+
+

आचार्य श्रीनिवास खतरा मुक्त, घटनास्थलमा भेटियो मंगोल आर्मीको पर्चा

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ चैत २५ गते १०:२८
घाइते आचार्य श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

२५ चैत, विराटनगर । गोली लागेर घाइते आचार्य श्रीनिवास खतरामुक्त रहेको उनी उपचाररत अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।

घटनास्थलमा मंगोल आर्मीको पर्चा भेटियो

हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार कसले गर्‍यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ । त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

‘घटनास्थलमा चेतावनीपूर्ण पर्चा मंगोलिन आर्मीले छाडेको भेटिएको छ,’ मोरङका प्रहरी नायव उपरिक्षक विष्णुहरी कोइरालाले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानको अवस्थामा उनीहरुकै संलग्नता भएको देखिन्छ ।’

पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख छ । तर गोली प्रहार गरेको भनेर स्पष्ट रुपमा पर्चामा उल्लेख छैन ।

आक्रमणको निन्दा

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य श्रीनिवास शनिवार साँझ विराटनगर आएका थिए । विराटनगर जतुवाकी शिष्य अनिता ढकाल यादवसहितको टोलीले आयोजना गरेको श्रीमद भागवत सप्ताहको लागि आचार्य विराटनगर आएका हुन् ।

आइतबारदेखि सुरु हुने श्रीमद भागवतमा आचार्यलाई मुख्य पुराण बाचकको रुपमा निम्ता गरिएको थियो । श्रीमद भागवत सप्ताह आयोजक समितिले उनलाई जतुवामै बासको व्यवस्था मिलाएको थियो ।

आचार्यलाई हत्या गर्ने उद्देश्यले गोली हानिएको भन्दै विरोध भएको छ । प्रदेश नं. १ का सांसद जयराम यादवले श्रीनिवासमाथिको आक्रमण सम्पूर्ण हिन्दु धर्ममाथिको आक्रमण भएको टिप्पणी गरेका छन् ।

उनी पुराण आयोजना गरिएको वडाका निवासीसमेत हुन् । स्थानीय भएकाले पुराण आयोजनामा यादवको  पनि प्रत्यक्ष संलग्नता छ ।

उनले आक्रमणमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिएर कडा कार्वाहीको मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?