२७ पुस, काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।
विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।
नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो ।
सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।
गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो ।
नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।
विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।
प्रतिक्रिया 4