Comments Add Comment

बागदरबार भत्काउने काठमाडौं महानगरको तयारी

महानगरको बागदरबारमा प्रस्तावित भवनको मूलगेटको डिजाइन

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातात्विक भवन बागदरबार भत्काउन तयारी थालेको छ ।पुरातत्व विभागले रोक्दा रोक्दै महानगरले नयाँ भवन बनाउन भन्दै बागदरबार भत्काउने योजना बनाएको हो ।

पुरानो भवनलाई भत्काएर बनाइने नयाँ भवनको डिजाइन तयार गरिरहेको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उपयुक्त डिजाइन छनौट गरी भवन निर्माणको प्रक्रिया यसैवर्षबाट थाल्ने महानगरको तयारी भएको छ ।

प्रवक्ता कार्कीका अनुसार नयाँ भवन बागदरबारको पुरानै स्वरुपको हुने नहुने तय भइसकेको छैन ।

बागदरबार काठमाडौंको सुन्धारामा ११ रोपनी क्षेत्रफलमा फैलिएको पुरातात्विक महत्वको भवन हो, जुन १२ बैशाख २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रत भएको छ ।

महानगरले यसअघि पनि बागदरबार भवन भत्काएर नयाँ स्वरुपमा बनाउने योजना बनाएको थियो । तर, पुरातत्व विभागले बागदरबार नभत्काउन निर्देशनसहितको पत्र महानगरलाई पठाएएपछि यो प्रक्रिया रोकिएको थियो ।

महानगरपालिका जनप्रतिनिधिहरु आएपछि फेरि बागदरबार भत्काएर नयाँ भवन बनाउन तयारी थालिएको छ । महानगरका प्रवक्ता कार्कीले पुरातत्व विभागसँग छलफल गरेर सहमति जुटाएर नै त्यहाँ नयाँ भवन बनाइने बताए ।

जबकी पुरातत्व विभागले भने बागदरबारलाई रेट्रोफिट गरेर संरक्षण गर्न यसअघि नै पत्र पठाएको छ ।

महानगरपालिकाले भने रेट्रोफिट गर्दा पनि यो भवनलाई ठूला भूकम्पबाट जोगाउन नसकिने निष्कर्ष निकालेको प्रवक्ता कार्कीले बताए ।’धेरै भाग काम नलाग्ने गरी क्षतिग्रस्त भएका छन्’ कार्कीले भने, ‘सकेेसम्म रेट्रोफिट गर्ने हाम्रो प्रयास थियो ।’

उनले परातत्व विभागले भनेको जस्तो बागदरबार सयवर्ष पुरानो नभएको पनि दाबी गरे । बागदरबारमा १९९३ मिति उल्लेख भएका इँटा भेटिएको उनको भनाइ छ । ‘बागदरबार त्यति महत्वपूर्ण परातात्विक सम्पदा होइन । हामी पुरातत्व विभागसँग बसेर नै यसलाई टुंग्याएर निर्माण प्रक्रिया अघि बढाउँछौं’ कार्कीले भने ।

जनप्रतिनिधि नभएको अवस्थमा महानगरपालिकाले बागदरबारलाई रेट्रोफिट गरेर राख्ने र टेकुमा नयाँ कार्यालय भवन निर्माण गर्ने योजना बनाएको थियो । तर, मेयर विद्यासुन्दर शाक्यले यो निर्णय उल्ट्याएर टेकुमा बहुतेले पार्किङ बनाउने र बागदरबारमै केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेका थिए ।

महानगरपालिकाले नयाँ कार्यालय भवन बनाउन यो वर्ष मात्रै १६ करोड रुपैयाँ छुट्याएको छ । बागदरबाारमा कस्तो भवन कहिलेसम्म बन्छ भन्ने टुंगो भने लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment