+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

डोल्पामा सिटामोल नपाएरै फर्किन्छन् बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १३:०७

४ फागुन, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।

त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो । ‘अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ’, त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भने ।

स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाको जिम्मामा भएको रोकायाले बताए । ‘बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान दिएको छैन,’ उनले भने-‘घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कनु परेको छ ।’

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताए । पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको भएपनि जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए ।  औषधि खरिदका लागि पहल गरिरहेको उनको भनाइ छ ।

पाँच दिनसम्म ज्वरोले थलिएर उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएकी ६० वर्षीया नौसरा बुढाले भनिन्, ‘अस्पताल गएपनि खाली फर्काउँछन्, सिटामोल पनि छैन ।’

जिल्ला अस्पताल दुनैका प्रमुख डा. श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताए । ‘नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?