२६ पुस, काठमाडौं । रिकण्डिसन व्यवसायको आडमा सवारी साधन भाडामा लिएर करोडौं ठगी गर्ने दुर्इ व्यक्ति मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, साङ्लाका ४१ वर्षीय शिवहरि कार्की र काठमाडौं–१६, बालाजु बस्ने ३५ वर्षीय दिनेश कार्की छन् ।
उनीहरुले पेप्सीकोलामा सञ्चालन गरेको रामभोले भेइकल सप्लायर्सको आडमा होन्डाई आइ ट्वान्टी, स्कर्पियो र सेन्ट्रो गाडी भाडा लिएर सवारी धनीलाई भाडा समेत नतिरी दुई वटा गाडी वेवारिसे छाडेर भागेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनीहरुले प्रत्येक गाडीको मासिक १ लाख ५ हजार रुपैयाँ भाडा तिर्ने सहमति थियो ।
तर, भाडा समेत नतिरि दुई वटा गाडी वेवारिसे र एउटा गाडीलाई बेपत्ता बनाएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले ३७ लाख ३५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । अनुसन्धानको क्रममा दुई जना व्यक्तिले अन्य व्यक्तिहरु समेत सवारी साधन भाडामा लिएर गाडी र भाडा दुवै नदिइ करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले चितवनको वीरेन्द्रनगरकी एक महिलासँग १२ लाख रुपैयाँ र काठमाडौंको टोखा बस्ने महिलासँग ३५ लाख रुपैयाँ लिइ पैसा नभएको खाताको चेक दिएका थिए ।
त्यस्तै, बैशाखमा सिन्धुपाल्चोकस्थित चौताराका एक व्यक्तिबाट बा १३ च ४५२३ नम्बरको स्कर्पियो गाडी मासिक १ लाख रुपैयाँ दिने गरी लिएर अर्का एक व्यक्तिलाई सो गाडी २९ लाख रुपैयाँमा स्कोर्पियो विक्री गरेको खुलेको छ ।
उनीहरु धादिङ र धनकुटाका दुई व्यक्तिसँग समेत कार र स्कोर्पियो भाडामा लिइ बेपत्ता भएका थिए ।
उनीहरुमाथि मुलुकी ऐन ठगी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4