+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एन्फाका ‘सीईओ’ इन्द्रमान भन्छन्- प्रदेशमा जिताउनुस्, रंगशाला बनाउँछु

एन्फामा राजीनामा बुझाएर काठमाडौं ९ 'क'मा उम्मेदवारी

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७४ कात्तिक २८ गते ९:२४


२८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं-९’क’मा प्रदेशसभा उम्मेदवार बनेका तुलाधरले रंगशाला निर्माण प्रमुख एजेण्डा बनाएका छन् । भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला उनकै क्षेत्रमा पर्छ ।

काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित उम्मेदवार छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका कृष्णगोपाल श्रेष्ठ उठेका छन् ।

प्रदेशसभा ९ (क) मा कांग्रेसबाट उम्मेदवारी दिएका तुलाधरका प्रतिस्पर्धी वाम गठबन्धनबाट एमालेका अजयक्रान्ति शाक्य छन् ।

सार्वजनिक पदमा रहँदैमा चुनावी प्रक्रियामा जान आचारसंहिताले अप्ठेरो पार्ने भएकाले सीईओ पदबाट राजीनामा दिएको तुलाधरले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘१६ (कात्तिक)गते मनोनयन दर्ता गर्नुभन्दा २ दिनअघि नै मैले राजीनामा दिएको हुँ, मेरो राजीनामा स्वीकृत भइसकेको पनि छ ।’

एन्फासँगै उनले राष्ट्रिय खेलकुद परिषदको सहायक प्रशिक्षक र काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यसमितिबाट पनि राजीनामा दिएका छन् ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि तुलाधरको राजीनामा पुष्टि गर्दै कात्तिक १५ गते राजीनामा स्वीकृत गरेको जानकारी दिए ।

सीईओ तुलाधरले राजीनामा दिएपछि सहायक सीईओ राजेन्द्र न्यौपानेले कार्यबाहकको जिम्मा पाएका छन् । नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने माघमा हुने निर्वाचनबाट एन्फाको नयाँ कार्यसमिति आएपछि मात्रै सुरु गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एन्फाका प्रवक्ताको जिम्मेबारीसमेत पाएका तुलाधरले राजीनामा दिएपछि सहायक महासचिव सञ्जीव मिश्रलाई प्रवक्ताको जिम्मेबारी दिएको छ ।

यस्ता छन् तुलाधरका चुनावी एजेण्डा

काठमाडौंको नेवारी समुदायको बाहुल्य भएका ठाउँहरु तुलाधरको क्षेत्र अर्थात काठमाडौं क्षेत्र नम्बर ९ को प्रदेशसभा ‘क’ हो । न्यूरोड, पाको, जैसीदेवल, कालीमाटी लगायत काठमाडौं महानगरपालिकाको वडा नम्बर १२, १४, २१ र २२ यस प्रदेशमा पर्छ ।

प्रदेशसभा सदस्यका लागि उम्मेदवारी भएकाले जनताको स्थानीय समस्या समाधान नै आफ्नो मूख्य एजेण्डा भएको उनले बताए । साथै खेलकुद पृष्ठभूमिको भएका कारण खेलकुद संरचनाको बिकासमा उनले ध्यान दिने भएका छन् ।

‘भूकम्पले क्षतिग्रस्त अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला मेरै क्षेत्रमा पर्छ, त्यसको तीव्र निर्माणका लागि मेरो पहल हुनेछ ।’ उनले थपे, ‘त्यससँगै अन्य खेलकुद पूर्वाधार निर्माण पनि मेरो प्राथमिकतामा पर्नेछ ।’

त्यस्तै उनले पछिल्लो समय काठमाडौं धुलोका कारण कुरुप बन्दै गइरहेको भन्दै धुलोमुक्त काठमाडौं अभियान सुरु गर्ने एजेण्डा पनि उनले लिएका छन् । ‘मेरो प्रदेश क्षेत्रको मात्र नभई यो सम्पूर्ण राजधानीवासीको समस्या हो, यसलाई सबै मिलेर समाधान गर्न एउटा अभियानकै आवश्यक छ जसको लागि मेरो पहल हुनेछ ।’ तुलाधरले अनलाइनखबरसँग भने ।

सामाजिक पहिचान, बिकास निर्माण, भूकम्पले थलिएका राष्ट्रिय सम्पदाको पुनर्निर्माण तथा संरक्षण पनि आफ्नो एजेण्डा रहेको उनले सुनाए । ‘नेवार समुदायको बाहुल्य रहेको मेरो क्षेत्रमा हुने बिभिन्न सांस्कृतिक पर्व, मेला, जात्राहरुको संरक्षण गर्ने दायित्व मेरो हो ।’ उनले भने, ‘भूकम्पले थलिएका राष्ट्रिय सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा छन्, मेरो उम्मेदवारी यसैका लागि हो ।’

मंगलबारदेखि घरदैलो अभियान सुरु गर्ने तयारीमा रहेका तुलाधरले आफ्नो जित निश्चित रहेको दावी गरे । ‘यो मेरो घरेलु क्षेत्र हो, खेलमा जस्तै राजनीतिमा पनि घरेलु मैदानमा जित हासिल गर्न सहज हुनेछ भन्ने अपेक्षा छ ।’ ए डिभिजन क्लव संकटाका अध्यक्षसमेत रहेका तुलाधरले थपे, ‘सामाजिक रुपमा पनि मैले यस क्षेत्रमा धेरै काम गरेको छु ।’

लेखक
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?