+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
71/4 (12.1)
Shares

अलफ्ट होटल सन् २०१८ बाट सञ्चालनमा आउने, ७० प्रतिशत काम सकियो

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ असार २१ गते १४:१८

२१ असार काठमाडौं । ठमेलको भगवानबाहल क्षेत्रमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय ब्राण्डको अलफ्ट बिजनेश होटल सन् २०१८ बाट सञ्चालनमा आउने भएको छ । पुर्वनिर्धारित समयभन्दा झन्डै एक वर्ष ढिलो गरी होटल सञ्चालनमा आउन लागेको हो ।

सन् २०१७ बाटै सञ्चालनमा ल्याउने पूर्वयोजना रहेको यस होटलको निर्माणमा भूकम्प र नाकाबन्दीले प्रभावित गरेको थियो । ठमेलकोे करिव १५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको व्यापारिक कम्पलेक्स ‘छायाँ सेन्टर’ मा रहने यो पाँचतारे होटल स्टारउडको ‘अलफ्ट ब्रान्ड’ का नाममा सञ्चालन हुँदैछ ।

स्टारउडले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटलहरू सञ्चालन गर्दै आइरहेको छ । यसले अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस जस्ता होटल सञ्चालन गरिरहेको छ ।

होटल सञ्चालक सुमन पाण्डे भन्छन्, ‘स्ट्रक्चरको सबै काम सकिएको छ, अहिले २०१८ भित्रै होटल सञ्चालनमा ल्याउने गरि हामीले काम अघि बढाएका छौं ।’ उनका अनुसार अहिले छायादेबी कम्पलेक्समा द्रुतताका साथ फिनिसिङको काम अघि भइरहेको छ ।

छायादेबी कम्पलेक्सकै स्ट्रक्चरको भने सबै काम सकिएको छ । जसमा अहिले फिनिसिङको काम मात्रै बाँकी  छ । पसल तथा अन्य कार्यालय सञ्चालन गर्नेलाई भने यही सेप्टेम्बरदेखि जिम्मा लगाउने निर्माण समुहको तयारी छ । पाण्डेले भने, ‘सेप्टेम्बरमा विभिन्न पसल सञ्चालन गर्न लागेकालाई ह्यान्डओभर सञ्चालन गर्ने तयारीमा छौ, डिसेम्बरदेखि पसलहरु सञ्चालनमा आइसक्छन् ।’

छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य र सुहृद घिमिरेको लगानी छ । यो कम्प्लेक्सको पाँचौ तलादेखि १५ औं तलासम्म अलफ्ट होटल सञ्चालनमा आउन लागेको हो । ५ अर्ब बराबरको लगानी रहेको यो होटलमा २ सय २० वटा कोठा रहनेछन् ।

अन्य तलामा पसल, रेष्टुरेन्ट विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखाहरु, एयरलाइन्स तथा ट्राभल एजेन्सीहरु सञ्चालनमा आउन लागेका छन् ।

अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङ स्थल रहने छ । साथै यसमा हाइड्रोलिक पार्किङको व्यवस्था गर्न लागिएको छ ।  यो कम्प्लेक्स २४ घण्टा नै खुल्ला राख्ने सञ्चालकहरुको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?