
१४, फागुन, चितवन । नवलपुरको गैंडाकोटमा पहिलो पटक २१ गते अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुने भएको छ ।
मेलामा नेपालसहित ११ देशका २ सयभन्दा बढी कलाकार तथा नेपालका लोक राष्ट्रिय कलाकारहरुको सहभागिता रहने मेला संयोजक दुर्गा रायमाझीले जानकारी दिए ।
नेपालमा यसप्रकारको उत्सवको नवौं संस्कृरणका सन्र्दभमा गैंडाकोटमा कार्यक्रम गर्न लागिएको हो ।
एभरेष्ट नेपाल कल्चर ग्रूप र कल्चर मिडिया सहयात्रा नेपालको आयोजनामा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक उत्सवमा विभिन्न देशका लोक सांस्कृतिक झलकहरु प्रस्तुत गरिने छ ।
एभरेष्ट नेपाल कल्चर ग्रूप र कल्चर मिडियाले आज गैंडाकोटमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी दिएको हो ।
गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव हुन आफैंमा सुखद र गौरवको विषय भएको बताए ।
उत्सवलाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने बचन उनले दिए । नारायणी नदी किनारमा हुने उत्सवमा प्रवेशको व्यवस्था निःशुल्क गरिएको संयोजक रायमाझीले जानकारी दिए ।
उत्सव अघि गैंडाकोटका विभिन्न स्थानबाट विभिन्न देशका झाँकीसहितको र्याली गरिने छ ।
कार्यक्रमा २० हजारभन्दा बढीको सहभागिता अनुमान गरिएको संयोजक रायमाझीले जानकारी दिए ।
उत्सवको उद्घाटन काठमाण्डौंको राष्ट्रिय नाचघरमा हुनेछ । धादिङ, चितवन, कास्की लगायतका स्थानमा गरी सप्ताहव्यापी कार्यक्रम हुनेछ ।
कार्यक्रममा सहभागी हुन बंगलादेश, कोष्टारीका, स्टोनिया, ग्रीस, भारत, इन्डोनेशिया, इजरायल, इटाली, मलेसिया, टर्की लगायतका देशका लोक राष्ट्रिय कलाकारहरुको सहभागिता हुनेछ ।
एभरेष्ट नेपाल कल्चर ग्रूपले सन् २००२ देखि नेपालमा हरेक २/२ वर्ष अन्तर्राष्ट्रिय लोक सांस्कृतिक उत्सव गर्दै आएको छ ।
अहिलेसम्म ६५ भन्दा बढी देशका तीन हजार पाँच सय भन्दा बढी विदेशी लोक कलाकारहरुले आ-आफ्नो देशका मौलिक सांस्कृतिक प्रस्तुति देशका विभिन्न भागमा प्रर्दशन गरिसकेका छन् ।
नेपालले पनि ६५ भन्दा बढी देशमा गएर नेपालका मौलिक लोक संस्कृतिहरुको प्रस्तुति गरिसकेको कार्यक्रम संयोजक दुर्गा रायमाझीले जानकारी दिए ।
यस्ता अन्तर्राष्ट्रिय मेलाले सांस्कृतिक कार्यक्रमको आदानप्रदान र देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम भएको संयोजक रायमाझीले बताए ।
सरकारका तर्फबाट समेत यस्ता कार्यक्रमहरुको प्रोत्साहनमा सहयोग हुनुपर्नेमा अहिलेसम्म नभएको गुनासो लोक स्रष्टासमेत रहेका कलाकार रायमाझीको छ ।
प्रतिक्रिया 4