३१ जेठ, काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका हुन् ।
उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बस्नेतकाअनुसार काभ्रेको पनौतीमा ५० करोड खर्चेर होटल स्थापनाका लागि भारतीय लगानीको प्रस्ताव आएको छ । त्यसैगरी काठमाडौंमा पनि ५० करोड लगानी गर्ने गरी अर्को होटलका लागि वैदेशिक लगानी भित्रिन लागेको छ ।
धादिङमा त्रिशुलीमा हुने र्याफि्टङलाई आधार बनाउने गरी अर्को पनि एक भारतीय समूहले पनि होटलका लागि लगानी भित्र्याउँदैछ । यसले पपनि ३५ करोडभन्दा बढीको लगानी प्रस्ताव गरेको बस्नेतले जानकारी दिए ।
‘अब होटलमा चाहाने वैदेशिक लागानीकर्ताको लहर देखिन थालेको छ । भूकम्प र नाकाबन्दीअघि पनि यस्तै अवस्था थियो,’ बस्नतेले भने,’पर्यटनमा वैदेशिक लगानीका हिसावले अबका वर्षहरु उत्साहजनक हुने देखेको छौं ।’
उनले राजनीतिक स्थिरतासँगै नीतिगत रुपमा भएका परिवर्तनले पनि विदेशी लगानी भित्रिने क्रममा तीव्रता आएको बताए । सरकारले पनि पर्यटन क्षेत्रलाई विशेष महत्व दिएकाले होटलमा वैदेशिक लगानी बढ्दै गएको ठम्याइ विभागको छ ।
१० महिनामै चार गुणा प्रस्ताव
चालु आर्थिक वर्षको पहिलो १० महिनामै गतवर्षभन्दा झण्डै चार गुणा विदेशी लगानीको प्रतिवद्धता आएको छ । वैशाखसम्म मात्रै झण्डै ५० अर्बको लगानी प्रस्ताव आएको छ । जेठमा झनै थपिएको छ ।
यो वर्ष गत वर्षको भन्दा ३०० प्रतिशत बढी लगानीका लागि प्रस्ताव आएको विभागले जनाएको छ । गतवर्ष १३ अर्ब मात्रै वैदेशिक लगानी भित्रिएको थियो । लोडसेडिङको हट्नुलाई पनि विदेशी लगानी आउनुको प्रमुख कारणमध्ये एक मानिएको छ ।
१० महिनासम्म ऊर्जा क्षेत्रमा सर्वाधिक ३६ अर्ब २५ करोड बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उत्पादनमुलक क्षेत्रमा ६ अर्ब, खानी र पर्यटनमा झण्डै २/२ अर्बको लगानी गर्ने प्रतिवद्धता आएका छन् ।
वैशाखसम्म २६०भन्दा बढी उद्योगका लागि लगाानी प्रतिवद्धता आएका थिए । प्रतिवद्धताअनुसार लगानी भित्रिएमा १० हजार बढीले रोजगारी पाउनेछन् । यि परियोजनामा नेपालीसहित ५५ अर्बभन्दा बढीको लगानी हुनेछन् ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १५ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड रहेको थियो । यसरी विदेशी लगानी भित्रिने क्रम पनि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।