१ वैशाख, वीरगञ्ज । पर्सामा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रामभौरी भाथा मेला भर्न गएका तिर्थयात्रीहरुलाई जंगली हात्तीले आक्रमण गरेका हो । जंगली हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका वडा नं-४ शान्तिनगर बस्ने ३५ बषिर्य सागबहादुर दोङ र बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीका अन्दाजी ३० बषिर्य कमलेश सहनीको मृत्यु भएको हो ।
सहनी साधुबाबा हुन् ।
हात्ती आएपछि भाग्ने क्रममा लडेर शान्तिनगरकै वीर बहादुर दोङ घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १ सोनवर्षादेखि उत्तर पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको भाथा धाममा बैशाख त्रयोदशीको दिन वर्षेनी मेला लाग्ने गर्छ ।
निकुञ्जको कोर एरियामा मेला लाग्दा वर्षेनी जंगली जनावारको आक्रमणबाट मानिसहरुको ज्यान जाने गरेको छ । तर, पनि मेला लगाउने गरिएको छ ।
मेला गएर र्फकने क्रममा ७/८ जनाको समूहमा रहेका तिर्थालुहरुको समूहमा शुक्रबार राति हात्तीले आक्रमण गरेको थियो । ‘जंगलको कोर क्षेत्रमा मेला लाग्ने गरेको रहेछ, त्यसले गर्दा मानिसहरुलाई जंगली जनावरले दिनहुँ आक्रमण गरिरहेको छ’ पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
निकुञ्जभित्र पर्ने दुधेश्वर महादेवको मन्दिरमा मेला लगाउँदा जंगली जनावरको त्रास बढेको मेला समितिका अध्यक्ष विगा महतो थारुले बताए ।
मौन ब्रत बस्ने साधु बाबा रहेनन्
साधुबाबाको पनि जंगली हात्तीकै आक्रमणबाट मृत्यु भएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीका कमलेश सहनीको मृत्यु भएको हो ।
बाबा चारबर्षदेखि निकुञ्ज भित्रको घोडामसान भन्ने ठाउँमा मौन तपस्या गर्दै आएका थिए । १२ बर्षसम्म मौन तपस्या गर्ने बताउने उनलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरी मारेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश बस्नेतले जानकारी दिए । जंगल भित्र एकान्त स्थलमा सहनी ४ वर्षदेखि एक्लै बस्दै आएको उनका अभिभावकहरु बताउँछन् ।
तपस्या स्थल दुधेश्वर महादेवको मन्दिरदेखि उत्तरतर्फ भित्र जंगलमा छ । उनलाई मेला भर्न भाथाधाम आउँदै गर्दा निकुञ्ज भित्रको रामभौरी खोलामा जंगली हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया 4