षे उमेरमै उनले सोही विद्यालयको नेविसंघको इकाई अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरे ।

त्यसको अर्को वर्ष नै नेविसंघ लमजुङको जिल्ला सदस्य बने । लमजुङमै एसएलसी परीक्षा सकेर उनी गोरखा क्याम्पसमा भर्ना हुन आए । ०४९ सालमा गोरखा क्याम्पस नेविसंघ इकाई सचिव बनेका पन्तले ०५१ सालको स्ववियू निर्वाचनमा भने पराजय भोग्नुपर्‍यो । उनले सचिवका लागि उम्मेदवारी दिएका थिए ।

पराजित भए पनि हार नखाएका पन्त ०५३ सालमा नेविसंघ जिल्ला सचिव भए । ०५५ सालमा गोरखा क्याम्पसको स्ववियू सभापति बनेर आˆनो राजनीतिक यात्रालाई झन् बलियो बनाए ।

लगत्तै ०५६ सालमा उनी नेविसंघ जिल्ला अध्यक्ष बन्न सफल भए । ०५९ सालदेखि ०६४ सालसम्म तीन कार्यकाल नेविसंघको केन्द्रीय सदस्य भएका पन्त ०६२ सालमा पार्टीको जिल्ला सदस्य बन्न पुगे ।

त्यसपछि उनले ०६५ देखि ०७२ सम्म कांग्रेस नगर सभापति भएर काम गरे । ६८ सालमा महासमिति सदस्य भएका पन्तले ०७२ सालमा भएको पार्टीको आन्तरिक चुनावमा सचिव पदमा पराजय भोग्नुपर्‍यो ।

पन्तले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

मरेर बाँचेको त्यो दिन

राजनीतिक करिअर बनाउन राजनराजले जति संघर्ष गरे, विपक्षी दलको कोपभाजन पनि झेले । ०५७ माघ २६ गतेको दिन कदापि भुल्न सक्दैनन् ।

गोरखा क्याम्पसमा ०५७ साल फागनु १४ गते स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव हुँदै थियो । निर्वाचनको आचारसंहिता बनाउने मिटिङ सकेर स्ववियू कार्यालय अगाडि आइपुगेका उनलाई एक्कासी माओवादी कार्यकर्ताले आक्रमण गरे ।

निर्घात कुटपिटपछि मर्‍यो भनेर उनलाई फालिएको थियो । त्यही बेला उनको दाहिने हातको चोरी औंला माओवादी कार्यकर्ताले काटिदिएका थिए ।

त्यसबेला पुनर्जीवन पाएका पन्त अब मेयरको दायित्वबोध गर्दै समृद्ध नगर बनाउन जुट्ने अठोट लिएका छन् ।

पाँच वर्षमा नगरको मुहार फेर्ने

ऐतिहासिक गोरखा दरबार तथा सदरमुकाम क्षेत्र रहेको गोरखा नगरपालिकाको मेयर बनेपछि राजनराजले यतिबेला योजनाका प्राथमिकता केलाइरहेका छन् ।

पन्तले पाँच वर्षे कार्यकालमा गोरखालाई समृद्ध नगर बनाउने परिकल्पना गरेका छन् । ऐतिहासिक धरोहर भएकाले गोरखालाई पर्यटकीय केन्द्र बनाउने उनको योजना छ ।

सरकारी घोषणामा नगरपालिका हुने तर आम सर्वसाधारणमा त्यसको कुनै अनुभूति नहुने अवस्था नआओस् भन्नेमा उनी सचेत छन् ।

‘नगरक्षेत्रका बासिन्दालाई नगरवासीको अनुभूति गराउन नगरक्षेत्रमा देखिएका समस्या समाधानमा जुट्नेछु’, राजनराजले अनलाइनखबरलाई सुनाए ।

नगरवासीहरुले सरकारी सेवा सरल र सहज रुपमा पाउने व्यवस्था मिलाउनु पहिलो लक्ष्य रहेको उनले खुट्याएका छन् । उनले बेरोजगार समस्यालाई पनि उत्तिकै चुनौतीपूर्ण देखेका छन् । बेरोजगार युवा लक्षित कार्यक्रम ल्याएर बेरोजगार समस्या हल गर्ने उनको योजना छ ।

लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको देशको एकमात्र टायर उत्पादक कम्पनी पनि आफ्नै कार्यकालमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने उनको लक्ष्य छ ।

‘यसका साथै घरेलु उद्योगहरुको स्थापना गर्नमा पनि मेरो जोड रहनेछ’, उनले बताए ।

पछिल्ला वर्षहरुमा गोरखामा खानेपानीको समस्या चरम बन्दै गएको छ । यो समस्यालाई ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेर निराकरण गर्ने उनले सुनाए । अर्कातिर, भूकम्पपछिको पुनर्निर्माणको दायित्वलाई पनि उनले कम आँकेका छैनन् ।

‘भूकम्पपीडितहरुको समस्या समाधानमा पनि दृढरुपमा लागिपर्छु’, उनले बताए, ‘समग्रमा नगर प्रमुख नभई जनताको सेवक भएर काम गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment