+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
59/4 (10.2)
Shares
सन्दर्भ : विश्व माटो दिवस २०२५ :

‘जुन देशले माटो बिगार्छ, त्यसले आफ्नो भविष्य पनि बिगार्छ’

विश्वभर माटोको बिग्रँदो स्वास्थ्यलाई लिएर चासो र चिन्ताहरू बढ्दै जाँदा यस वर्षको विश्व माटो दिवसको नारा ‘स्वस्थ माटो, स्वस्थ शहर’ ले पनि स्वस्थ माटोको महत्वलाई उजागर गर्दै माटो स्वस्थ भएमा मात्र हाम्रा शहरहरू पनि स्वस्थ हुनेछन् भन्ने सन्देश दिएको छ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०८२ मंसिर १९ गते १६:५१

‘जुन देशले माटो बिगार्छ त्यो देशले आफ्नो भविष्य पनि बिगार्छ’ यो प्रसिद्ध भनाइ प्रकृतिप्रेमी तथा संरक्षणवादीको रूपमा पनि चिनिने संयुक्त राज्य अमेरिकाका ३२औं राष्ट्रपति फ्याङ्कलिन डी रुजबेल्टको हो। यो भनाइले स्वस्थ माटोको महत्वलाई दर्साउँछ।

स्वस्थ माटो र यसको महत्व

स्वस्थ माटोको बहुआयामिक महत्व रहेका छन्। हामीले खाने ९५ प्रतिशत खाना प्रत्यक्ष अप्रत्यक्ष रूपमा माटोबाट नै आउने हुँदा खाद्य सुरक्षामा माटोको योगदान अतुलनीय छ। माटोले विश्वका अर्बौं साना कृषक तथा सीमान्तकृत वर्गको आय एवं जीविकोपार्जनमा समेत प्रत्यक्ष भूमिका खेलेको हुन्छ।

त्यसैगरी पछिल्लो एक अध्ययनका अनुसार पृथ्वीमा पाइने प्राणी तथा वनस्पतिजन्य विविधता मध्ये करिब ५९ प्रतिशत विविधता माटोमा पाइन्छ। तसर्थ जैविक विविधता र यसको संरक्षणको दृष्टिले माटोको उच्च महत्व रहेको छ।

एक मुठी स्वस्थ माटोमा पृथ्वीको जनसंख्या भन्दा बढी आँखाले देख्न सकिने जीवहरू र आँखाले देख्न नसकिने सूक्ष्म जीवहरू पाइन्छन् भनिन्छ। माटोमा पाइने यी सूक्ष्मजीवहरूले बोटबिरुवालाई आवश्यक खाद्य तत्व उपलब्ध गराउन र माटोलाई उर्वर बनाइराख्नमा अहम् भूमिका खेलेका हुन्छन्।

त्यसैगरी स्वस्थ माटोले वर्षाको पानी सोसेर बाढी र भूक्षय रोक्न मद्दत गर्नुका साथै माटोमा चिस्यान कायम राखी सुख्खाको समयमा बिरुवालाई उपलब्ध गराउने कार्य गर्छ। यसको अलावा फिल्टरको काम गरी पानीलाई शुद्ध बनाउने कार्य पनि गर्दछ।

मानव र पशुपन्छीको स्वास्थ्यको दृष्टिले पनि स्वस्थ माटोको ठूलो महत्व रहेको हुन्छ। स्वस्थ माटोमा पाइने विविध खाले औषधीय महत्व रहेका वनस्पतिबाट विभिन्न रोगको उपचारमा प्रयोग हुने औषधिहरू बन्ने गर्छन् भने मानिस र जनावरमा प्रयोग हुने एन्टिबायोटिक औषधि मध्ये ७० प्रतिशत भन्दा बढी माटोमा रहने सूक्ष्म जीवाणु खासगरी ब्याक्टेरियाले उत्पादन गर्ने विशेष प्रकारको पदार्थबाट तयार हुन्छ।

साथै माटो विभिन्न प्रकारका खनिजको स्रोत हुनुको साथै उपयोगी सामान तथा भवन लगायत संरचना बनाउन र विकास निर्माणको कार्यमा समेत उपयोग हुने गरेको छ।

यसको अलावा वैश्विक जलवायु सन्तुलनको दृष्टिले माटोको ठूलो महत्व रहेको छ। माटोले वायुमण्डल र वनस्पतिमा पाइने भन्दा पनि बढी कार्वनलाई आफूमा समाहित गरेर राखेको हुन्छ। स्वस्थ माटोले वायुमण्डलबाट कार्वन सोस्ने र जमिनबाट हुने कार्वन उत्सर्जन कम गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

यी सबै कारणले गर्दा माटोलाई जीवनको आधारको रूपमा लिइन्छ। स्वस्थ माटोको यिनै विविध महत्व एवं यसको संरक्षण र दिगो उपयोग बारे सचेतना फैलाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१४ देखि प्रत्येक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिन्छ।

माटोको स्वस्थता तथा गुणस्तर ह्रास एवं मरुभूमिकरण

एकइन्च माटो बन्न एक सयदेखि एक हजार वर्षसम्म लाग्ने अनुमान गरिन्छ। तर यति अमूल्य प्राकृतिक स्रोत विश्वले गुमाउँदै गरेको अवस्था छ। विश्वको ४० प्रतिशत माटो बिग्रिसकेको र यो क्रम यसै जारी रहेमा अबको करिब २५ वर्षमा विश्वको ९० प्रतिशत माटो बिग्रिसक्ने अनुमान गरिन्छ।

विश्वले क्षयीकरणको कारण प्रत्येक सेकेन्ड चार वटा फूटबल मैदान बराबरको स्वस्थ जमिन गुमाइरहेको छ जुन वार्षिक रूपमा १० करोड हेक्टर हुन आउँछ।

त्यसै गरी संयुक्त राष्ट्रसंघले सन् २०१४ मा गरेको एक अनुमान अनुसार वर्तमानको माटो बिग्रने दर कायम रहेमा जम्मा ६० वर्षसम्म मात्र माटोमा खेतीपाती गर्न सकिन्छ। यसले विश्वको खाद्य सुरक्षा र मानव अस्तित्व नै संकटमा पर्न सक्ने जोखिम रहेको संकेत गर्दछ।

नेपालमा पनि माटोको क्षयीकरण दर उच्च रहेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायत संस्था र सरकारी निकायहरूबाट विभिन्न समयमा जमिन, माटो तथा पर्यावरण ह्रासको अवस्था बारे अध्ययन–अनुसन्धान गर्ने गरेका छन्।

करिब दुई दशक अघिको त्यस्ता अध्ययनहरूको आधारमा नेपालको कुल जमिन मध्ये कम्तीमा ४० प्रतिशत जमिन क्षयीकरण भएको अनुमान गरिएको थियो भने सन् १९८० को दशकतिरै कुल कृषि भूमि मध्ये करिब १३ प्रतिशत जमिनको गुणस्तर निकै नै ह्रास भएको आँकडा निकालिएको थियो।

हामी देश विकास र आर्थिक समृद्धिको धेरै कुरा गर्छौं तर दीर्घकालीन खाद्य सुरक्षा र भावी पुस्ताको भविष्यसँग जोडिएको माटोको स्वास्थ्य जस्तो यति महत्वपूर्ण विषयमा कम सरोकार राख्छौं। हाम्रो संसद् तथा राजनैतिक पार्टीहरूका बैठक तथा कार्यक्रमहरूमा माटो बिग्रँदै गएको र यसलाई बचाउनुपर्ने बारेमा खासै छलफल तथा बहस हुने गरेको पाइँदैन।

त्यसैगरी सन् १९९० दशकको एक अध्ययनले नेपालले वार्षिक २४ करोड घनमिटर जमिनको सबैभन्दा माथिल्लो सतहको मलिलो माटो गुमाउने गरेको र नेपालको भिरालो जमिनबाट प्रति वर्ष एक हेक्टर जमिनबाट ८७ टन माटो बगेर खेर जाने गरेको देखाएको थियो। अर्को एक अध्ययनले भने नेपालमा वार्षिक औसतमा प्रति हेक्टरबाट २५ टन माटो क्षयीकरण हुने गरेको देखाएको छ।

बहुसंख्यक जनताको जीविकोपार्जनको मुख्य आधारको रूपमा रहेको र राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रको उत्पादन माटोको गुणस्तरमा धेरै हदसम्म निर्भर रहने हुँदा माटोको बिग्रँदो स्वास्थ्य यतिबेला कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो समस्या एवं चिन्ताको विषय बनेको छ।

माथिका यी केही तथ्याङ्कले माटोको बिग्रँदो स्वस्थता एवं गुणस्तरको कारण भविष्यमा कृषि उत्पादनमा पर्न सक्ने असर तथा आइपर्न सक्ने खाद्य संकट बारे गम्भीर संकेतहरू गर्दछन्।

यसै सन्दर्भमा हालै ब्राजिलको बेलेममा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी कोप–३० मा पनि माटोको स्वास्थ्य एवं क्षयीकरण कम गर्ने विषयमा विगतका कोपहरूको तुलनामा घनीभूत एवं विस्तृत छलफलहरू भई कैयौं विषयमा सहमति समेत भएका छन्।

तिनैमध्ये क्षयीकरण भएको कृषि भूमिको पुनर्स्थापनाको लागि सार्वजनिक-निजी वित्त परिचालन गर्ने सम्बन्धी आरएआईजेड एक्सेलेटरको स्थापना एक महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।

यसरी विश्वभर माटोको बिग्रँदो स्वास्थ्यलाई लिएर चासो र चिन्ताहरू बढ्दै जाँदा यस वर्षको विश्व माटो दिवसको नारा ‘स्वस्थ माटो, स्वस्थ शहर’ ले पनि स्वस्थ माटोको महत्वलाई उजागर गर्दै माटो स्वस्थ भएमा मात्र हाम्रा शहरहरू पनि स्वस्थ हुनेछन् भन्ने सन्देश दिएको छ।

नेपालमा माटो क्षयीकरण तथा माटोको स्वास्थ्य बिग्रनुका मूल कारण एवं असर

माटोको स्वास्थ्य बिग्रनुमा प्राकृतिक र मानवजन्य दुवै कारण जिम्मेवार छन्। नेपालको अधिकांश भूभाग भिरालो तथा पहाडी भू–धरातल भएको एवं भूसतह कमजोर भएको कारण भूक्षय यसै पनि बढी हुने गर्छ त्यसमा पनि वर्षात्‌को पानीले सतहको खुकुलो माटो बगाउँदा मलिलो माटो बगेर खेर जाने र माटोको गुण बिग्रने गर्दछ।

माटो बिग्रनुको मानव सिर्जित कारणहरूमा मूलतः अवैज्ञानिक प्रकारको खेतीपाती एवं मलखादको तरिकाहरू जिम्मेवार छन्।

खासगरी अत्यधिक खनजोत गरी माटो खुकुलो बनाइने एवं माटोलाई खुला छोड्ने प्रवृत्तिले गर्दा हावाले उडाएर तथा वर्षात्‌को पानीले बगाएर मलिलो माटो खेर जाने गरेको छ भने वर्षात्‌को समयमा माटोका मसिना कणले माटोको सतहका प्वालहरू टालिंदा माटोको पानी सोस्ने क्षमता घट्नुको साथै डुवान र बाढीको समस्या समेत निम्त्याउने गरेको छ।

त्यसै गरी बारम्बार एउटै गहिराइमा जोतिंदा र चार चक्के ट्रयाक्टर र अन्य कतिपय ठूला मेशिनरीहरूको प्रयोगले माटोमा कडापनको सतह बनी जमिनमुनि पानी छिर्न र बिरुवाको जरा फैलन नपाउने भई माटोको गुणस्तर र उत्पादनमा ह्रास आउने गरेको छ।

त्यस्तै माटोमा छापो हाल्ने तथा छापो बाली लगाउने परम्परागत अभ्यास घट्दै जाँदा खुला जमिनबाट चिस्यान वाष्पीकरण भई माटो सुख्खा हुने र यसले गर्दा बोटबिरुवाको वृद्धि विकासलाई आवश्यक चिस्यानको अभाव हुनाको साथै माटोको जीवनको रूपमा रहेको सूक्ष्मजीवहरूको संख्या र जीवनचक्र समेतमा नकारात्मक असर परी माटोको उर्वराशक्ति र समग्र गुणस्तरमा ह्रास आएको पाइन्छ।

त्यसैगरी बाली विविधीकरण गर्ने र बाली चक्र अपनाउने प्रवृत्ति घटेर व्यावसायिक खेतीको नाममा एकै प्रकारको र सीमित बाली लगाउने क्रम बढ्दै गएको कारण माटोमा बोटबिरुवाको लागि आवश्यक खाद्य तत्वको असन्तुलन, माटोको जैविक विविधता एवं समग्र गुणस्तरमा ह्रास र परागसेचकको साथै लाभदायक कीरा एवं जीवहरूको संख्यामा कमि भई बालीनालीमा रोग–कीराको प्रकोपमा व्यापक वृद्धि भएको पाइएको छ।

अर्कोतर्फ आजकल माटोमा प्राङ्गारिक मल तथा कम्पोष्टको प्रयोग नहुने वा ज्यादै न्यून हुने र रासायनिक मलखाद र त्यसमा पनि यूरिया जस्तो नाइट्रोजनयुक्त मलको मात्र अत्यधिक प्रयोगले गर्दा माटोमा अम्लीयपना बढ्न गई माटोको उर्वराशक्ति र बाली उत्पादनमा प्रत्यक्ष असर परेको छ।

प्राकृतिक कारणले हुने जमिनको क्षयीकरण, जलवायु परिवर्तन र भू–उपयोग परिवर्तनको कारण कृषियोग्य भूमिको क्षय र गुणस्तर ह्रासलाई समेत सम्बोधन गर्ने गरी आवश्यक कानूनी संरचना सहित तीनै तहका सरकारहरूको संलग्नतामा एक बृहत् ‘राष्ट्रिय स्वस्थ माटो अभियान’ सञ्चालन गर्नु अत्यावश्यक देखिएको छ।

त्यसैगरी माटोमा उपलब्ध फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, जिंक, बोरन र मोलिब्डेनम जस्ता खाद्य तत्वहरू अम्लीय माटोमा बिरुवाले सोसेर लिन नसक्ने वा उपलब्ध हुन नसक्दा बिरुवाको वृद्धि विकास र उत्पादन एवं गुणस्तरमा समेत नकारात्मक असर पर्ने गरेको छ।

विश्वव्यापी रूपमा बालबालिका तथा युवाहरू र अन्य उमेर समूहमा बढ्दै गएको विभिन्न भिटामिन तथा खनिज जस्ता सूक्ष्म पोषक तत्वहरूको कमि माटोमा सूक्ष्म तत्वको कमिको कारणले गर्दा पनि भएको पाइएको छ।

विश्व प्रख्यात नेचर जर्नलको सन् २०२३ को अनलाइन संस्करणमा भारतमा गरिएको एक सर्वेक्षणको नतिजामा माटोमा विद्यमान जिङ्क र आइरनको स्तर बालबालिकाको पुड्कोपना र महिलाहरूको हेमोग्लोविनको स्तरसँग मेल खाएको पाइएको थियो।

अझ महत्वपूर्ण त के छ भने रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले गर्दा माटोका सूक्ष्म जीवहरू मर्ने तथा तिनको जीवनचक्र खल्बलिन जाँदा बोटबिरुवाले माटोबाट आवश्यक खाद्य तत्व प्राप्त गर्न नसक्नुको साथै र माटोको समग्र गुणस्तरमा नकारात्मक असर पर्दै गएको छ।

वन विनाश एवं जथाभावी खनिएका सडक र अव्यवस्थित भौतिक संरचनाको कारण पहिरो जाने तथा भूक्षय हुने क्रम बढ्नु माटोको क्षयीकरणका अन्य महत्वपूर्ण कारणहरू हुन्।

यसको अतिरिक्त जलवायु परिवर्तनको कारण वर्षाको प्रवृत्तिमा परिवर्तन आई बादल फाट्ने घटना बढ्दा बाढी, पहिरो, नदी कटान, डुबान र खेतीयोग्य जमिन बालुवाले ढाक्ने तथा मरुभूमिकरण हुने क्रम बढ्दै गएको छ।

माटोको स्वास्थ्य सुधार तथा दिगो माटो व्यवस्थापनका केही व्यावहारिक उपाय

दिगो माटो व्यवस्थापनका पद्धतिहरू अवलम्बन गर्न सकिएमा हालको उत्पादनमा करिब ५८ प्रतिशत वृद्धि गर्न सकिने अध्ययनहरूले देखाएका छन्।

माटोको स्वास्थ्य सुधार तथा दिगो माटो व्यवस्थापनको मूल उद्देश्य माटोमा नै बिरुवाको लागि आवश्यक खाद्य तत्व बन्ने र बिरुवाले लिने प्रक्रियालाई मद्दत गर्नु, माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउनु एवं विभिन्न प्रकारका लाभदायक जीवहरूको संख्या, विविधता र सक्रियता बढाउनु, माटोको पानी सोस्ने तथा धारण गर्न सक्ने क्षमता वृद्धि गर्नु हो।

माटोको स्वस्थता कायम गरी दीर्घकालीन रूपमा बोटबिरुवाको लागि खाद्य तत्व व्यवस्थापन गर्न सबैभन्दा पहिला माटोमा प्राङ्गारिक पदार्थ बढाउनु आवश्यक छ।

यसको लागि गोठेमल तथा विभिन्न प्रकारका कम्पोष्ट मल एवं हरियो मलको उपयोग बढाउनुपर्छ भने विभिन्न कोसेबालीहरूलाई छापोबालीको रूपमा लगाउने र बोटबिरुवाका पात–पतिङ्गरको साथै हाँगाबिंगा र अन्य भाग काटेर माटोमा छापो दिने गर्नुपर्दछ।

साथै बाली भित्र्याएपछि सम्भव भएसम्म जरालाई जमिनमुनि नै रहन दिने र बोटबिरुवाको जमिनमाथिको भागको कम्तीमा एक चौथाइ हिस्सा जमिनमा नै रहन दिने गर्नुपर्दछ।

बिरुवालाई आवश्यक खाद्य तत्व आपूर्ति र सूक्ष्मजीवहरूको संख्या बढाउन जीवामृत वा झोलमल बनाई प्रयोग गर्नुपर्छ। त्यसैगरी यसको लागि ईएम र अन्य लाभदायक ढुसीजन्य एवं ब्याक्टेरियाजन्य सूक्ष्मजीवहरू तथा तिनको समूह (कन्सोर्टियम) को प्रयोग गर्न सकिन्छ।

माथि चर्चा गरिए जस्तै माटोलाई अत्यधिक खनजोत गरी खल्बल्याउँदा र माटोलाई खुला छोड्दा मलिलो माटो उडेर वा पानीले बगेर खेर जाने, बिरुवाको लागि दिगो रूपमा खाद्य तत्व उपलब्ध गराउने ह्यूमस भनिने खजाना बन्न नपाउने, लाभदायक कीरा र सूक्ष्मजीवलाई नराम्रो असर पर्ने, माटोको पानी सोस्ने र धारण गर्ने क्षमता घटी माटो सुख्खा हुने र बोटबिरुवालाई चिस्यानको अभाव हुने भई समग्रमा माटोको स्वास्थ्य एवं गुणस्तरमा ह्रास हुने क्रम बढ्दै गएको कारण कृषकहरूले बुझ्नै पर्ने कुरा के छ भने अब हामीले कम खनजोत गरी खेती गर्ने पद्धतिहरू अवलम्बन गर्न जरूरी भइसकेको छ।

कृषि प्राविधिकहरूको सल्लाह र सहयोगमा संरक्षण कृषि, कम वा न्यून खनजोत प्रविधिको कृषकहरूले अवलम्बन गर्न सक्छन्।

त्यसैगरी एकै प्रकारको बाली नलगाई माटोको विभिन्न तहको गहिराइसम्म जरा पुग्ने विभिन्न प्रकारका बालीहरूको खेती गर्नु एवं वनस्पति लगाउनु उचित हुन्छ।

साथै कृषि वन प्रणाली अन्तर्गत विभिन्न फलफूल, डालेघाँस र अन्य बालीहरूको खेती गर्न सकियो भने आम्दानी पनि बढ्ने र माटोको स्वस्थतालाई पनि राम्रो प्रभाव पर्ने हुन्छ।

यसैगरी उपलब्ध जमिनको उच्चतम सदुपयोग गरी बढी फाइदा लिन र माटोको स्वास्थ्य तथा पर्यावरणीय सेवाहरूमा सुधार गर्न विभिन्न उचाइ भएका बालीहरू एकै स्थानमा लगाउने तहगत खेती पद्धति पनि अपनाउन सकिन्छ। साथै हाम्रो जस्तो पहाडी भू–धरातलको लागि माटो बगेर खेर जान रोक्ने कन्तुर खेती तथा साल्ट खेती पद्धतिको अवलम्बन पनि उपयोगी हुनसक्छ।

रासायनिक मलखादको मात्र प्रयोग र त्यसमा पनि युरिया र एमोनियम सल्फेट जस्ता नाइट्रोजनयुक्त मलको मात्र प्रयोगले माटोको गुणस्तर ह्रास हुँदै गइरहेको तथ्यलाई मनन् गरी अनिवार्य रूपमा माटो जाँच गरी माटोमा अम्लीयपना भएमा सुधारको लागि कृषि चूनको प्रयोग गर्नुपर्दछ।

माटोको क्षयीकरण बढ्दै जाँदा मानव अस्तित्व नै जोखिममा पर्न सक्ने देखिएको आजको यथार्थताका बीच जीवनको आधारको रूपमा रहेको माटो जोगाई भावी पुस्तालाई स्वस्थ माटो हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो। यस दिशामा लाग्न विश्व माटो दिवसले सबैलाई प्रेरणा देओस्।

साथै माटो जाँचको आधारमा सन्तुलित मात्रामा रासायनिक मलखादको साथै प्राङ्गारिक तथा जैविक मलको पनि प्रयोग गरी क्रमशः माटोको दिगो व्यवस्थापन गर्दै रासायनिक मलको प्रयोग घटाउँदै जानुपर्दछ। यस दिशामा डिजिटल माटो नक्शा, डिजिटल तथा प्रिजिजन प्रविधिको पनि उपयोग गर्न सकिनेछ।

साथै हाम्रो सन्दर्भमा बोटबिरुवाको खानाको रूपमा खाद्य तत्व उपलब्ध गराउन र माटोमा प्राङ्गारिक पदार्थ बढाउन पशु–वस्तुको मल तथा मूत्र व्यवस्थापन अति नै महत्वपूर्ण हुने भएकोले गोठ तथा भकारो सुधार गरी मलमूत्र संकलन र उपयोगलाई अभियानको रूपमा लैजानुपर्ने देखिन्छ।

साथै अबको दिनमा रासायनिक मलखाद र विषादीको प्रयोगमा निर्भर खेती प्रणालीको सट्टा पर्यावरणीय कृषि, संरक्षण कृषि, प्राकृतिक खेती, प्राङ्गारिक कृषि, एकीकृत खेती प्रणाली जस्ता दिगो र उत्थानशील कृषि प्रणालीको उपयोगतर्फ अघि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ।

माटोको स्वास्थ्य सुधारका लागि नीतिगत सवाल तथा सरोकारवालाको भूमिका

हामी देश विकास र आर्थिक समृद्धिको धेरै कुरा गर्छौं तर दीर्घकालीन खाद्य सुरक्षा र भावी पुस्ताको भविष्यसँग जोडिएको माटोको स्वास्थ्य जस्तो यति महत्वपूर्ण विषयमा कम सरोकार राख्छौं।

हाम्रो संसद् तथा राजनैतिक पार्टीहरूका बैठक तथा कार्यक्रमहरूमा माटो बिग्रँदै गएको र यसलाई बचाउनुपर्ने बारेमा खासै छलफल तथा बहस हुने गरेको पाइँदैन।

राष्ट्रिय मल नीति २०५८ र अन्य केही सरकारी नीतिहरूमा एकीकृत माटो व्यवस्थापनको बारेमा व्यवस्था भए पनि कृषकलाई रासायनिक मलमा अनुदान दिनमा नै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आधा भन्दा बढी बजेट खर्चिनु परेको अवस्था छ।

रासायनिक मलखादको सन्तुलित प्रयोग र यसको विकल्पमा काम गर्नुपर्ने आवश्यकता बारे आम जनतालाई बुझाउने मामिलामा राजनैतिक वृत्त उदासीन जस्तो देखिन्छ भने नागरिक समाज, मिडिया र समाजका अन्य क्षेत्र एवं सरोकारवालाले पनि त्यति धेरै चासो र चिन्ता लिएको देखिंदैन।

रासायनिक मलखाद र विषादिमा आधारित खेती प्रणाली दिगो र उत्थानशील नभएको कारण विश्वव्यापी रूपमा दिगो कृषिको अभियानहरू चलेका छन्।

अब हामीले पनि रासायनिकयुक्त खेती प्रणालीको विकल्पमा माथि चर्चा गरिए लगायतका उपायहरू अवलम्बन सहितको दिगो, उत्थानशील र समावेशी खाद्य प्रणालीको विकास गर्न अपरिहार्य भएको बारे कृषक र आम जनतालाई सुसूचित एवं जागरुक बनाउन ढिला गर्नुहुँदैन।

यस सन्दर्भमा नेपाल सरकारले केही समय पहिले स्वीकृत गरेको नेपालको खाद्य प्रणाली रूपान्तरणको रणनैतिक योजना (२०८१/८२—२०८६/८७) सबैको लागि मार्गदर्शन हुनसक्ने भएकोले सबै पक्षले यसको अध्ययन, मनन गरी कार्यान्वयनमा सहयोग गर्नु आजको आवश्यकता हो।

यस सन्दर्भमा संविधानले नै कृषि विकासको एकल अधिकार प्रदान गरेका प्रदेश सरकार र स्थानीय तहहरूको चासो र सक्रियता अझ बढ्नुपर्ने देखिन्छ।

यसको लागि अन्य विषयको अलावा तत्काल नै स्थानीय तहहरूले पशुपालन सहितको मिश्रित खेती प्रणाली अपनाउन कृषकलाई आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउन वाञ्छनीय देखिन्छ भने क्रमशः पर्यावरणीय कृषि जस्तो दिगो कृषि प्रणालीको अवलम्बनलाई सहयोग र प्रोत्साहन गर्नुपर्दछ।

यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् र कृषि सम्बन्धी विश्वविद्यालय तथा अध्ययन संस्थाहरूले दिगो कृषि र माटोको स्वास्थ्य सुधार र उर्वराशक्ति व्यवस्थापनका विविध पक्षमा अनुसन्धान एवं अध्ययन–अध्यापन र जनशक्ति विकासलाई उच्च प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ।

नागरिक समाज तथा सञ्चारजगतले माटोको क्षयीकरण र यसलाई कम गर्न अपनाउनुपर्ने उपायबारे छलफल, बहस र सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नु वाञ्छनीय देखिन्छ। त्यसैगरी तीनै तहका सरकारहरूको सहकार्यमा बालबालिका तथा युवा वर्गलाई माटोसँग जोड्न एक छुट्टै अभियान सञ्चालन गर्नु पनि उपयोगी हुने देखिन्छ।

माथि उल्लिखित नीतिगत सवाल तथा सुधारका विषयहरूको अलावा प्राकृतिक कारणले हुने जमिनको क्षयीकरण, जलवायु परिवर्तन र भू–उपयोग परिवर्तनको कारण कृषियोग्य भूमिको क्षय र गुणस्तर ह्रासलाई समेत सम्बोधन गर्ने गरी आवश्यक कानूनी संरचना सहित तीनै तहका सरकारहरूको संलग्नतामा एक बृहत् ‘राष्ट्रिय स्वस्थ माटो अभियान’ सञ्चालन गर्नु अत्यावश्यक देखिएको छ।

माटोको क्षयीकरण बढ्दै जाँदा मानव अस्तित्व नै जोखिममा पर्न सक्ने देखिएको आजको यथार्थताका बीच जीवनको आधारको रूपमा रहेको माटो जोगाई भावी पुस्तालाई स्वस्थ माटो हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो। यस दिशामा लाग्न विश्व माटो दिवसले सबैलाई प्रेरणा देओस्।

(श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?